फिल्म थर्ड आई हेरेका मध्य १०६ जनाले गरे आँखा दान

इनेप्लिज २०७८ फागुन २० गते १२:१७ मा प्रकाशित

चितवन,२० फागुन-सामाजिक सन्देशमुलक नयाँ चलचित्र ‘थर्ड आई’ तयार भएको छ।यो चलचित्रको ल्होसारको अबसर पारेर बिहिबार चितवनमा प्रिमियर गरिएको छ।चलचित्र हेरेपछि फिल्मको सन्देशबाट प्रभावित भएर १०६ जनाले आँखा दानको घोषणा गरेका छन्।मृत्युपछि आफ्नो आँखा दृष्टी बिहिन ब्यक्तिलाई दिनको लागि उनीहरुले अहिले नै आँखा दानको घोषणा गरेका हुन्।

‘हामीले निर्माण गरेको चलचित्र थर्ड आईको मुख्य सन्देश भनेकै आखा दान गरेर मृत्युपछि दुष्टी बिहिनलाई दृष्टी दिनु हो।यो चलचित्र हेरेर आज १०६ जनाले नेत्रदान गर्नुलाई हाम्रो टिमले प्रेरणाको रुपमा लिएको छ।’चलचित्रका निर्माता एवम् लायन्स बिनोद मिश्रले कार्यक्रममा बताए।

लायन्स क्लब अफ भरतपुर सप्तरँगी थर्ड आई र चलचित्र थर्ड आईका कलाकार प्राविधिक एवम् निर्माण पक्षगरी १०६ जनाले मृत्युपछिका लागि आँखा दान गरेका हुन्।प्रिमियर शोमा यो चलचित्रसँग जोडिएका विभिन्न व्यक्तीहरुलाई निर्माण टिमबाट सम्मानित गरिएको थियो।

चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन्।यस फिल्ममा सरोज दाहाल,कमला अधिकारी,केडी प्रशित,रेनुका प्रधान, राजु अधिकारी, बिनोद मिश्र,सुजर पोखरेल,बिमला अधिकारी,राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ।

यो चलचित्रका कार्यकारी निर्माता तथा सह अभिनेता केडी प्रसितले जीवन पछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण गरिएको सो कार्यक्रममा बताए।यो चलचित्रलाई अब लायन्स लगायत विभिन्न संस्थाबाट विशेष प्रदर्शनी गरिने र सो बाट उठेको मुनाफाको रकम नेत्र बिहिनहरुलाई आँखा दानको लागि सहयोग गरिने पनि प्रसितले बताए।उनका अनुसार आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पुर्याउन यो थर्ड आई निर्माण गरिएको हो।

चलचित्र थर्ड आईको प्रिमियर शोमा सम्बन्धित कलाकार तथा सिनेकर्मीलाई कदरपत्र प्रदान गर्दै लाइन्स क्लब अफ इन्टरनेशलन ३२५ आरका डिजी सिद्धार्थ लाल सुकेले चलचित्रले दिएको सन्देश निकै सान्दर्भिक भएको बताए।यो फिल्म देखाएपछि लायन्सले धेरै भन्दा धेरैलाई आँखा दान गर्न प्रेरित तुल्याउने विश्वास पनि उनले ब्यक्त गरे।

करिब एक घन्टाको यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन्।जसमा रफी शाहको आलेख,बिमल लामाको संगीत,सम्राट थापाको पाश्र्व संगीत,मन्दिल श्रेष्ठको सम्पादन,सुजन बिसीको छायाँकन रहेछ।अब थर्ड आईलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सबमा पनि प्रदर्शन गरिने छ।

प्रतिक्रिया