अनाथ बालबालिकासँग संगीतकार राजेन्द्र बजगाईंले मनाए जन्म दिन

इनेप्लिज २०७८ चैत १६ गते ९:३९ मा प्रकाशित

पछिल्लो समय कलाकारहरु सामाजिक सेवामा पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा अहिलेका पुस्ताका लोकप्रिय संगीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्म दिन अनाथ बालबालिकासँग मनाएका छन् ।उनले स्नेह बाल आश्रममा पुगेर संगीतकार बजगाईले आफ्नो जन्म दिन मनाएका छन् । काठमाडौंको मुलपानी फुयाँलगाउँमा हास्य कलाकार सुलेमान शँँकर (इकु)ले विगत आधा दशकदेखि यो आश्रम सञ्चालन गर्दैै आएका छन्।

संगीतकार बजगाईंले त्यहाँ रहेको १६ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफुल, मास्कलगायतका सामग्री प्रदान गरेका छन् । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरुलाई खाना खुलाउँदै उनले जन्म दिन मनाएका हुन् ।

सो क्रममा संगीतकार राजेन्द्रले भने,‘बिगतमा जन्म दिन त धेरै पटक मनाईयो । तर आज आएर यी भाई बहिनीमाझ आफ्नो जन्म दिन मनाउन पाउँदा फरक अनुभव भएको छ र अबका दिनमा पनि यिनै भाई बहिनीहरुलाई सेवा गर्दै जन्म दिन मनाउने छु।’ आउँदा दिनमा ती बालबालिकालाई संगीत तथा गायन कला सिकाउने चाहना पनि उनले सो क्रममा व्यक्त गरेका छन्।

स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरुका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गरे । यसरी कलाकार तथा सँगीतकर्मी र शुभचिन्तकको सहयोगले आफुले १६ जना बालबालिकालाई पाल्न सफल हुँदै आएको पनि उनले बताए।

संगीतकार राजेन्द्रको जन्म दिन मनाउन आश्रम पुगेका अर्का गायक तथा संगीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरुको स्कुल शुल्कको लागि भनेर ५ हजार रुपैयाँ सहयोग प्रदान गरे।

प्रतिक्रिया