महिनावारी एक शारीरिक परिवर्तनमध्येको एक हो । यो महिलाहरुको शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । अझै भन्दा महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारीको शुरुवात हुनु भनेको एउटी केटी हरेक महिना गर्भवधारण गर्न तयार भएको सङ्केत हो ।
साधारण भाषामा भन्नु पर्दा महिला महिनावारी हुँदा पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगत पनि बाहिर निस्कन्छ । यो प्राकृतिक बायोलोजिकल प्रक्रिया हो तर महिनावारीलाई लिएर थुप्रै भ्रम र अन्धविश्वास सिर्जना हाम्रो समाजमा धार्मिक रुपमा नभएका होइनन तर पछिल्लो समय यसलाई नै राजनैतिक मुद्दा बनाएर सामाजिक शान्तिलाई भंग गर्ने प्रयास पटक पटक भएका छन्।
महिनावारीलाई राजनैतिक मुद्दाको रुपमा उठाएर आफ्नो स्वार्थ पूर्ति गर्नु सामाजिक हितमा छैन तर अझै पनि हाम्रो समाजमा विद्यमान विकृतिलाई छिचोल्नु निकै जरुरी देखिन्छ किनकी हाम्रो समाजमा अझै पनि महिनावारीलाइ छिछि र दुरदुर गर्ने, महिनावारी शब्द उच्चारण गर्न पनि लजाउने वा हिच्किचाउने जस्ता समस्या आमा, बुहारी, दिदि, बहिनी र छोरीहरुमा छ।अझै पनि महिनावारीलाई हेर्ने दृष्टि समाजमा नकारात्मक छ। महिनावारी भएको महिलाले अरुलाई छुन नहुने,भान्सामा गएर पकाउन नहुने, धार्मिक कार्यमा संलग्न हुन नहुने, फल लग्न लागेका बोट बिरुवालाई छुन नहुने जस्ता नकारात्मक सोच अझै यथावत छ। साथै विशेष त क्षेत्री ब्राह्मण, ठकुरी, उच्च कुलिन परिवार र समुदायमा महिनावारी कडाई साथ बार्नु पर्ने चलन अझै छ तर अन्य समुदायमा छूइ प्रथालाई खासै अपनाइएको पाइदैन ।
यदाकदा महिनावारी सम्बन्धि जनचेतनाका अभियानहरु शुरु भएका छन् तर महिनावारीको चेतना पुग्नु पर्ने ग्रामिण महिलाहरु र पिछडिएको वर्गसम्म यो अभियान नपुग्नु दुर्भाग्य हो। महिनावारी सम्बन्धि जनचेतनामुलक अभियानहरु प्राय शहर बजारका तारे होटलहरुको सेमिनार कक्षमा र टेलिभिजनका पर्दा बढी सिमित हुँदा महिनावारी सम्बन्धि भ्रम र अन्धविश्वास अझै मेटिन सकेको छैन।
महिनावारी भएकी महिला फोहोरी र अशुद्ध हुन्छिन्। महिनावारीको समय तल माथि हुँदा गर्भवती भएको हो भनेर गरिने शंका, महिनावारीको बेला पुजा गर्नु हुँदैन,महिनावारीमा अचार छोयो भने बिग्रिन्छ, मासिक धर्मले शरीर कमजोर हुन्छ, महिनावारीको रगत दुर्गन्धित हुन्छ, महिनावारीमा नुहाउँदा बाँझोपन हुन्छ, सेनेटरी नेप्किनबाट क्यान्सर फैलिन्छ भन्ने जस्ता थुप्रै मिथ्याका कारण महिनावारी प्रति महिलाहरु आफै र समाज नकारात्मक भएको हो। यसको लागि सचेतनाको जरुरी छ।
धर्मको नाममा समाजमा गरिने महिनावारी सम्बन्धि विभेदको कुरा गर्दा धर्म ग्रन्थमा सबैले परापूर्वकालदेखि पुज्दै आएका स्त्री लिंगी देवीहरू जस्तैः पार्वती ,लक्ष्मी ,सरस्वती भगवती लगायतले महिनावारी बारेको कतै उल्लेख भएको छैन । त्यसैले भगवानले नबारेको महिनावारी मान्छेले बार्नु तर्क संगत देखिदैन भन्ने आवाज पनि उठ्ने गरेको छ।
