ईनेप्लिज विशेष प्रतिनिधि-नेपाली वाङ्मयका विशिष्ट धरोहर शङ्कर लामिछानेको ९५ औं जन्मजयन्ती शङ्कर लामिछाने प्रतिष्ठानले १९ फरवरीका दिन काठमाडौंमा एक समारोह आयोजना गरी भव्य रूपमा मनाएको छ ।
सो कार्यक्रममा वरिष्ठ नृत्यकार एवम् लामिछानेका समकालीन नब्बे वर्षिय श्री भैरवबहादुर थापालाई सम्मान समेत गरेको थियो । कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथिका रूपमा बोल्दै कुलपति उप्रेतीले -“प्रसिद्ध निबन्धकार शंकर लामिछाने नेपाली निबन्धका एक विशिष्ट प्रतिभा भएको र उहाँ नेपाली निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिको विशिष्टतम् निबन्ध शिल्पी मात्रै नभएर आत्मपरक निबन्धलेखनका कालजयी स्रष्टाका रूपमा समेत परिचित भएको उल्लेख गर्नुभयो ।”
समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको योगदानका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो भने कोषाध्यक्ष पद्मावती सिंहले प्रतिष्ठानमार्फत शङ्कर लामिछानेको बारेमा गतिविधिहरू बढेको बताउनु भयो।
दुई सत्रमा आयोजना भएको कार्यक्रमको पहिलो सत्रमा सम्मानित व्यक्ति वरिष्ठ सर्जक नृत्यकार भैरवबहादुर थापा, नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ तथा वरिष्ठ आख्यानकार माया ठकुरी, नियात्राकार घनश्याम राजकर्णिकार, वरिष्ठ इतिहासविद् तथा राजनीतिक बिश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.,वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ,थाहा पुस्तकालयकी अध्यक्ष तथा गीतकार अस्मिता सुमार्गी, युवा कवि तथा निबन्धकार श्रीबाबु कार्की उदाससमेतले लामिछानेको निबन्धकारितामाथि आफ्नो धारणा राख्नु भएको थियो।
पिता हरिप्रसाद र माता राजकुमारी लामिछानेको कोखबाट १९८४ चैत ५ गतेका दिन काठमाडौंको जैसीदेवलमा शङ्कर लामिछानेको जन्म भएको थियो।उनकै जन्मसन्दर्भ पारेर आज चैत ५ गतेको यो कार्यक्रमको आयोजना गरिएको हो।
लामिछानेको निबन्धसंग्रह ‘एब्स्ट्रयाक्ट चिन्तन:प्याज’ले वि.सं.२०२४ सालको मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । उहाँका फुटकर रूपमा थुप्रै कविता छापिएका थिए भने कथासङ्ग्रहका रूपमा ‘गौंथलीको गुँड’ (वि.सं. २०२५) प्रकाशित भएको थियो। साथै उहाँको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह ‘बिम्ब प्रतिबिम्ब’ (वि.सं. २०२८) प्रकाशित भएको थियो। ‘गोधूलि संसार’ (वि.सं. २०२७) र ‘शङ्कर लामिछाने’ (वि.सं. २०३२) नामक उहाँका थप निबन्धका कृतिहरु प्रकाशित भएका थिए।
यसै सन्दर्भमा दोश्रो सत्रमा ‘शङ्कर लामिछाने र नेपाली निबन्ध’ परिसंवाद कार्यक्रम आयोजना गरिएको थियो । उक्त परिसंवादमा वरिष्ठ कवि तथा निबन्धकार श्री गोविन्द गिरी प्रेरणाले सहजीकरण गर्नुभएको थियो । सहजिकरणको सिलसिलामा प्रेरणाले शङ्कर लामिछानेका व्यक्तित्वका बिबिध पाटाहरु केलाउँदै सहभागीहरुलाई प्रश्न गर्नु भएको थियो।परिसम्बादमा चर्चित निबन्धकार युवराज नयाँघरे,कवि तथा समालोचक श्री प्रमोद प्रधान, कवि तथा निबन्धकार दामोदर पुडासैनी, समालोचक ज्ञानू अधिकारीले लामिछानेको निबन्धकारितामाथि प्रेरणाको प्रश्नको आधारमा आफ्नो धारणा राख्नु भएको थियो।
थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा आयोजना भएको उक्त कार्यक्रमको सभापतित्व शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ कवि राधेश्याम लेकालीले गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, प्राज्ञ माया ठकुरी, भागीरथी श्रेष्ठ, प्राडा सुरेन्द्र के.सी., नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विमल भौकाजी, मुरारि सिग्देल, सुमन थापा सङ्गम, उपमा आचार्य, शङ्कर भारती, दिव्य गिरी, श्रीबाबु कार्की उदास, सविता ढुङ्गाना,संगीता शर्मालगायतको उपस्थिति थियो।यस्तै किशोर विश्वकर्मा, ज्योति दवाडी, शिव अधिकारी,कल्पना खरेल, संगीता शर्मा र सुशीला श्रेष्ठलगायतको पनि उपस्थिति थियो।
प्रतिक्रिया