गाउँका गन्यमान्य हुन् मणिभद्र।समाज सेवामा पनि रुची राख्छन्।राजनीतिमा पनि जिल्ला तहमा राम्रै दख्खल छ उनको।
“सामाजिक कुरीती अन्धविश्वास हटाउनु पर्छ।बोक्सी प्रथा,दाइजो प्रथा,छुवाछुत नामेट पार्नु पर्छ।युवावस्थामै विधवा हुन वाध्य नारीलाई विवाह गर्न युवाहरु तयार हुनु पर्छ।परिवर्तन हामीबाटै शुरु गर्नु पर्छ।”-जोडतोडले सामाजिक जागरणका कुरा उठाउँछन् मणिभद्र।
मणिभद्रको एक मात्र छोरो हो सुभद्र।
डाक्टरी पास गरेपछि सुभद्र दुर्गम जिल्लाको अस्पतालमा जागीरे छ।बाबुकै सिद्धान्तले प्रेरित सुभद्र स्वेच्छाले नै दुर्गम रोजेको हो।
अस्पतालमा आज ल्याएको विरामी रविनलाई भरमग्दुर प्रयास गर्दा पनि बचाउन सकिएन।
रविन त्यसै अस्पतालकी नर्स सविनाका पति थिए।
डेढ वर्षे बालककी आमा सविना पतिको असामयिक मृत्युले विक्षिप्त बनिन्।
अनाथालयमा हुर्केकी सविनाले त्यहीँबाटै नर्सिङ पढिन्।जागिर खाएपछि रविन सँग विवाह गरेकी थिइन्।
डाक्टर सुभद्रको निरन्तरको मनोसामाजिक परामर्शले सविना सामान्य अवस्थामा फर्किदै छिन्।
“दैव पनि मै माथी किन खनिन्छ ? यो बालकलाई टुहुरो पार्दै मलाई एक्लै छोडि कहाँ बिलायौ ? म फेरी अनाथ भएँ।”–बेला बेला सविना भक्कानिरहन्छिन्।
सविनाको यो हालत देखेर सुभद्र सोचमग्न हुन्छ,भावुक बन्छ।
“विधवा विवाहको लागि युवाहरु तयार हुनु पर्छ।”– बाबुको भनाइ झल्याँस्स सम्झन्छ।
वातावरण मिलाएर सुभद्रले सविनालाई प्रस्ताव गर्छ।
सविना पनि प्रस्ताव स्वीकार गरी ढुक्क हुन्छिन्।
“मेरो यो कदमले बुबा कति खुसी हुनुहुन्छ होला ? उहाँको सिद्धान्तलाई मैले कार्यान्वयन गरेँ।घरमा थाहै नदिइ सरप्राइज दिनु पर्छ।”– यही सोचेर सविना र उसको छोरो सहित सुभद्र घर तर्फ लाग्छ।
“बाबा ममी ! तपाइहरुको लागि अमूल्य उपहार लिएर आएको छु।बाहिर निस्कनु त।”–एक्कासी छोराको आवाज सुनेर खुसी हुँदै दुबै जना बाहिर निस्कन्छन्।
“तपाइहरुकी बुहारी अनि नाति”– सुभद्र हौसिँदै बोल्छ।
“पागल त भएको छैनस् ?”– जङ्गिन्छन् मणिभद्र
सुभद्रले सबै घटनाक्रम बेलिविस्तार लगाउँछ।
“तँलाइ कुलङ्गार नाकै काटिस् ।कहिँ केटी नपाएर यस्ती जात न गोत्रकी राँडी सँग फसिस्।आफ्नो कत्रो सपना थियो? चकनाचुर पारिस्।पर्दैन मलाइ बाबु भन्न, मेरो लागि तँ मरिस् पाजी।”
रिसले आगो भएका मणिभद्र एकोहोरो बर्वराइ रहे।
….. अस्तु ….
प्रतिक्रिया