अमेरिकाको सेता बालुवा – यात्रा स्मरण

बिनोद पोख्रेल २०७८ माघ ११ गते २३:३४ मा प्रकाशित

कुनै स्थान विशेष सँग जोडिएका आकर्षण तथा सौन्दर्यहरूको बारे सुन्नु र देख्नु भन्दा अनुभूति गर्नु फरक कुरा हो। त्यस्ता स्थान विशेषको कुरा र त्यसको महत्वका बारे पढेर, सुनेर र देखेर धेरै ज्ञान प्राप्त गर्न सकिएला उत्साहित बन्न सकिएला तर ह्रदय देखीको आनन्द प्राप्त गर्न भने प्रत्यक्ष अनुभूति गर्नै पर्ने रहेछ। त्यस्तै प्रत्यक्ष अनुभूति गर्ने क्रममा केही वर्ष देखि अमेरिकाका आकर्षक गन्तव्यहरूको यात्रानुभूती गर्ने अवसरहरू जुरेको थियो अहिले त्यसैको निरन्तरता स्वरूप टेक्सास राज्य तथा यस आसपास रहेका केही आकर्षक गन्तव्यका बारे थोरै यात्रानुभूती स्मरण गर्न चाहन्छु।

टेक्सास राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा पर्दछ। यस राज्यको दक्षिणी सिमाना दक्षिण अमेरिकी राष्ट्र मेक्सिको सँग जोडिएको छ। पहिले स्वतन्त्र राष्ट्र रहेको यो राज्य सन १८४५ मा संयुक्त राज्य अमेरिका सँग जोडिएको २८औ राज्य हो। टेक्सास राज्य क्षेत्रफलको हिसाबले अमेरिकामा अलास्का पछि दोस्रो ठुलो र जनसङ्ख्याको हिसाबले क्यालिफोर्निया पछि दोस्रो ठुलो राज्य रहेको छ। नेपाल भन्दा धन्नै पाँच गुना ठुलो यस राज्यको जन सङ्ख्या भने नेपालकै कुल जनसङ्ख्याकै हाराहारीमा रहेको छ। ह्युस्टन, सान आन्तानियो,डालास/फोर्टवर्थ,अस्टिन,एल पासो आदी यहाँका प्रमुख सहरहरू हुन्।डालास/फोर्टवर्थ एरियामा नेपाली समुदायको राम्रो उपस्थिति रहेको छ भने ह्युस्टन,अस्टिनमा तथा अन्य साना सहरहरूमा समेत नेपाली समुदायको बसोबास रहेको छ।हाम्रो समुदायमा सामान्यतया टेक्सास भन्नासाथ डालास/फोर्टवर्थ नै भन्ने बुझिए तापनि यहाँको सबै भन्दा ठुलो सहर ह्युस्टन हो भने अस्टिनमा टेक्सास राज्यको सदर मुकाम रहेको छ।ठुला ठुला फराकिला सडकहरू यहाँको विशेषता हो भने अमेरिका मात्र होइन संसारकै सबै भन्दा चौडा सहर (१३ + १३ लेनको) ह्युस्टन सहर भित्रैको “केटी राजमार्गमा” रहेको छ। त्यसै गरी कम्प्युटर प्रविधि सँग सम्बन्धित अध्ययन तथा तालिम केन्द्रका साथै व्यावसायिक रोजगारीहरू यस क्षेत्रमा प्रशस्त रहेका छन्। यस क्षेत्रमा रहेका रिटेल व्यापार व्यवसायहरू तथा कन्सल्टेन्सी सेवामा नेपाली समुदायको समेत राम्रै उपस्थिति रहेको देखिन्छ।

 

