हाम्रो जोड गठबन्धनमै जाने हो, तर सहमति नभए एक्लै चुनाव लड्छौं : देवेन्द्र पौडेल (भिडिओसहित)

इनेप्लिज २०७९ वैशाख ४ गते १:०९ मा प्रकाशित

काठमाडौं, ३ बैशाख । नेकपा (माओवादी केन्द्र) का नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले आफूहरु निर्वाचनमा गठबन्धन गर्ने कुरामा सापेक्षित रुपमा सफल भएको बताएका छन् । उनले अहिलेको गठबन्धनले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने विश्वास दिलाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा नै रहेको सुनाए । उनले म नै पूर्ण छु भनेर कसैले घमण्ड गर्न नहुने बताए ।

उनले पार्टीहरु मिलेर नै अघि बढ्नुपर्नेमा जोड दिए । उनले अहिले कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै यसलाई कांग्रेसले ठीक ढंगले अघि बढाउनुपर्ने बताए । उनले अहिलेको गठबन्धन भत्किन्छ भन्नेमा आफूले कल्पना नै नगरेको जिकिर गरे ।

अरु दलले गठबन्धन गर्न नमाने आफ्नो माओवादी एक्लै चुनाव लड्न पनि तयार रहेको उनको भनाई छ । ०७४ को चुनावको तुलनामा यो पटकको चुनावमा माओवादी झनै बलियो रहेको उनको दाबी छ ।

प्रतिक्रिया