प्रजातन्त्र दिवसको सन्दर्भमा ” लुट्न सके लुट कान्छा ::लुटन सके लुट “

अनिता कोइराला २०७८ फागुन ३ गते ११:०३ मा प्रकाशित

प्रजातन्त्र दिवसको सन्दर्भमा ” लुट्न सके लुट कान्छा ::लुटन सके लुट ” भन्ने गीत मार्फत, पशुपति शर्माले कांग्रेस ,एमाले र माओवादीलाई मात्र दर्‍रो झापड हानेका होइनन्। समग्र क्षेत्रमा बढ्दै गएको अराजकता र अनियमितताको विरुद्धमा घन्किएको यथार्थ आवाज हो।वास्तवमा सुशासनको आभाष कुन-कुन सरकारको पालामा नेपाली जनताले अनुभव गर्न पाए त ? यो एउटा यक्ष प्रश्न मात्र रहेन अब हाम्रा लागि।भ्रष्टाचारले किन र कसरी आफ्नो साम्राज्य द्रुत गतिमा फैलाउन सफल भयो।यसमा कुन कुन क्षेत्र,कुन कुन नेता,कुन कुन पार्टी,कुन कुन संस्थाले साथ दिएका थिए र अझ पनि दिइरहेका छन ? कुनै एक व्यक्ति वा कुनै एक संस्था मात्र अग्रसर भएर भ्रष्टाचारको जालोलाई यति सजिलै फैलाउन सम्भब छैन।अनैतिकताको यो साम्राज्य खडा हुन कदापि एक पक्ष मात्र जिम्मेवार छैन।हरेक क्षेत्रमा बिकृती र बिसंगतिका डुङ्गडुङ्ती गनाउने घोक्रे फुलहरु फुलेका छन्।कसले मद्दत गरिरहेको छ।कसले संरक्षण गरिरहेको छ ? चिया गफ देखि,सभा सम्मेलन र भेटघाटका क्रममा हामी सबै अनियमितता र भ्रष्टाचारको बिरोध गर्छौं तर हामी आफ्नो आँङ्गको भैंसी नदेख्ने तर अरुको टाउकोको जुम्म्रा देख्न खपिस छौं।हामी भ्रष्टाचारको बिरोध कुन हद सम्म गर्छौ ? यो पनि गम्भीर प्रश्न छ ? कुन कुन समयमा कसरी भ्रष्टाचार नेपालको राष्ट्रिय खेल हुन गयो।कसरी इमानदार ब्यति भ्रष्ट भए ? कि इमानदार कोही थिएनन् ? अन्याय र अत्याचारको विरुद्धमा जेल नेल भोगेर आएका नेताहरुले पनि बाटो बिराए।नयाँ इतिहास रचेर,आफ्नो नाम स्वर्ण अक्षरमा लेख्न सक्थे।तर सकेनन् कसले रोक्यो उनिहरुलाई राजनेता बन्नबाट? किन प्रजातन्त्रको गरिमा बुझ्न सकेनन् ? के प्रजातन्त्र उनिहरुले चाहेका थिएनन् र ? निजि स्वार्थमा नउठ्ने गरि डुबे ?आफ्नै छोराछोरी ,आफन्त , कार्यकर्ता र आसेपासेको लागि प्रजातन्त्रको धज्जी उडाए । ईमान गुमाउन पुगे।आखिर दोष कसको हो ? एक चोटि गम्भीर भएर केलाउने जमर्को गरौं । केवल एक नेपाली भएर मात्र सोचौं । के का लागि प्रजातन्त्र ? लोकसेवा आयोग जस्तो गरिमामय संस्थाले छनोट गरेका राष्ट्र सेवकहरु पनि लोभ ,लालच र पैसाका खातिर भ्रष्ट आचरणमा मुछिएका छन् । यो जति लज्जास्पद कुरो के हुन सक्छ । लोकसेवाको पाठ्यक्रममा सुशासनको पाठ राखिएको छ । भ्रष्ट आचरणको वकालत गरिएको छ।असल राष्ट्र सेवकको कर्तव्य सिकाएको छ ।अनि कर्मचारीतन्त्रको आबश्यत्ता र महत्त्वको बोध गराइन्छ। राष्ट्रसेबक प्रती बिश्वास गरिन्छ । ।नागरिकको सेवामा खटाइन्छ । प्रत्येक कार्यालयमा नागरिक बडापत्र टाँगिएको हुन्छ।तर चिनजानको कोहि छ भने,उसको काम सजिलै हुन्छ।नीति,नियम र अधिकार भाँडमा जान्छ।खोइ कहाँ छ लोकतन्त्र ? नेपालीको टाउकोमा वैदेशिक ऋणको भारी दिनप्रतिदिन थपिँदै छ।के यहि दिनका लागि चाहिएको थियो प्रजातन्त्र ? हामीले प्राप्त गरेको डिग्री कागजको खोस्टो मात्र हो त ? सिकाइ जम्मै खोक्रा हुन या कुनै पदमा पुग्नका लागि रटाईएका अर्थबिहिन अध्याय मात्र? सबै कुरा जान्दाजान्दै पनि किन अनैतिकता मौलाउछ ? बिश्वबिद्धालयको शिक्षा पनि झुठो हो ? शिक्षित र दिक्षितबिचको खाडल किन यति गहिरो ? सिकाई र गराईमा किन यस्तो भिन्नता आयो ? सिकाई किन ब्यबहारिक हुन सकेन ? यी र यस्ता कयौं प्रश्नहरु एक पछि अर्को गर्दै हरेक नेपालीको मनमा थाक लागेर बसेका छन् । यसको उत्तर कसले दिने

