‘मनसित मितेरी लाउदै’

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७८ माघ १९ गते ३:३६ मा प्रकाशित

रातको दश बजिसकेको छ,सिमलको भुबा झैँ आकाशबाट झरिरहेका सेता हिउले आशिषको टोपी र कोट भरि आकर्षक बुट्टा बनाइदिएको छ। चारै तिर फैलिएका सेता हिउले ढाकेको त्यो न्यु योर्कको झिलिमिली शहरलाई सेता हिउले झनै उज्यालो थपिदिएको छ। त्यो उज्यालोमा मुटु नै छुने गरि बहिरहेको  चिसो हावाले आशिसको नाक र अनुहारलाई नै रातो बनाइदिएको प्रस्ट सित देखिन्छ। सडकमा मन्द गतिमा केहि गाडीहरु गुडिरहेका छन् भने केहि मानिसहरु हतार हतार आफ्नो घर  पुग्नका लागि सेतो भुवाले ढाकेको त्यो सडकका पेटीहरुमा आफ्ना बुटका पाइलाका निशानाहरुलाई छोड्दै अघि बढिरहेका छन्। आशिस पनि सकभर छिटो छिटो अघि बढ्छ।

आफ्नो एपार्मेन्टमा पुगेपछि हिउले भरिएको त्यो कोटलाई बाथरुममा लगेर टकटकाएर झुन्ड़ाईदिन्छ ह्यांगरमा। त्यो भिजेको बुटलाई पनि बाथरुममा राखिदिन्छ। हात मुख धोई सिधै भान्छा कोठामा गएर फ्रिज खोलेर हिजो बाकी भएको चाइनिज खाना निकाल्छ र माइक्रोवेवमा तताउछ । त्यतिखेर उसलाई आफ्नो देशमा हुदाखेरी आमाले पकाएर दिनुहुने त्यो ताजा दाल भात तरकारी अचारको यादले उसको मुखै रसाएर आउछ एकछिनलाई भए नि ।

 उ पाच छ बर्ष अघि अध्ययनको शिलशिलामा अमेरिकामा आएको थियो। उ बिहान कलेज जान्छ, साँझतिर एउटा रेस्टुरामा पार्ट टाइम काम गर्छ। उ छिटो छिटो भर्खरै माइक्रोबेबमा तताएको खाना खान्छ र होमवोर्क गर्न बस्छ। होमवोर्क हेर्छ “कस्तो बुझ्ने गार्हो” भन्दै होमवोर्क एकातिर राख्छ। उसलाई कता कता उसकी आमाले ‘’आशिस” भनेर बोलाएको जस्तो लाग्छ अनि मुसुक्क हास्दै भन्छ “कहाबाट आमा यहाँ आउनुहुन्छ र? सात समुन्द्र पार गरेर एकैचोटी।” उ राति अबेर सम्म पढिराख्दा आमाले सधै एक हातमा दुधको गिलास र अर्को हातमा केहि स्नाक लिएर उसको कोठाको टेबलमा राखिदिनुहुन्थ्यो र भन्नुहुन्थ्यो “ढिला भैसक्यो यति खाउ भोक लाग्यो होला, ढिला सम्म नबस्नु, बरु भोलि बिहान सबेरै उठेर पढ्नु, निन्द्रा  पुगेन भने फेरि सन्चो हुदैन” भन्दै जानु हुने कुरालाई सम्झन्छ र भन्छ ऊ “आमाले दिने जस्तो माया यहाँ कहाँ पाइन्छ र ?” एकछिन उसका आखाहरू रसाएर आएको पनि पत्तो नै हुदैन उसलाई।

भोलि बिहानै कलेज जानुपर्छ भन्दै हतार हतार होमवर्क गर्छ। होमवर्क सकाएर फेस बुकमा जान्छ र  एकछिन फेस बुक चेक गर्छ अनि साथीहरुसित केहि छिन कुरा गरेर निकै थाकेको हुनाले कम्प्युटर बन्द गरेर सुत्ने तरखर गर्छ तर किन किन आज उसलाई जति थाके नि निन्द्रै लाग्दैन। आफ्नो आमा बुबा भाइ बहिनीको ज्यादै याद आउछ। आफ्नो देशमा हुदा आफ्नो छुट्टै कोठामा कति राम्रा राम्रा सोपिशहरुले सजाएर, ठुलो ठुलो स्तेरियो राखेर आफुलाई मनपर्ने कलाकारहरुको पोस्टर टासेर सजाएको कुराको याद आउछ। कहिले काहिँ ठुलो आवाजमा स्तेरियो बजाएर बस्दा आमाले खाना खानका लागि बोलाउदा नसुनेकाले गाली खानुपरेको कुरा सम्झेर दंग पर्छ ऊ। अहिले ऊ अर्को एक  साथीसित रूम सियर गरेर बसेको छ।

