हस्तलेखन कला देखाएर जीवनयापन गर्दै मनोज चन्द

इनेप्लिज २०७८ पुष २ गते ११:५७ मा प्रकाशित

रौतहट-मानिसमा अनेक प्रतिभा हुन्छन्।कहिलेकाहीँ निकै साधारण लाग्ने प्रतिभाको उपयोगले पनि उसलाई नाम,मान र पहिचान दिन सक्छ।धनगढीका मनोज चन्दको हस्तलेखन कलाले यी सबै कुरा दिएको छ।

विभिन्न विद्यालयमा पुगेर आफूले दाहिने हातले सुल्टो र उल्टो,देब्रे हातले उल्टो र सुल्टो,दुवै हातले एकैचोटि उल्टो र सुल्टो लेखेर विद्यार्थीहरुमाझ आफ्नो हस्तलेखन कला प्रदर्शन गर्दछन्।यसै गरी कुहिनामा कलम च्यापेर,मुखमा कलम च्यापेर र खुट्टाले कलम च्यापेर पनि सजिलै हस्तलेखन गर्न सक्छन्।एकै हातमा तीन ओटा कलम समातेर चन्दले एकैपटक बोर्डमा लेख्दा विद्यार्थीहरु दङ्ग पर्नु स्वाभाविक हो ।

देवनागरी लिपिमा नेपाली र रोमन लिपिमा अंग्रेजी दुवै भाषामा एक साथ फटाफट वर्ण,अक्षर र वाक्य लेखेर विद्यार्थीलाई विस्मित पार्दै चन्द भन्दछन्:हरेक व्यक्तिमा प्रतिभा हुन्छ,त्यसलाई आफूले चिनेर उपयोग गर्नुपर्दछ।कुनै पनि मानिस प्रतिभाविहीन होइन र कुनै पनि प्रतिभा सानो भन्ने हुँदैन।

शुक्रवार गरुडामा आफ्नो हस्तलेखन कलाको जादू देखाएका चन्दले अहिलेसम्म ३ हजार ६०० भन्दा बढी विद्यालयमा पुगेर आफ्नो प्रतिभाको प्रदर्शन गरिसकेको बताएका छन्।नेपालको ७२ जिल्लामा आफू यही प्रतिभा देखाउँदै पुगिसकेको बताउने चन्दले विश्वको विभिन्न २५ मुलुकमा आफू पुगेर आफ्नो प्रतिभाको प्रशंसा प्राप्त गरेको सगर्व सुनाउँछन्।

विद्यार्थीका माझमा कला प्रदर्शन गर्दै कुनै बाध्यात्मक अवस्था होइन तर पाँच दश रुपैया जम्मा गरेर आफूलाई दिन बडो मुस्किलले भन्दछन्।त्यही रकमले आफू एक जना साथीका साथमा देशको कुना कुना र विदेशमा पनि पुगिरहेको बताउँदै चन्दले बालबालिकालाई समयमै आफ्नो प्रतिभाको पहिचान गरेर आफूलाई अरुसमक्ष चिनाउन आग्रह पनि गर्दछन्।

अभ्यास गर्दा गर्दा गर्दै आफूले अनेक किसिमले लेख्न सिकेको बताउँदै चन्दले सफल हुन अभ्यासले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्।

प्रतिक्रिया