विराटनगर,१६ माघ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनु पर्ने बताउनुभएको छ।
विराटनगर स्थित कोइराला निवासमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक हुने भएकोले यो निर्वाचन कुनै बहानामा सार्न नहुने कुरामा जोड दिनुभयो।
उहाँले सरकारले निर्वाचनको विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनु पर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त्त गर्नुभयो।
गठबन्धनसँग छलफल गरेर निर्वाचनको मिति तय गर्नु संविधान र कानून विपरित हो भन्दै उहाँले नेपाल कांग्रेस पार्टीले गलत गर्यो भने खबरदारी गर्नु पर्छ भन्नुभयो ।उहाँले पार्टीको सभापतिको अधिकारमा बोल्न नमिल्ने भन्दै १४ औँ महाधिवेशनमा पराजीत वरिष्ठ नेतालाई मनोनित गर्नु पर्ने नेतृत्वलाई सुझाव दिनुभयो।
उहाँले प्रदेश नं १ को नामकरण दलहरुको सहमतिमा हुनु पर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्रयाउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राख्नुभयो।
देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नु पर्ने भन्दै सरकार पारदर्शी,जवाफदेहिता र उत्तरदायी हुनु पर्छ भन्नुभयो।
प्रतिक्रिया