क्यानडामा “तारा देबी स्मृति संध्या ” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ माघ १९ गते ४:२३ मा प्रकाशित

टोरोन्टो, नेपाली सांगितिक क्षेत्रका स्वर किन्नरी तारादेवीको सम्झनामा क्यानेडियन नेवा गुठिले हालै जूम प्रबिधि मार्फत “तारा देवी स्मृति संध्या” कार्यक्रम आयोजना गरि मनाइयो । कार्यक्रममा स्वर्गिय तारादेवी प्रति श्रदान्जली अर्पण गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधान तारादेवी नेपाली संगीत जगतका साँच्चिकै तारा भएको बताउनु भयो । अत्तिथिहरुलाई स्वागत गर्नु हुदै गुठिका महासचिब बिमल श्रेष्ठले सबैको सहयोगमा गुठिले पहिलो पल्ट “तारा देवी स्मृति संध्या” गर्न पाएको र सो कार्यक्रम तारादेवी प्रतिको हार्दिक श्रदान्जली हुने बताउनु भयो ।

स्वागत मन्तब्य पछि सिटार बादक रंजना प्रधान सैन्जुले तारादेवी प्रति सांगितिक श्रदान्जली स्वरुप उहाँको प्रसिद्द गीत ” काले पारी दाई कति राम्रो ढाका टोपि काँधैमा गलबन्दि”को धून सिटार मार्फत प्रस्तुत गर्नु भयो । सिटार बादन पस्चात गुठिका कार्यसमिति सदस्य डा. प्रज्वल प्रधानले तारादेवीको जीबनी तथा सांगितिक यात्रामा आधारित भएर हाजिरि जवाफ संचालन गर्नु भयो । सो हाजिरि जवाफ कार्यक्रम सामुहिक रुपमा गरिएको थियो र धेरै जसो प्रश्नहरुको सहि उत्तर आएको थियो । तारादेवी को सम्बन्धमा कबिता प्रस्तुत गर्नु हुदै गुठिका कार्यसमिति सदस्य डा. कृष्ण कायस्थले उहाँ नामले मात्रै तारा नभै कामलेनै साँच्चिकै तारा भएको बताउनु भयो ।

त्यसपछि तारादेवीको जीबनी, सांगितिक यात्रा, सामाजिक परिबेश , ब्यक्तित्व, उपलब्धि बारे प्रकाश पार्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकजुले उहाँ बाल्य कालदेखिनै सांगितिक क्षेत्रमा संलग्न हुनुभै नेपाली संगितको श्रीबृद्दिमा अतुलनिय योगदान गर्नु भएको बताउनु भयो । पृथक रसका गीतहरु पनि सहजै र कर्णप्रिय रुपमा प्रस्तुत गर्न सक्नु उहाँको बिलक्षण प्रतिभा हो भन्नु हुदै निडर र संगीतप्रतिको अगाध समर्पण उहाँको ब्यक्तित्व हो भन्नु भयो । तारादेवी नेवाः समुदायको टोलमा जन्म भई त्यहि हुर्किएकोले नेपाल भाषा पनि स्पष्ट संग बोल्न सक्ने र नेपालभाषाका पनि थुप्रै गीत हरु गाउनु भएको भएतापनि संचार माध्यममा नआएकोमा दुखेसो पोख्नु भयो।

कार्यक्रमको दोश्रो चरणमा सबिना शाक्य, रंजना प्रधान सैन्जु, प्रकाश प्रधान ,उत्तम तथा शान्ति माकजु,बिमल श्रेष्ठ, डा. प्रज्वल प्रधान, नरेश ताम्रकार, लक्ष्मण मुनि श्रेष्ठ,अमृत श्रेष्ठ लगायतले तारादेवीका गीतहरु प्रस्तुत गरेका थिए भने डेन्भर,अमेरिकाका प्रसिद्द मुर्चुङ्गा बाद्क सुरेश प्रधानले बांसुरी तथा मुर्चुङ्गा मा सुमधुर धून प्रस्तुत गर्नु भएको थियो । सो सांगितिक कार्यक्रम गुठिका जन सम्पर्क संयोजक मिली राजभण्डारीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया