चैत २०,काठमाडौं।प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई तीव्र बनाएको छ।काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो।काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाई अभिमुखीकरण सुरू गरेको छ।
यो अभियान अन्तर्गत आइतबार विज्ञ पत्रकारद्वय एकराज पाठक र अनिता विन्दुले अभिमुखीकरण कक्षा लिनुभएको हो।नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले महासङ्घ र प्रेस काउन्सिलले संयुक्तरूपमा जारी गरेको आचारसंहिता पत्रकारको मुलमन्त्र भएको बताउनुभयो।उहाँले पत्रकारको निश्चित उद्घेश्य र चरित्र हुुने भएकाले समाजमा पत्रकारिताको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्दै असल चरित्र निमार्णको लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कायर्क्रम’ काउन्सिलले सुरू गरेको उल्लेख गर्नुभयो । पत्रकारको साझा र विशिष्ट किसिमका चरित्रबाटै सत्यतथ्य र सन्तुलित समाचारको सम्प्रेषण गर्न सकिने अन्यथा समाजमा नकारात्मक सञ्चार हुने उहाँको भनाइ थियो।पत्रकारितामा सानो गल्तीले ठूलो दुर्घटना निम्ताउने भएकाले सावधानी अपनाउनुपर्ने भन्दै काउन्सिलको यो अभियान स्वागतयोग्य भएको अध्यक्ष पोखरेलको भनाइ थियो।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले जिल्ला जिल्लामा गएर आचारसंहिता जागरण अभियान गर्दै गरेकोमा नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास व्यक्त गर्नुभयो।पत्रकारितालाई मर्यादित गराउन अनुगमन र कारबाहीमात्र भन्दा पनि आचारसंहिता शिक्षासमेत व्यापक बनाउन आवश्यक रहेको आवश्यकता महशुस गर्दै काउन्सिलले यस कार्यक्रमको थालनी गरेको बताउनुभयो।पछिल्लो समय अनलाइनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको भन्दै अध्यक्ष बस्नेतले प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको भन्दै उहाँले अभिमुखीकरणलाई निरन्तरता दिने बताउनुभयो।
विज्ञका रुपमा राससका प्रधानसम्पादक एकराज पाठकले पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने बताउनुभएको छ।प्रेस काउन्सिल नेपालले आइतबार सभाहलमा गरेको ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा उहाँले पत्रकारिता हतारको साहित्य भएको भन्दै सजगता अपनाउनुपर्ने बताउनुभयो।आचारसंहिता सुनेको विषय भएपनि धेरैलाई यसबारे जानकारी नहुँदा सबैले आचारसंहिताबारे जान्नै पर्ने भएकाले यस्ता कार्यक्रम राखिएको उहाँले बताउनुभयो।
नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष अनिता विन्दुले काउन्सिलले जारी गरेको विभिन्न निर्देशिकाबारे जानकारी दिदै आचारसंहिताले समेट्न नसकेका कुरा निर्देशिकामा आएको बताउनुभयो।उहाँले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६,अपाङ्गतामैत्री सञ्चार निर्देशिका –२०७३,बालमैत्री सञ्चार निर्देशिका–२०७३ मा उल्लेख प्रावधानहरुबारे जानकारी दिनुभयो।निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन÷प्रसारण गर्दा ध्यान दिनुपर्ने,विषय, शब्दावली,उखान टुक्का बारे जानकारी दिइएको भन्दै निर्देशिकाको अध्ययन गरी पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्नुभयो।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजिकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत भौतिकरूपमा र जुममार्फत अनलाइन सञ्चालक÷सम्पादक÷रिपोर्टर सहभागी थिए।कार्यक्रममा नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक,प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो।अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ।
प्रतिक्रिया