छाउपडी प्रथा सुदूरपश्चिम र मध्यपश्चिममा मुख्य समस्याका रूपमा रहँदै आएको छ। धेरै किशोरी तथा महिलाले वर्षेनी महिनावारी हुँदा होस् या सुत्केरी, छाउगोठमा बसेका बेला बलात्कृत हुने तथा ज्यान गुमाउने गरेका छन्। सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले ठूलो परिमाणमा बजेट कुप्रथा हटाउने नाममा खर्च गरिसकेका छ तर समस्या केहि हद सम्म मात्र घटेर गएको छ, निर्मुलै हुन सकेको छैन। वास्तविकतालाई स्वीकार्ने हो भने महिलाले नै छाउपडी प्रथालाई अगाडि बढाउनुपर्छ वा महिनावारी बार्नुपर्ने भनेर नयाँ पुस्तालाई दबाब दिइरहेका भेटिन्छ।
छिमेकी राष्ट्र भारतको आसामस्थित कामाक्षदेवीमा महिनावारी भनेको शक्ति हो, यसलाई पूजा गर्नुपर्छ भनेर सकारात्मक रूपमा लिइएको छ । बौद्ध धर्मावलम्बी र इस्लाममा पनि केही त बार्छन् तर यति कट्टर छैनन् तर हाम्रो समाजको ग्रामिण भेगमा किशोरीहरु महिनावारी हुँदा विद्यालय नजाने जसको कारण उनीहरुको पढाईमा समेत नराम्रो असर पर्ने गरेको छ भने शहरमा पनि किशोरीहरुलाई महिनावारी भएको बेला संगै पढ्ने किशोरहरुको मानसिक टर्चर सामना गर्नु पर्ने बाध्यता छ।
नेपालमा मात्र नभई संसार मै पनि महिनावारी को सहि सम्बोधन मानवअधिकारको कुरामा विरलै जोडेको देखिन्छ। सन् २०१४ मा मानवअधिकार परिषद्ले महिनावारी सम्बोधन नभए लैंगिक समानता प्राप्त गर्न सकिन्न भनेको छ। युनेस्को र डब्लूएचओले महिनावारी अधिकारबारे कुरा उठ्ने गरेको छ तर अन्तर्राष्टियस्तरमै महिनावारी अधिकारको प्रस्टता छैन।
हाम्रो समाजमा अझै पनि पढेलेखेकाहरु नै यो विषयमा संकुचित भएको कारण महिलालाई अझै समान नागरिकका रूपमा हेरिएको अवस्था छैन। सरकारी नीति-नियमको पालना कडाईका साथ पालना नगरिएकै कारण समाजमा अझै लैंगिक विभेद व्याप्त छ । महिनावारीलाइ फोहोर रगतसँग तुलना गरेर महिलालाई पर सार्ने काम भएको र जसका कारण लैगिक समानताका मुद्दा फितलो बन्ने गरेका छन्।
पाप र धर्मसंग महिनावारी जस्तो प्राकृतिक चक्रलाई जोड्नुले युवा पुस्तालाई समान लैगिक अधिकारबाट बन्चित गराउदा विकृतिहरु मौलाउदै जाने गरेका छन्। साथै महिला हिंसा,मानव बेचबिखन,सामाजिक कुरीति र कुप्रथालाई निवारण गर्ने असहज भएको छ।सामाजिक जागरण फैलाउने प्रमुख दायित्व सरकार, संचार क्षेत्र र नागरिक समाजको हो तर यसलाई विभिन्न निजि र गैर सरकारी संस्थाहरुले मागी खाने भाडो बनाएका छन्.नीति निर्माणकर्ताहरु मौन देखिन्छ। महिलामाथि विभेद हुने छाउपडी प्रथा होस् या महिनावारी सम्बन्धि मिथ्या विरुद्धमा होस् सरकारी स्तरबाट कानुन बलियो बनाउन सके मात्र अन्त्य हुनेछ।
बाबा राजेश्वरी थापा
भिएना,अष्ट्रीया
प्रतिक्रिया