यही २०७८ मंसिर २७ गते सोमबार, पालुङटार नगरपालिका वडा नम्वर ६ स्थित श्री लक्ष्मी माविको प्राङ्गणमा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरिशरण आचार्यले एक कार्यक्रमका बीच “परशुराम स्मृति ग्रन्थ” को विमोचन गर्नुभयो । गतवर्ष दिवंगत हुनुभएका लक्ष्मी माविका पूर्व प्रधानाध्यापक परशुराम श्रेष्ठको प्रथम स्मृति दिवसको अवसरमा सो स्मृति ग्रन्थ श्री परशुराम-शारदा श्रेष्ठ प्रतिष्ठानद्वारा प्रकाशन भएको हो।
लक्ष्मी माविका संस्थापक प्रधानाध्यापक स्व. परशुराम श्रेष्ठ २०१८ देखि २०४५ सम्म २८ वर्ष सो पदमा कार्यरत हुनुहुन्थ्यो । नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाका संस्थापक सदस्य स्व. श्रेष्ठले शिक्षकहरुको हकहितको लागि २०४०को दशकमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो भने गोरखाको पश्चिमी भेग लगायत लमजुङ र तनहुँ जिल्लाको समेत शिक्षा तथा सामाजिक क्षेत्रमा बिशेष योगदान दिनु भएको थियो । स्थानीय लक्ष्मी माविबाट पेन्सनमा अवकाश लिएपछि पनि उहाँले काठमाडौंमा अवस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा अंग्रेजी बिभागका प्रमुख भई निरन्तर २० वर्ष शिक्षण गर्नुभयो ।
सोही पुस्तक विमोचन कार्यक्रममा उक्त विद्यालयमा कक्षा ११मा अध्ययनरत सोना तुम्सिङ मगर र गोबिन्द तामाङ तथा कक्षा १२ मा अध्ययनरत सुवास कोइराला र कुलमाया श्रेष्ठ गरी चारजना छात्रछात्राहरुलाई परशुराम स्मृति छात्रवृत्ति समेत प्रदान गरिएको थियो । यस्तै गरी स्व. परशुराम श्रेष्ठको घरमा २० वर्ष सम्म सहयोग गरेर पेन्सन स्वरुप उहाँबाट जग्गा प्राप्त गर्ने सहयोगीहरु मध्ये हालसम्म जीवीत श्री गोरे सार्कीलाई विशेष सम्मान र सहयोग गरिएको थियो ।
आयोजकका तर्फबाट बोल्दै प्रतिष्ठानका सचिव हितकाजी श्रेष्ठले यो स्मृति ग्रन्थमा स्व. परशुराम श्रेष्ठका विभिन्न आयामहरूलाई समेटेर उहाँका समकालीन सहकर्मीहरू, पूर्व विद्यार्थीहरू, नातेदारहरू तथा स्व. श्रेष्ठका आलेखहरू समेत संग्रहित भएको बताउनुभयो।
प्रतिष्ठानका सल्लाहकार श्री कल्याणी श्रेष्ठले स्वागत मन्तव्य दिनुहुँदै स्व.परशुराम श्रेष्ठ र उहाँका भाइ स्व. राजेन्द्र श्रेष्ठले सो क्षेत्रको सामाजिक उत्थानमा पूर्याउनु भएको योगदानको पनि स्मरण गराउनुभयो । स्व. श्रेष्ठको परिवारमा उच-नीच, छोरा-छोरी वा छोरी-बुहारी विचका भेदभाव नभएको पनि चर्चा गर्नुभयो।
लक्ष्मी माविका वर्तमान प्र.अ. टिकाराम श्रेष्ठले स्व. परशुराम श्रेष्ठले कसरी सबै हेडमास्टरको पनि हेडमास्टर बन्ने व्यक्तित्व आफ्नै कर्मद्वारै प्राप्त गर्नु भएको थियो भन्ने स्मरण गर्दै उहाँको तत्कालीन प्यारो विद्यार्थी आफू पनि उहाँकै पदचापमा हिंडी उहाँको विरासत कायम राख्न कटिवद्ध भएको कुरा बताउनु भयो।
