तिमीलाई ऊ मन पर्दैन

-सरगम भट्टराई २०७८ पुष ५ गते १०:५९ मा प्रकाशित

ओके हस्
फोहोरको डंगुरलाई तिमी अत्तरको पहाड़ भन
बेईमानका नाईकेलाई तिमी सात्विकताका धरोहर भन
तिमी सगरमाथालाई होच्याऊ
बुद्धलाई बदनाम गर
सीतालाई दुत्कार
अरनिकोलाई देशद्रोही भन
पृथ्वीनारायणलाई तानाशाह भन
बलभद्रलाई राष्ट्रघाती भन
अनि
उसलाई नालायक भन
किनकी
तिमीलाई ऊ मन पर्दैन
………..

लूट्नेलाई फूल मालाले सजाऊ
कुट्नेलाई अभिनन्दन गर
फूट्नेलाई जयजयकार गर
चोर्नेलाई सम्मान गर
फोर्नेलाई दोसल्ला ओढाऊ
आकाशलाई धर्ती भन
धर्तीलाई आकाश भन
ईमानलाई बेईमान सावित गर
बेईमानलाई ईमान साबित गर
किनकी
तिमी जन्मेकै यही गर्नका लागि हो
त्यसैले त
तिमीलाई ऊ मन पर्दैन
………..

तिमी उसमा खोट देख्छौ
किनकी तिम्रा नजरहरु बेचिएका छन
तिमीले तिम्रा हैन
तिम्रा मालिकका आँखा लगाएका छौ
त्यो मन तिम्रो हैन
त्यो त केवल मालिकहरुको मन हो
तिमी उसले फालिदिएको एक टुक्रा हड्डी
एक गास कलो र
एक चिम्टी आश्वासनमा बिकेका छौ
तिमी बेईमानमा स्वाभिमान देख्छौ
ईमानमा बेईमान देख्छौ
किनकी
तिम्रा मालिकहरुको साम्राज्य बचाउनु छ तिमीलाई
तिम्रा मालिकलाई हँसाउनु छ तिमीलाई
त्यसैले जोड़ लगाऊ
कतै तिम्रो झूठको खेती बचिहाल्छ कि !
किनकी तिमीलाई
झूठको मचानमा बसेर
सत्य बिरुद्द धावा बोल्ने हुकुम जो छ
अनि पो तिमीलाई ऊ मन पर्दैन

…………..

तर याद राख
ऊ तिम्रा जहरले मर्दैन
किनकी ऊ आफै सती साल हो
न त तिम्रा श्रापले बिलाउँछ
ऊ त तिम्रा मालिकको झूठको जग भत्काउन उठेको छ
ठगको साम्राज्य भत्काउन उठेको छ
आँखा च्यातेर हेर केही क्षणमा
तिम्रा मालिकहरुको झूठको जग हल्लिने छ
त्यहाँ सत्यको जग ठडिने छ
त्यतिबेला तिमी तिम्रा मालिकको
मलामी जानेहरु नपाएर रुनेछौ
बरु अझै जोड़ गर
उसको बदनामीको शंख बजाऊ
कतै तिम्रा मालिकहरुको झूठको पहाड़ थामिन्छ कि !
कतै तिम्रा मालिकहरुको
लूटको जहाज़ केही दिन तैरिन्छ कि
त्यसैले तिमीलाई ऊ मन पर्दैन
……….

त्यसैले
गर,उसलाई अझै गाली गर
पश्चगामी भन,उँधोगामी भन
किनकी शहरमा ऊ उदाएसंगै
तिम्रा मालिकहरुको सूर्यमा ग्रहण लागेको छ
तयार होऊ
अब आउनेछ तिमीलाई निल्ने कालो रात
तिमी मातका वीच कहिल्यै नउठ्ने गरी ढल्नेछौ
त्यसैले भन्छु: यो अन्तिम युद्ध हो
गर, उसलाई बदनाम गर
सर्वष्व गर
कतै तिम्रो झूठको साम्राज्य केही दिन बच्छ कि !
त्यसैले तिमीलाई ऊ मन पर्दैन।

-सरगम भट्टराई

प्रतिक्रिया