अब्राहम लिंकनले प्रजातन्त्रको परिभाषा निकै उम्दा तरिकाले दिएका छन्।मैले पनि राजनीतिशास्त्र पढ्दा यो परिभाषालाई अंग्रेजी र नेपाली भाषामा घोकेको थिएँ।सायद हामी सबैलाई थाहा छ प्रजातन्त्र भनेको के हो।तर पुर्णरुपले अनुभब गर्न पाएनौं।२००७ साल ल्याउन हाम्रा पुर्खाले कति संघर्ष गर्नु पर्‍यो।कतिका मकैका खेतीमा आगो लाग्यो।कतिका बोलीमा गोली ठोकियो।कतिका सोचाईलाई झुन्ड्याइयो।धेरै भन्नू पर्दैन।के कारणले राणा शासन फालिएको थियो ? के आज यो शासनबाट पुर्णत :मुक्त छौ ? छातीमा हात राखेर एक चोटि आँखा चिम्म गरेर सोच्ने बेला आएको छ।लोकतान्त्रिक ब्यबस्थामा पनि न्याय नपाएर कयौं निर्मलाहरुको चीत्कार यत्रतत्र सुनिन्छ कयौ मुस्कान खातुनका मुस्कान खोसिएको छ।अपराध गर्नेहरु राजनैतिक छत्रछायामा छाती फुलाएर गणतान्त्रिक शासन ब्यस्थामाको घोडा चडेर अट्टाहस गर्दै हिडिरहेका छन्।आज पनि पद,प्रतिष्ठा अनि पहिचान विशेष हुन्छ।चाकडीले नौलो खोल भिरेको छ।जी हजुरी कायमै छ।सक्षम मान्छे ठाउँमा पुग्न नेताको पुच्छर समाउनु परेको छ। पार्टीको झण्डा बोक्नै परेको छ । देशमा नै केही गर्छु भनेर उच्च अध्यन सम्पन्न गरेर आएका कयौं बौद्धिक जनशक्ति राजनैतिक खिचातानीबाट दिक्दार भएर पुनः बिदेश पलाएन हुदैछन् । खोइ प्रजातन्त्रको अनुभुती गर्न पाएको ? प्रजातन्त्र आएर पनि हामी स्वतन्त्र हुन सकेनौ ? हाम्रो सपना थियो।राणा शासन हटेपछि देशले मुहार फेर्नेछ।नेपालीले सुख र शान्तिको आभास गर्नेछन्।हरेक नेपालीको घरमा छाना ,आँङ्गमा नाना र थालमा खाना हुनेछ। हाम्रो देश पनि बिकसित मुलुकहरुसंग समान गतिमा हालेमालो गर्दै अगाडि बढ्ने छ।हामी पनि सम्पन्न मुलुकका समृद्ध नेपाली भएर सगरमाथाझैं शिर उच्च पारेर बिश्व माझ उभिनेछौं।तर बिड्म्बना हाम्रो शासन ब्यबस्था बारम्बार फेरियो तर हाम्रो संस्कार कहिल्यै फेरिएन। संबिधानका धारा फेरिए धारणा फेरिएन । कसलाई दोष दिने ? हामिले नै चुनेका सरकार । हामीले नै लेखेको संबिधान । हामिले नै बनाएका नीति नियम । हाम्रै योजना ,हाम्रै कार्यक्रम हामी कहाँ चुक्यौं ? बिश्व सामु माग्नेको पगरी गुथेका हामी कहिले दाताको ताज भिर्ने ? के आउने पुस्तालाई पनि माग्न नै सिकाउने ? माग्ने नै भए दिल्लीका मुख्यमन्त्रीको काम गर्ने शैली मागौ न । सहिद दिवसको दिन टेकु भन्सारको त्यो खरीको रुखमा म शहिद शुक्रराजलाई मृत्युदण्ड भन्दा ठूलो पीडाबोधका साथ झुन्डिरहेको देख्छु।आफ्नो बलिदानको मुल्य खोजिरहेको पाउँछु । उनले खोजेको प्रजातन्त्र ,गणतन्त्र भैसक्दा पनि।नेपालीहरु सन्तुष्ट हुनसकेका छैनन् । बयासी बर्ष देखि खरीको रुखमा झुन्डिएर सहिद शुक्रराजले समृद्ध नेपाल हेर्न चाएझै लाग्छ।अनि लाजले मुन्टो निहुर्‍याएर हिड्छु दशरथ रंगशाला तिर। फेरि दशरथचन्द्रलाई देख्छु कयौं प्रश्न लिएर उभिएको । सहिदहरुसंग आँखा जुधाउन सक्दिन अनि नदेख्या झैं गरेर सहिद गेटतेर लाग्छु । चारै जना सहिदहरु झोक्राएको देख्छु।देशको अबस्था हेर्दा, डाँको छोडेर सहिदहरुको काँधमा टाउको राखेर रुन मन लाग्छ । प्रजातन्त्रका हिमायतीहरुसंग सोध्न मन लाग्छ ” किन चाहिएको थियो प्रजातन्त्र ?” आफ्नै सुरमा टोलाउँदै थिएँ । धर्म भक्त माथेमाले सुटुक्क मेरो कानमा भने झैं लाग्यो -” मृत्युदण्ड दिनु भन्दा अगाडि मैले अन्तिम ईच्छा व्यक्त गरेको थिए “राणा शासनको अन्त्य चाँडै होस् ” दस बर्ष नबित्दै राणा शासनको पतन भयो।आज नेपाली नागरिकहरु घिनलाग्दो राजनीतिबाट वाक्क दिक्क भैसकेका छन्।फेरि कुनै दिन प्रजातन्त्र ल्याउनकै लागि संघर्ष गर्नु नपरोस् । सबैलाई चेतना भया ।” म झसङ्ग भएँ ।