सम्पादक समितिका तर्फबाट सम्पादक महेशचन्द्र प्रधानले पठाउनु भएको सन्देशमा यस स्मृति ग्रन्थमा आ-आफ्नो लेखहरू पठाउनु हुने विभिन्न लेखक सर्जकहरुलाई हार्दिक धन्यवाद दिंदै यो प्रकाशनले औंलाएका अन्य विविध व्यक्तित्वहरू र क्षेत्रहरुलाई समेत प्रतिष्ठानले अझै सोध अनुसन्धान गरि भविष्यमा अन्य प्रकाशनहरू पाठकहरू माझ ल्याउने छ भन्ने विश्वास ब्यक्त गर्नुभयो। यस पुस्तक प्रकाशनमा प्रतक्ष्य वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै छात्रवृत्ति पाउने बिद्यार्थीहरूलाई बधाईसहित उच्च अध्ययनमा सफलताको शुभकामना दिनुभयो।
नेकपाका केन्द्रीय सल्लाहकार श्री बसन्त बराकोटीले स्व. श्रेष्ठको सादा जीवन, उच्च विचार भएको ब्यक्तित्वबारे प्रकाश पार्दै उहाँले शिक्षा तथा सामाजिक परिवर्तनका लागि गर्नुभएका उदाहरणिय योगदान बारे चर्चा गर्नुभयो। पंचायत कालिन कालरात्रिमा पनि भूमिगत रूपमा सामाजिक न्यायकालागि परशुराम श्रेष्ठले गोरखामा कम्युनिष्ट विचार धाराको बिजारोपण गर्नु भएको उल्लेख गर्नुभयो।
पालुङटार न. पा. वडा नं ६ का वडा अध्यक्ष गोबिन्द बराकोटीले स्व. परशुराम श्रेष्ठलाई सो क्षेत्रकै सर्वश्रेष्ठ अभिभावक तथा सयौं बिद्यार्थीहरूको गुरु हुनुहुन्थ्यो भन्ने स्मरण गर्दै उहाँले स्थानीय अभिभावक र बिद्यार्थीहरू परिचालित गरी विद्यालय भवन निर्माण गर्न निर्वाह गर्नुभएको भूमिकाबारे चर्चा गर्नुभयो। उहाँको पसिनाले सिंचित लक्ष्मी मावि को गुणस्तरीय शिक्षा कायम राख्न सके उहाँ प्रति सही श्रद्धाञ्जली हुने भन्नेबारे आफ्नो सुझावहरू दिनुभयो।
प्रमुख अतिथिको आसनबाट माननिय मन्त्री आचार्यले तत्कालीन अप्ठ्यारो परिस्थितिमा पनि स्व. श्रेष्ठले सामाजिक परिवर्तनका लागि भूमिगत रूपमा कम्युनिष्ट आन्दोलनमा निभाउनु भएको भूमिका बारे स्मरण गर्दै उहाँको भौतिक शरीर नरहेको अवश्थामा पनि उहाँको विचारलाई व्यबहारमा उतार्नु आबश्यक छ भन्ने बारे प्रष्ट पार्नुभयो। बौद्धिक व्यक्तित्वहरूको बिचार र ब्यबहार तथा सत्य र निष्ठालाई मार्गदर्शनको रुपमा अंगिकार गर्नुपर्छ र हरेक नेतृत्वले सो अवलम्वन गरी सामाजिक परिवर्तनका लागि योगदान दिनुसक्नुपर्छ भन्ने कुरा मा जोड दिनुभयो। आफूले पनि स्व. श्रेष्ठको आदर्शलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानका संरक्षक शारदा श्रेष्ठले आमन्त्रित अतिथिहरूलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो भने स्व. परशुराम श्रेष्ठको माहिला छोरा राजु श्रेष्ठले कार्यक्रम आकर्षक रूपमा संचालन गर्नुभएको थियो।
प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले सभापतिको आसनबाट कार्यक्रममा उपस्थित सबैलाई हार्दिक आभार प्रकट गर्दै प्रतिष्ठानको उद्देश्य र भावि कार्यक्रमहरू बारे जानकारी दिनुभयो । आगामी दिनहरूमा पनि सबै जनाको सद्भाव र सहयोगले प्रतिष्ठानको लक्ष्य प्राप्त गर्न सफल हुने विश्वास ब्यक्त गर्नुभयो।
प्रतिक्रिया