पहिले त काम गर्दै पढ्दा ज्यादै गार्हो लागेको थियो। अहिले त बानि परिसकेको छ। ऊ मनमनै भन्छ “आफ्नो देशमा हुदा आमाको हातबाट बनेको ताजा  खाना खान पाउथ्यो, आफैले खाना बनाउनु पर्दैनथ्यो, भाडा माझ्नु पर्दैनथ्यो, बुबाले दिनुहुने पैसाले आफ्ना आवश्यकताहरु पुरा हुन्थ्ये, बिदाका दिनहरुमा साथी भाइहरुसित रमाउदै पिकनिक त कहिले फिल्म त कहिले घुमफिर गर्न जान्थे। घरमा पनि सधै जसो आइरहने चाडपर्बहरुमा आफन्तहरुसित भेटघाट भैरहन्थ्यो, तर जे होस् यहाँ कसैमाथि भर पर्नु त् पर्दैन नि ! आफैले काम गर्यो कमायो, आफ्नो आवश्यकता पुरा गर्यो। क्या स्वतन्त्र जिबन!” भन्दै आफैलाई सम्झाउछ।

फेरि भन्छ “आफुले भने जसो सबैकुरा कहाँ पाइन्छ र? केहि पाउनलाई केहि त् गुमाउनु पर्छ नै ! यहाँ जति सुकै ढिलो आवोस , जे सुकै खावोस, जे सुकै लगावोस, जहासुकै जावोस् कसैलाई मतलब छैन। एक मनले त् भन्छ क्या स्वतन्त्र ! एउटा काम हुनुपर्छ आफुलाई पाल्न सकिन्छ। काम गर्दै पढ्न अलि गार्हो हुने रहेछ, तर सबै बिधार्थीहरुले त्यसरी नै त् पढ़िराखेका छन् नि त्! बरु मैले यो पढाई एउटा सकाए भने आफुले भने जस्तो राम्रो काम पाइन्छ। त्यहि काम मार्फत् कानुनी रुपमा बस्न मिल्ने गर्छु। यहाँ त् कानुन कडा पो छ त् ! कागज भए पो आफ्नो पढाई संग सम्बन्धित काम खोज्न सजिलो हुन्छ। अनि त् समय समयमा नेपाल जाउला, आमा बुबालाई पनि यहाँ घुमाउन ल्याउला, सबै कुरा मिलेमा यहाँ नै राखुला अनि त् सबै कुरा ठिक भै हाल्छ नि! धत् कति कुरा सोचिराखेको म पनि” भन्दै मन्द मुस्कानमा कोल्टे फेरेर फेरि सुत्ने कोशिस गर्छ उ तर निदाउन नै सक्दैन। घडी हेर्छ बार्ह बजिसकेछ।

जति निदाउन खोजे नि निन्द्रा लाग्दैन अनि  “हे…..निन्द्रा नलागिकन पनि किन सुत्ने खै” भन्दै फेरि भान्छा कोठामा गइ फ्रिज खोल्छ र देख्छ हिजो उसले युतुब हेरेर बनाएको चिकेन करी। “अहो कस्तो बिर्सेको मैले त  हिजो मैले बनाएको चिकेन करी छ त” भन्दै एक पिस चिकेन मुखमा राख्छ उ। “अहो क्या मीठो छ त् ! जे होस् यहाँ आएर मैले जानी नजानी भए पनि खाना बनाएर अहिले त् मीठो खाना बनाउन सक्ने भएछु नि!  जे होस् यहाँ आउदा शुरु शुरुमा गार्हो भए नि अहिले केहि मात्रामा भए नि  खानेकुरा बनाउन त जान्यो नि। अरु धेरै कुराहरु पनि सिकियो। सबै कुरा त् कहाँ मिल्छ र!” भन्दै फेरि अस्ति आमाले नेपाल बाट पठाइदिनु भएको लब्सिको अचार पनि एक चमच मुखमा राख्दै जिब्रो पड्काउदै एक गिलास पानी पिएर ओछ्यानमा गइ सुत्ने तरखर गर्छ। घडी हेर्छ बिहानको एक बज्न लागिसकेछ । त्यतिकैमा घुरुक्क ढोका खोलेको आवाज आउछ । उसको रूममेट आएको रहेछ । उ पनि राती सम्म पेट्रोल पम्पमा काम गर्छ।

यसरी मनसित मितेरी लाउदै आशिषलाई कतिखेर निन्द्रा लागेछ पत्तो नै भएनछ।  यस्तै छ…. ।

प्रतिक्रिया