अमेरिकाले आफ्नो इतिहासको महत्त्व बोकेका हरेक क्षेत्रका स्थान तथा पुरातात्त्विक सम्पदाहरूलाई संरक्षण गर्दै आन्तरिक वा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्य बनाउने गरेको छ भने प्राकृतिक सौन्दर्य र आकर्षक भौतिक निर्माणलाई समेत सुरक्षित तथा संरक्षण गर्दै पर्यटकीय आकर्षक गन्तव्यको रूपमा प्रवर्धन गर्ने गरेको देखिन्छ। यस्तै ऐतिहासिक आकर्षक गन्तव्य बोकेको अमेरिकाको सातौँ ठुलो तथा टेक्सास राज्यको मध्य दक्षिण क्षेत्रमा अवस्थित राज्यकै दोस्रो ठुलो सहर हो “सान आन्टानियो”।

ह्युस्टन देखि करिब २०० माईल टाढा रहेको र करिब १४-१५ लाख जनसङ्ख्या रहेको सान आन्टानियो सहरलाई सिटी अफ मिलिटरी, सिटी अफ अलामो,सिटी अफ रिभर वाक भनेर पनि चिनिने रहेछ।विशेष गरी अमेरिकन आर्मीको बारेमा अध्ययन अनुसन्धान तथा अवसरका लागी यस सहरको महत्त्व रहेको छ।

हामीले छोटो समयमा प्रत्यक्ष अनुभूति गरेको स्थान र अविस्मरणीय क्षण भने यस सहरको मध्य भागमा रहेको सान आन्टानियो रिभर वाक नै थियो। करिब १५ माईल लामो दुरी रहेको यस रिभर वाक मुख्य सहर भित्र भित्र मात्र ५ माईल रहेको छ।दुवै तिर होटेल,रेस्टुरेन्ट, मल जस्ता ठुला ठुला भवनहरू रहेको यस नदिमा “रिभर वाक” गर्दा सहरको भित्र भित्र कता भेनिसको “सान रोमान” सहरको याद आउने रहेछ भने दुवै तर्फ ठुला ठुला भवनहरू हेर्दै पानी जहाजको टुर गर्दा पेरिसको साइन नदिको टुरको याद आउने रहेछ।त्यस्तै किनारामा भिडभाड देखिने रेस्टुरेन्ट,पबहरू देख्दा काठमान्डुको ठमेल बजार जस्तो देखिने र रङ्गी विरङ्गी, झिलिमिली खुद्रा बजार देख्दा न्यूयोर्कको म्यानहाटनमा रहेको ब्रोडवे को ज्वेलरि बजार जस्तो पनि देखिँदो रहेछ। जे होस सन्ध्याकालीन समयबाट राती १० बजे सम्म गरिने सान आन्टानियो नदिको “रिभर वाक” साँच्चै नै हाम्रो यस पटकको यात्राको प्रथम दिन आनन्ददायी र अविस्मरणीय रहेको थियो।

निर्धारित यात्राको तालिका र समयाभावको कारण हामीले यहाँका धेरै स्थानहरूको अवलोकन गर्न नसके तापनि यस सहर को भ्रमण गर्दा हेर्नै पर्ने स्थानहरूमा मेक्सिकन वारमा जित हासिल गरेको ऐतिहासिक किल्ला आलामो, हेमिस फेयर पार्कमा रहेको सहरको हरेक स्थान बाट देखिने आकर्षक टावर,ब्राकेन गुफा जसलाई चमेरे गुफा पनि भनिन्छ जहाँ २ करोड भन्दा बढी चमेरा बस्ने अनुमान गरिएको छ,ऐतिहासिक मार्केट स्वाएर जुन अमेरिकाको सबै भन्दा ठुलो मेक्सिकन मार्केट मानिन्छ,सहरको नजिकै हिल काउन्टीमा रहेको प्राकृतिक पुल गुफाहरू पनि सान आन्टानियो भ्रमण गर्नेको लागी आकर्षक स्थान मानिन् रहेछ जहाँ चुन ढुङ्गा बाट बनेका विभिन्न अति सुन्दर आकृतिहरू दृश्यावलोकन गर्न लायक रहेका छन्। त्यस्तै संग्रालय, जुहरु र पार्कहरू समेत यस सहरका आकर्षण तथा मनोरञ्जन स्थान रहेका छन्।