राजनीतिमा सबैको आ-आफ्नो स्वार्थ हुने रहेछ।सहिदहरुको त्याग,तपस्या ,बलिदान र बिश्वासलाई टुकुचाको ढलमा सलल बगाइदिए।प्रजातन्त्रको मर्म र उदेश्यको हत्या गरे।नजान्ने त कोहि थिएनन् । अविवेकि कोहि थिएनन् । २००७ सालमा त्यति दुख गरेर ल्याएको प्रजातन्त्रलाई जोगाउन सकेनन् । के कारणले पन्चायत ल्याउनु पर्‍यो ? पन्चायतको सकारात्मक र नकारात्मक पाटो कस्तो थियो ? सार्बजनिक नै छ।हामीलाई प्रजातन्त्र गुमे पछि फेरि प्रजातन्त्र नै चाहियो । पुनः प्रजातन्त्र ल्याउन कटिबद्ध भयौं।हामीहरु एक जुट भएर २०४६ भित्र्याउन सफल पनि भयौं। कुन उदेश्यले ल्याएका थियौं प्रजातन्त्र ? फेरि पनि बिर्सन पुग्यौं ।” कच्चा बैधको मात्रा यमपुरिको यात्रा ।” जस्तै भयो प्रजातन्त्र । केही गुमाउनु नपरेकाहरुलाई प्रजातन्त्र सितैमा आएको आभाष हुनु कुनै नौलो कुरा होइन्। यहाँ त संधर्ष र बलिदानले थिलथिलिएका महान हस्तिहरुले पनि आफ्नो उद्देश्य ,लक्ष्य र कर्तव्य बिर्सिए।बहुदलीय ब्यबस्था हाम्रो हातमा आयो।एकता झन बिखन्डित भयो।हाम्रो उदेश्यहरु छर्लङ्ग हुनु पर्नेमा छरपस्ट हुदै गयो।सत्ता र शासनको चक्रमा समय त्यसै अल्मलियो । समृद्धि कुंजो भयो । शान्ति खल्बलियो।सबै एक जुट भएर देशमा सुशासन र समृद्धिको आभास गराउनु पर्नेमा, अराजकता मौलाउँदै गयो।नेपालीहरुको मुहारमा दीगो खुसियाली छाएन। एक अर्काको दुश्मन बनेर सत्ता र शक्तिको दूरुपयोग सधैं भयो।भुसको आगो जसरी भित्रभित्रै बैदेसिक हस्तक्षेप हुदैगयो।अनुदान , बैदेसिक ऋण,प्राबिधिक सहयोग , आधुनिक शिक्षाको नाममा वैदेशिक हस्तक्षेप बढ्दै गयो।वैदेशिक शक्ति छिर्ने छिद्रहरु बिस्तारै खोलिदै गए ।जातजाती,धर्म र संस्कृतको नाममा चार जात र छत्तीसबर्णको फुलवारिलाई बिखण्डन गरियो।एक अर्काको खुट्टा तानातान गर्दै र दोषारोपणमै समय बर्वाद भयो।अलिकती पनि संकोच कसैले गरेनन् एकलौटी सरकार हुदाहुदै देशलाई कुन अबस्थामा पुर्‍याए । लोकतन्त्रको संघारमा उभिएर प्रजातान्त्रको खिल्ली उडाउन कसैले बाँकी राखेनन्।देश र देशवासीलाई कसैले सम्मान गरेनन् बिपक्षीमा बसेर प्रतिपक्षीलाई सहयोग गर्ने संस्कृति बिकास गर्न सक्थे,अहँ! कसैले गरेनन ।यो कस्तो प्रजातन्त्र हो ?

