सस्तो परिबर्तनकारी मासु पसलको एक रोमाञ्चकारी साहित्यिक चिरफार! क्रान्तिकारी माओबादी आन्दोलनको पूँजीबाद देखि मूँजीबादसम्मको शीघ्रस्खलन्!

रुद्र ढकाल २०७८ चैत ९ गते ९:४३ मा प्रकाशित

सस्तो परिबर्तनकारी मासु पसलको एक रोमाञ्चकारी साहित्यिक चिरफार! क्रान्तिकारी माओबादी आन्दोलनको पूँजीबाद देखि मूँजीबादसम्मको शीघ्रस्खलन्! भर्खरै “आरान् प्रोडक्शन” को ब्यानरमा देखाईएको एक छोटो साँगीतिक भिडियोमा प्रकाश सपूतको अर्को कृतिको पुनर्जन्म भएको छ।

त्यस भिडियोमा सपूत् एक पूर्ब लडाकू हुन्छन्। लडाईंको मोर्चामा जनबादी बिहे गर्दागर्दै आर्मीको बम पड्कन्छ उनि सहित सारा छापामारको टिम आक्रमणमा पर्छन्। सपूत र सपुतिनी घाईते हुन्छन्। बिहे तितरबितर हुन्छ। तत्कालीन राज्यको सेना-प्रहरीद्वारा सपुतिनिको निर्मम तरिकाले स्तन काटिएको हुन्छ, उनि युद्दको भय सम्बन्धी असरले अझैसम्म आक्रान्त हुन्छिन्। अस्वाभाविक रुपले चारैतिर पल्याकपुलुक हेर्ने उनको बानी (अर्थात् उनलाई एञ्जाईटी डिसअर्डर या पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर PTSD को लक्षण) लाई दृश्यमा मार्मिक तरिकाले समिटिएको छ। सपूतको भने खुट्टो मात्रै लंगडो हुन्छ तर मन भने हुँदैन। अर्थात् जमानाका क्रान्तिकारी कमरेडको ‘डाँठ’ या “छा-लौरो” भने अझै तगडो नै हुन्छ।

युद्दबिराम पछि पूर्ब लडाकूले मासु पसल थाप्छन् सायद खसीको टाउको देखाएर अरुलाई झुक्याउँदै कुकुरको मासु बेच्ने बुर्जुवाहरुको अखडा संसदलाई व्यंग्यात्मक पाराले “परिबर्तन मासु पसल” को ब्यानरमा देखाईएको होला, तर त्यो मासु पसल उति सारो चल्दैन। टयाक्सी किनेर चलाउने बिचार गर्छन्। अर्की महिला छापामार सपूतकी सपुतिनी हुन्छिन्। उनले सपूतलाई “ट्याउसी चलाएर शहरका स्याउसी ओसार्ने हैन” अर्थात् ट्याक्सीमा शहरतिर सर्सराउने ‘स्याउसी’ माने सेक्सुअल (बेश्या) हरु ओसार्ने हैन है, भन्दै खबरदारी गर्छिन्। बरु आफैं श्रम बेच्नलाई विदेश जान कम्म्मर कस्छिन्। बैदेशिक रोजगारीमा जानकोलागि यत्रतत्र पल्याक पुलुक हेर्दै पासपोर्ट बनाउने लाईनमा बस्छिन्। श्रम स्वीकृतिकोलागि घूस खुवाउँछिन्। अनि आफ्नो सस्तो श्रम बेच्नलाई बिदेसिन्छिन्। यहाँ पनि युद्दको असर अर्थात् उनमा भएको युद्दको पिर/पिडा अर्थात् PTSD को सिम्पटमलाई झल्काईएको छ।

यता सपूत बिरक्त हुन्छन्। सपुतिनी बिदेशिएको तीन महिना नहुँदै सपुतलाई अर्को ‘पिर’ पर्न थाल्छ। सङ्गतले सपूतलाई पिर भुलाउने निहुँमा भट्टीमा लान्छ। सस्तो गिलासको ठर्रा रक्सी पिउँछन्। रक्सीले उनलाई झनै पिर बल्झाउँछ। थोरै झम्म परेका सपुतलाई अर्का पार्टनरको मुखबाट ‘पिर’ भुलाउने अर्को उपाय या कु-बुद्दी सिकाईन्छ। अर्थात् खुसुक्क सपूतको कानमा पैसाले आईमाई पाउने सजिलो उपाय (कु-बाटो) बताईन्छ। अनि उनलाई पनि ‘पिर’ भुलाउने बहानामा आईमाईको सपेटो खोज्नतिर मन जान्छ (कुबुद्दी पलाउँछ)। साथीको लहै लहैमा अब हाम्रा “सपूत”, अलिकति पैसाकै आडमा “सपुती” खोज्दै बजारको भिडमा पुग्छन्। ‘स’ माने सस्तो! अनि गल्ली गल्ली छिचोल्दै गन्हाउने कोठीमा पुग्छन् हाम्रा सपूत। त्यहाँ एउटा कुनाको कोठीमा पूँजीबादी शैलीमा पैसा र अंगको कारोबारलाई रचनात्मक पाराले झल्काईन्छ। तर दुवै पूर्ब लडाकू नै भएको फ्लासब्याक “झझल्को” देखाईएको हुन्छ।

