विराटनगर,२७ मङ्सिर।शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागु गरेको बाली तथा पशुपंछी बीमाबाट कृषकहरु लाभान्वित भइरहेका छन्।
अस्सी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले व्यहोर्ने बीमा शुल्कका कारण किसानले आफ्ना खेतबारीमा लगाइएको बाली र पालेका पशुपंछीमा कुनै पनि किसिमको हानी नोक्सानी भएमा सरकारले क्षतिपूर्ति गर्ने व्यवस्थाबाट कृषकहरुले मनोबल उच्च भइरहेको पाइएको छ।
आफ्ना मेहनत,परिश्रम र लगानी खर्च भएको यस व्यवसायलाई अझ व्यवस्थित गर्न बीमा कम्पनीहरुले आफ्ना योजनाहरुलाई सहज र सरल बनाउनु पर्ने कृषकहरुको धारणा रहेको छ।
विसं २०६९ साल माघ १ गते सरकारले लागु गरेको बाली तथा पशुपंछी बीमा प्रारम्भमा रु.६२ करोडको बीमा भएको थियो भने आर्थिक वर्ष २०७७÷७८ मा कुल रु.४२ अर्ब पुगेको र आउने वर्षमा करिब रु.५५ अर्ब पुग्ने अनुमान गरिएको छ।देशभरमा २० वटा बीमा कम्पनीहरुले कृषकको लाभमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोद मण्डलले जानकारी दिनुभयो।
निर्जीवन(कृषि तथा पशुपंछी) बीमा कम्पनीहरुसँग परियोजना इकाई मोरङद्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा कृषकहरुले आफ्ना बाली र पशुपंछीको बीमा गरेर आर्थिक भार व्यहोर्नेबाट बच्नु पर्ने सहभागीहरुले जोड दिएका छन्।
कार्यक्रममा किसान कोपिन्द्र सिंह,सोहनलाल राजवंशीले सरकारले लागु गरेको बीमा योजनामा बीमा कम्पनीहरुले आलटाल गर्ने,झन्झट लगाउने र प्रक्रिया पूरा नभएको भनेर धेरै पटक कार्यालय धाउन बाध्य पार्ने गरेको गुनासो गर्नुभयो।
सो अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले सरकारले लागु गरेको बीमा योजनाबाट आम कृषकहरुले लाभ लिन ऐन, निर्देशिका र कार्यविधिको पनि अध्ययन गर्नु पर्ने सुझाव दिनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई मोरङका प्रमुख विनोद मण्डलले बीमा टाठा बाठालाई मात्र नभएर सर्वसाधारण कृषकको लागि पनि भएकोले यसतर्फ बीमा कम्पनीहरुको ध्यान जानु पर्ने बताउनुभयो।
कार्यक्रमा वरिष्ठ कृषि प्रसार अधिकृत शिवकुमार मण्डलले कृषि बाली तथा पशुपंछी बीमा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने परियोजना झापाका प्रमुख रविन्द्र सुवेदी सानीमा इन्सुरेन्स कम्पनीका प्रवीण कोइराला,वरिष्ठ कृषि अधिकृत हिक्मत श्रेष्ठ,बीमा कम्पनीकै खड्ग श्रेष्ठले पनि बाली तथा पशुपंछी बीमाका उपादेयता बारेमा प्रकाश पार्नुभएको थियो।
प्रतिक्रिया