२०५१मा फेरि मुलुकलाई अर्को दलदलमा हुत्याए।रगत र आँसुको खोलो बगाएर । दरवारमा बस्नेहरुको बिरोध गर्दै , नयाँ दरबार निर्माणमा जुट्दैगए । साच्चिकै सुन्दर नेपालको सपना देखाए निर्दोष नागरिकहरुको नरसंहार गर्दै जनयुद्धको बिगुल फुके । सुनौलो भबिस्यको आशामा २०६३/ ६४ मा फेरि लडाए । शान्ती सम्झौता मार्फत जंगल पसेकाहरु पनि सतामा आए।रगतको मूल्य पक्कै चुकाउलानन् भन्ने बिश्वास सबैको थियो।फेरि पनि आशा तुहिय ।संबिधानबिद डा, भिमार्जुन आचार्यले एक लेखमा ब्यक्त गरेकाछन्।समृद्ध नेपालको सपना साकार हुन नदिने धमिराहरुको को हुन भनेर।त्यस्तै डा युबराज संग्रौलाले लेखेका छन् हामीले जन्मे देखि मृत्युसम्म तिरेको कर कहाँ र कसरी दुरुपयोग भैरहेको छ।देश कसरी गरिविको चपेटामा फसेको छ,खुलस्त पारेका छन्।अध्ययय न र मनन् गर्न जरुरी छ,राजनैतिक दल,नेता र कार्यकर्ताहरुले।सचेत हुन जरुरी छ नेपाली नागरिकले।जे जे भए पनि समृद्ध नेपालको सपना देख्ने लाखौ आँखाहरु अझ पनि छन्।नेपाल भित्र र बाहिर देशलाई माया गर्ने नेपालीहरु कयौं छन्।कयौं नेपालीहरुले उत्कृष्ट कार्यहरु गरिरहेका छन् ,नेपाल लाई बिश्वमाझ चिनाउन।” जब जागो तब सबेरा भन्या झैं ” अझ पनि ढिलो भएको छैन।सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गर्दै, देशलाई सर्बोपरी ठानेर,इमानदारिताका साथ राष्ट्र निर्माणमा जुट्ने उत्प्रेरणा जागोस्।भ्रष्टाचारका सबै छिद्रहरु टालिउन।बिगतका गल्तिहरुलाई सुधार्दै साच्चिकै समृद्ध नेपालको नारा सार्थक होस्।सुशासनको अनुभुती सबै नेपालीहरुले गर्न पाउन।देशमा भौतिक पुर्वाधारको बिकास होस् । न्याय माग्न अन्तरास्ट्रिय अदालत जानू नपरोस्।प्रत्येक नागरिकहरुलाई नैसर्गिक अधिकार सहज रुपमा प्राप्त होस्।दण्डहीनताको अत्य होस्।सचेत नेपालीहरुको जमात होस्।सबैले प्रजातन्त्रको गरिमाको मान राखुनन्।सबैलाई प्रजातन्त्र दिवसको मंगलमय शुभकामना

 

-अनिता कोइराला 

प्रतिक्रिया