 

यात्रानुभूती क्रममा यात्राको दोस्रो दिन हामी सान आन्टानियो देखि करिब ८ घण्टाको ड्राइभमा ५५० माईल टाढा रहेको टेक्सस राज्यकै दक्षिण पश्चिम किनारा तथा न्यूमेक्सिको राज्यको दक्षिण तर्फ अवस्थित र मेक्सिकोको-अमेरिका प्रवेश द्वारको रूपमा समेत रहेको टेक्सस राज्यको छैटौँ ठुलो सहर “एल पासो” को भ्रमण गरेका थियौ। करिब ८० प्रतिशत हिस्प्यानिक अमेरिकनहरूको बसोबास रहेको यस सहरको जनसङ्ख्या करिब ६ लाख ८० हजार रहेको छ। सहरको नजिकमा रहेका डाँडा काँडाहरूबाट एल पासो सहर र मेक्सिको तर्फको ह्वारेज सहरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ अझै रात्रिकालीन दृश्य झन् सुन्दर देखिन्छ।रियो ग्रान्दे नदीले अमेरिका र मेक्सिकोको सिमाना छुट्टाएको छ भने कतिपय ठाउँमा पर्खाल पनि लगाइएको छ।सहर बाट हाइवे आई-१० को पश्चिम तर्फ को यात्राकै क्रममा न्यूमेक्सिको तर्फ देखिन भौतिक संरचना र अमेरिका तर्फ बनेका भौतिक संरचनाले त्यहाँको आर्थिक अवस्था छुट्टाउन समेत सकिने रहेछ।छोटो समयको यात्राको क्रममा यहाँका सबै महत्त्वपूर्ण स्थानहरूको अवलोकन गर्न नसकिएता पनि फ्र्यान्कलिंग माउन्टेन स्टेट पार्क,हवाईका ट्याङ्क स्टेट पार्क,सिनिक ड्राईभिङ्ग,हाईकिङ्ग ट्रेल,विभिन्न कला संग्रालय तथा चिडियाखाना र नजिकमा रहेको विभिन्न गार्डेनहरू को अवलोकन गर्नै पर्ने स्थान रहेछन्।एल पासो सहरको छोटो घुमाई र साँझको मार्गारीता रमाई यात्रा अवधिको स्मरण योग्य क्षण नै रहेको थियो।

यस पटकको यात्रानुभूती को क्रममा हाम्रो तेस्रो दिनको गन्तव्य थियो न्यूमेक्सिको राज्यको दक्षिणी भागमा रहेको ह्वाईट स्यान्ड नेशनल पार्क जुन एल पासो देखि करिब १०० माइलको यात्रा गर्दै करिब डेड घण्टामा पुग्न सकिने रहेछ।

न्यू मेक्सिको राज्य अमेरिकाको दक्षिणी भागमा रहेको पर्वतीय राज्य भनेर पनि चिनिन्छ र यो संयुक्त राज्य अमेरिकाको ४७औ राज्य हो जुन १९१२मा अमेरिका सँग जोडिएको थियो।न्यूमेक्सिको राज्य भूभागको आधारमा अमेरिकाका पचास राज्य मध्ये पाँचौँ ठुलो हो भने जनसङ्ख्याको आधारमा ३६औ ठुलो राज्यमा पर्दछ जसको कुल जनसङ्ख्या करिब २१ लाख मात्र रहेको छ जुन टेक्सास राज्यको एउटा सहर ह्युस्टन भन्दा कम रहेको छ।

