लघुकथा -अन्धकार जीवन

रेणु गुप्ता २०७८ पुष ६ गते २३:२५ मा प्रकाशित

रमा सानै उमेरदेखि आफ्नो बढी समय गाउँघर घुमेर तथा अनावश्यक काममा चासो देखाउने गर्थिन्।यसै क्रममा उनको संगत उच्च वर्गका व्यक्तिहरू तथा समवयिकहरूसित हुन पुग्यो।बिस्तारै बिस्तारै उनमा शहरिया रङ्गीचङ्गी भौतिक जीवनमा रमाउने चाहना बढ्दै गयो।

रमा निम्न परिवारकी थिइन्।भौतिक जीवनमा रमाउने चाहनाले उनलाई कुलततर्फ अगाडि बढाउँदै गयो।

एक दिन उनको भेट एउटा धनी ब्यक्तिसँग हुन पुग्यो।दुवैमा एक अर्काप्रति आकर्षण बढ्यो।संगतमा सहजता आयो।निकटता आयो।र,दुवैमा कुनै दुरी बाँकी रहेन।

केही समयपछि रमाले थाहा पाइन्–त्यो ब्यक्ति कसैका लोग्ने र बाबु रहेछ।गाइँगुईँ गाउँमा बढ्न थाल्यो।उनलाई गाउँमा मुख देखाउन पनि लाज भयो।आफ्नो गल्तीको महसुस हँुदा ढिलो भइसकेको थियो।

उनलाई लाग्यो–जीवन अन्धकार भयो।गाउँमा बस्न अप्ठ्यारो हुँदै गएपछि एक रात घरबाट एक्लै निस्केर अँध्यारोमा हराइन्।अन्जान गन्तव्यतर्फ उनका पाइलाहरू अगाडि बढिरहे।

रेणु गुप्ता

रौतहट

प्रतिक्रिया