मौलापुर मधानी महायज्ञ २०७८ -पूर्व प्रम केपि शर्मा ओली,महानायक राजेश हमाल र खेसारीलाल यादव रौतहट आउँदै

सञ्जय मित्र,रौतहट २०७८ माघ २९ गते १२:५४ मा प्रकाशित

सञ्जय मित्र,रौतहट-रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा तेस्रो मधानी महायज्ञ २०७८ फागुन १७ मा हुने भएको छ।मौलापुर नगरपालिका ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर परिसरमा हुने मधानी महोत्सवमा नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली,नेपाली सिनेमाका महानायक राजेश हमाल र भोजपुरी सिनेमाका चर्चित नायक तथा गायक खेसारीलाल यादव आउने निश्चित भएको मौलापुर नगर प्रमुख रिनाकुमारी साहले बताइन्।

नगरपालिकाद्वारा पुरातात्विक महादेव मन्दिर परिसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख साहले देश र विदेशमा चर्चित बन्दै गएको पुरातात्विक महादेव र मधानी महोत्सवको तेस्रो संस्करण विशिष्ट हुने भएकोले सबैलाई सहयोगको लागि आग्रह गरेकी छन्।

नेपाल सरकारको १०० महत्वपूर्ण पर्यटकीय गन्तव्यमा परिसकेको पुरातात्विक महादेव स्थानमा आयोजित पहिलो मधानी महोत्सव २०७६ मा सम्मानीय राष्ट्रपति विद्यादेवी भन्डारीको पनि उपस्थिति रहेको थियो।हरेक वर्ष नेपाली तथा भोजपुरी विशिष्ट कलाकारहरुको उपस्थितिमा हुने गरेको मधानी महायज्ञमा नेपालका अन्य नेता तथा नेपाली र भोजपुरी सिनेमाका चर्चित कलाकारहरुको सहभागिता रहने बताइएको छ।

करिब डेढ दशक पहिले खासै चर्चामा नरहेको पतौरास्थित पुरातात्विक महादेवस्थललाई पर्यटकीयस्थल बनाउन प्रभु साहको ठूलो भूमिका रहेको छ।

मौलापुर नगरपालिका गठन भएपछि नगरपालिकाले एउटा विशिष्ट उत्सवको रुपमा मधानी महोत्सव मनाउन थालेको छ।मधानी महोत्सवको बारेमा पनि विस्तारै देश र विदेशमा चर्चा हुन थालेको छ।

बोलबम कामरनाथुले गर्ने भगवान शिवको विवाहको विशेष यज्ञहरुको उत्सव नै मधानी हो।मधानीमा कामरनाथुहरुले सम्पूर्ण यज्ञ गर्ने गर्दछन्।मुख्यतः बारा जिल्लाको पूर्वी भाग र रौतहटदेखि सर्लाहीको पश्चिमी भागसम्म प्रचलनमा रहेको मधानी महायज्ञ यस क्षेत्रको भौगोलिक विशिष्टताको पर्वको रुपमा रहेको छ। मौलापुर नगरपालिकाले मधानी महोत्सवको प्रवद्र्धन गरेको छ।

मधानी महोत्सवको अवसरमा मौलापुर स्मार्ट सिटीको भूमिपूजन,अष्टयाम यज्ञ, शिवचर्चाका साथै नेपाली र भारतीय चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

मधानी महोत्सवमा लाग्ने मेलामा सबै किसिमका पसल,व्यवसाय,खेलतमासाका आयोजकहरुबाट कुनै किसिमको कर नलिइने भएकोले बेपारीहरुको पनि आकर्षण बढेको छ।

पुरातात्विक महादेव मन्दिरका पूजारी मोसाफिर साहले फर्निचर मेला लगाउनको लागि फर्निचर व्यावसायीहरुले जग्गा र सुरक्षाको माग गरिरहेको बताएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आवश्यकताअनुसार जमिन र सुरक्षा नगरपालिकाले उपलब्ध गराउने बताएका छन्।

मधानी महायज्ञमा नेपाल र भारतका करिब एक सय साधुसन्तहरुको पनि सहभागिता रहने पूजारी साहको भनाइ छ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख गौरीशंकर साह,नगर शिक्षा शाखा प्रमुख चन्देश्वर साह,बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश साह,नेकपा एमाले रौतहट अध्यक्ष त्रिभुवन साह,नेपाल चलचित्रकर्मी संघका मधेस प्रदेश अध्यक्ष विजय यादव निर्बिजसहित विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

मधानी महोत्सव २०७८ को लागि पुरातात्विक महादेव मन्दिरलाई सजाउने काम सुरु भइसकेको देखिएको छ।

 

प्रतिक्रिया