यसरी पैसाकैलागि एउटी छापामार पूँजीपतिहरुलाई सस्तो श्रम बेच्नकोलागि बिदेस जान बाध्य हुन्छिन् भने अर्की छापामारलाई पैसाकैलागि आफ्नै देश भित्र आफ्नै जिऊ मास्ने-बेच्ने धन्दा गर्नु परिरहेको देखाइन्छ। तिनै जना पूर्ब लडाकूलाई एउटै पटकथा भिडियोमा उभ्याईएको हुन्छ! अर्कोतिर एउटै बम पड्केको घटनामा परेर बाँचेका माओबादी राजनीतिक कमिशार भने पावरफूल ठाउँमा पुग्दै मन्त्री पदसम्म पड्काई सकेका हुन्छन्। उनले एउटै पल्टनकी बिदेशिएकी पूर्ब छापामारलाई बिर्सन्छन्। उता पद र भ्रष्टाचारमा तल्लीन ती मन्त्रीलाई अर्की पूर्ब लडाकू कमरेडलाई बिदेशमा आपत पर्दाखेरी तिनलाई उद्दार गर्ने फूर्सद समेत हुँदैन। सपुतिनिलाई उद्दार गर्नकोलागि लेखिएको सपूतको बिन्तीपत्र पढ्ने सम्म फूर्सद हुँदैन त्यतिकै भूईंमा फाली दिन्छन्।

कथाको प्लटले अर्को कोल्टे फेर्छ। निर्दोष बच्चीको मुखबाट मनै कुँडिने गरी – बाबा देश भनेको के हो? भन्ने प्रश्नको उत्तर मार्फत सपूतले देशको माटो पोको पार्दै आफूपनि विदेश जान बाध्य भएको सन्दर्भमा नेपालका कथित क्रान्तिकारी नेताहरुको रित्तो र आडम्बरी खोक्रो राष्ट्रवादको अर्को ‘पिर’ निकै मार्मिक तरिकाले ओकलेका छन्। यति मात्रै नभई सपूतले निकै गहन र मार्मिक तरिकाले नेपालका कथित माओबादी नेताहरुले कम्युनिष्टको नाउँमा निर्दोष जनताका छोराछोरीहरुलाई लडाकूको रुपमा प्रयोग गर्दै अहिले आएर सारा मार्क्सबाद, लेनिनबाद र माओबाद जम्मैलाई तुहाएर एउटै पूँजीबादको खाल्टोमा पुरेको मात्रै नभई “मूँजीबाद” मा नै लगेर शीघ्र-स्खलन सम्म गराएको भन्ने कुरा छर्लङ्ग रुपले देखाई नै दिएको पाईयो। चुनाब र शक्तिकोलागि पैसाको प्रयोग अनि संसदको किनबेच देखि एमसीसी सम्मको पूँजीबादी आत्मसमर्पणले अब नेपालको माओबाद पूँजीबाद हुँदै मूँजीबादसम्म नै ल्वाम्म डुबेर शीघ्रस्खलन भएको सबैले देखेकै हो।

यसरी सपूतको अमर कृति “पिर” ले छोटो भिडियोमै सारा यथार्थ कुराहरुलाई कहेको छ। यसमा उनको भिडियोलाई पुन सम्पादन गरिरहनु कुनै जरुरी नै छैन।

यही हैन त पिरको ‘गिर्खो’ अर्थात् पिरलो? यही होइन त क्रान्तिकारी मासु पसल? जतापनि मासुकै थिलथिलो! नेपालमा भएकै यही हैन र? यसलाई सपूतले छोटो भिडियोमा भरिलोगरी खाँदेर अति सरल र सबैले बुझ्ने सांगीतिक लय, कला र साहित्यको भाषामा सजिलै प्रकाश पार्न सफल भएकाछन्। प्रकाश सपूतलाई सलूट!

~ उही रुद्र ढकाल हलोवाला, हाल लिभरपुल बेलायत

प्रतिक्रिया