एल पासो देखि ह्वाईट स्यान्ड (सेतो बालुवा) नेशनल माउन्टेन पार्कको करिब डेड घण्टाको यात्रा तथा त्यहाँबाट पूर्व टेक्ससको बोर्डर तर्फको करिब ४ घण्टाको जम्मा करिब तिन सय माईल यात्राका क्रममा थोरै बसोबास रहेका साना सहरहरू,कहीँ पशुपालन तथा फलफूल खेती देखिएको थियो भने धेरै भूभाग डाँडा काँडा मरुभूमि जस्तो देखिन्थ्यो सायद माघको महिना भएर होला भएका रुख वृक्ष तथा बन जङ्गलहरू पनि पात झरेर उजाड नै देखिन्थे।

न्यू मेक्सिको राज्यमा रहेको अमेरिकन आर्मीको ह्वाईट स्यान्ड मिसाइल प्रक्षेपण केन्द्र नजिक रहेको ह्वाईट स्यान्डको पार्क वास्तवमै अति अनौठो, आकर्षक हेर्नै पर्ने एउटा स्थान रहेछ।वरि परि पुरा मरुभूमि जस्तो देखिने यस नेशनल पार्कको एरिया करिब २७५ स्वायर माईल रहेको छ भने यस ह्वाईट स्यान्डलाई जिप्सम स्यान्ड पनि भनिने रहेछ जुन जिप्सम फर्टिलाईजर, प्लास्टर, बोर्ड तथा सिमेन्टमा प्रयोग हुने रहेछ। यस पार्कमा मात्र अन्दाजी ४ बिलियन टन भन्दा बढी ह्वाईट स्यान्डको डिपोजिट रहेको अनुमान छ।

हाइट स्यान्ड नेशनल पार्कको क्षेत्र भित्र रहेको भिजिटर सेन्टर बाट त्यहाँको बारेमा केही जानकारी लिई सके पछि सेतो बालुवाको पर्वत हेर्न भित्र करिब ८ माईल (१३ किमी) का ट्रेलहरू बनाइएका रहेछन् र गाडीबाट करिब ४५ मिनेट लाग्ने रहेछ।पार्क भित्र प्रवेश गर्दा सेता चिनीजस्तो बालुवाका थुप्राहरूको पहाड जसलाई टाढा बाट हेर्दा हिउँका थुप्रो जस्तो पनि देखिने रहेछ र यहाँ भित्र ठाउँ ठाउँमा पिकनिक स्पट तथा शौचालयको पनि व्यवस्था गरिएको रहेछ। हिउँमा चिप्लेटी खेले जस्तो सेता बालुवामा हामी पनि चिप्लेटी खेलेर रोमाञ्चित भएका थियौ। जति लडी बुडी गर्दा पनि कपडामा खासै नटाँसिने यो बालुवा पहाड मैले अमेरिकामा देखेका घुमेका स्थानहरू मद्ये एउटा घुम्नै पर्ने महत्त्वपूर्ण स्थान ठानेको छु। यहाँ बर्सेनि औसत ५ लाख मान्छेले भ्रमण गर्ने रहेछन्।

करिब २-३ घण्टाको नेशनल पार्क भिजिट पश्चात् नजिकै रहेको आलामेगोर्दो नामक सानो सहर तथा पेस्ताको फार्म तथा हर्ट अफ वाईनरी रिजनमा छोटो दृश्यावलोकन गर्दै त्यहाँ बाट करिब २ घण्टामा पुग्न सकिने करिब १०० किमी पूर्व उत्तर को सानो तथा न्यू मेक्सिको राज्यकै एउटा अनौठो ऐतिहासिक बोकेको रसवेल सहर अवस्थित युएफओ म्युजियम घुम्ने अबसर हामीलाई मिलेको थियो।जुन म्युजियमको कहानि रहस्यमय रहेको छ।

सन १९४७ मा रसवेल सहर नजिक आकाशबाट एउटा ठुलो प्लेट आकारको कुनै अब्जेक्ट खसेको थियो र त्यसबाट एउटा मानव आकारको जीव पनि लडेको थियो भन्ने त्यहाँका स्थानीय बासीहरूको कथनको आधारमा म्युजियम बनाइएको रहेछ।त्यस घटनाको बारे तत्कालीन सरकारी निकायबाट पुष्टि गरिएन तर अमेरिकन सेनाले भने त्यसलाई आफ्नै सैनिक अभ्यासको घटना भनेर जन समक्ष ल्याएको रहेछ। स्थानीय जनता समाजले भने त्यो सरकारी भनाई लाई विश्वास नगरी उक्त आकाशबाट खसेको अब्जेक्ट युएफओ नै रहेको भनी त्यसको घटना परिघटना समेटेर म्युजियम नै बनाएका रहेछ।सरकारले आधिकारिक रूपमा पुष्टि नगरे पनि एउटा जन विश्वासलाई आधार मानेर यसको संरक्षण गरेर पर्यटकहरूको आकर्षक केन्द्रको रूपमा यो सहर बसेको रहेछ।

हाम्रो यो छोटो यात्रानुभूती क्रमको अन्तिम गन्तव्य टेक्सस राज्यकै पश्चिम उत्तरमा रहेको सानो सुन्दर सहर लबक थियो अन्तिम रात लबक सहरमा व्यतीत गर्दै अर्को दिन प्रातः कालिन लबक सहरको दृश्यावलोकन गर्दै करिब ८ घण्टामा ५१५ माइलको यात्रा तय गर्दै ह्युस्टन सहर पुगेर यात्राको बिट मारेका थियौ। त्यस क्रममा लबक सहर छोडे पछि बाटोमा टेम्पल सहर भन्दा अघाडी खासै ठुला सहरहरू थिएनन्।धेरै जस्तो स्थान डाँडा पाखा मरुभूमि जस्तो देखिए तापनि तर त्यहाँ हावा बाट चल्ने प्रशस्तै टर्वाईनका फार्महरू तथा कच्चा तेलका वेलहरु प्रशस्त देखिन्थे।एउटा तथ्याङ्क अनुसार टेक्सास राज्यमा करिब ३० हजार मेगावाट बिजुली विन्ड टर्वाईन बाट निकालिँदो रहेछ र टेक्सास राज्यमा उपयोग हुने कुल पावरको १६ प्रतिशत पावर तिनै हावा बाट चलने टर्वाईनहरु बाट पूर्ति गरिने रहेछ त्यस्ता फर्महरू तथा तेलका कुवाहरूको दृश्यावलोकन गर्दै यात्रा कै क्रममा टेप्पल सहर र त्यहाँ रहेको सुन्दर तथा आकर्षक टेम्पल लेकको समेत अवलोकन गरेका थियौ।

यस पटकको यात्रा भित्रको यात्रामा हामी श्रीमान् श्रीमती छोरा बैभव लगायत हामी सँगै एउटै परिवार जस्तै गरी ह्युस्टन सहरमा नजिकै बसोबास गर्दै आएका अति मिलनसार आत्मीय भाइ बहिनीहरू सुजन थापा,निकिता निरौला,स्वस्तिक पोखरेल,सन्ध्या उप्रेतीले यात्राको रौनकता बढाएका थिए र यात्राका पलहरूलाई झनै स्मरणयोग्य बनाएका थिए।यात्राका सहयात्रीहरू प्रति आभार समेत व्यक्त गर्दै यस पटकको छोटो यात्रानुभूती यति नै।

(यस लेखमा प्रयोग गरिएका डेटाहरू पत्रपत्रिका मा प्रकाशित लेखहरू,विक्किपिडिया आदि बाट साभार गरिएका हुन)

बिनोद पोख्रेल
बिजौरी – दाङ
हाल – ह्युस्टन टेक्सास अमेरिका
जनवरी २०,२०२२( माघ७,२०७८)

प्रतिक्रिया