क्वारेन्टाइन पढेपछि

-पुष्पराज पौडेल २०७८ मंसिर २७ गते २:०० मा प्रकाशित

पदम विश्वकर्माले लेख्नु भएको उपन्यास क्वारेन्टाइन पढेपछि केही लेख्न मन लाग्यो।कोभिड -१९ को विश्वमहामारीमा अनुभव गरिएको जीवन्त दस्तावेज रहेछ यो।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष विश्वकर्माको प्रस्तुत उपन्यास सरल,पठनीय र उपयोगी छ।विशेषतः नेपाली समुदायले अमेरिकाजस्तो वैभवशाली देशमा विश्वमहामारीका बेला भोगेका पीडा समेटिएको छ यसमा।

सांग्रि-ला बुक्सले प्रकाशन गरेको यस पुस्तकमा स्वदेश तथा विदेशमा भोगेको यथार्थ वेदना प्रस्तुत छ।कोरोना कहरले आक्रान्त विश्व तङ्ग्रन अझै कति समय लाग्ला,कसैलाई थाहा छैन।त्यसतर्फ सतर्क बन्ने दिशावोध गरेको छ उपन्यासले।वास्तवमा मानवजातिकै पीडाको सजीव वणर्न छ यसभित्र।कतै मानव अस्तित्व नै सकिने हो कि भन्ने डर मौजुदा छ विश्वभर।संसार नै त्रासमा बाँचेको छ।अकालमा नमर्नुपर्ने कैयौँ मरे,आन्तरिक रोग वा उमेरका कारण मर्ने बेला हुन लागेका पनि यस सरुवा विश्वमहामारीको चपेटामा परी कष्टसाथ मरे।

अमेरिकाका अस्पतालमा लासका खातैखात देख्नुपर्दा लेखकजस्ता जोसुकैको पनि मन भक्कानिने नै भयो।मृत्युको मुखमा पुग्दा वा लास बनेपछि पनि आफन्तले नै देख्न भेट्न नपाउने अवस्था कति दुःखदायी होला !  यसरी अनाहकमा दुःख भोग्नुपरेको, जीवन ठप्प भएको, कलिलो उमेरमै लाखौँ मानिस कालको गाँस बनेकोे क्रन्दन यहाँ प्रतिविम्बित छ।उपन्यास पढिसक्दा लाग्छ, भाषा मिठो, करुण भाव र सरल शैलीमा साहित्यकारको कलम चलेको रहेछ क्वारेन्टाइनको पीडामा।

समष्टिगत हिसावमा भन्नुपर्दा पुस्तक ज्यादै राम्रो र उपयोगी छ। १८४ पृष्ठको यस उपन्यासको मूल्य रु. ३७५ .०० रहेछ । वर्तमानमा नेपाली समाज जो जहाँ भए पनि पहिचान र कर्तव्यमा डटेको छ तथापि माानव समाजलाई गाँजेको यस स्वास्थ्य समस्याबाट अछुतो कोही हुन सकेन।

अमेरिकाको कोलोराडोलाई कर्मभूमि बनाउँदै त्यहाँ भोगेको र देखेजानेकोे मर्मलाई समेटेर आफ्ना अनुभवको पोको फुकाएजस्तो लाग्छ उपन्यासकारले।वस्तुतः वर्तमान विश्व समस्यालाई नै प्रतिनिधित्व गरेको छ यसले।

उहाँकै संस्मरणझैँ परिवारका दाजुभाइ,दिदीबहिनी,आमाबा र बाबुनानीहरूको भोगाइ,व्यथा,कथा र चिन्ता उपन्यासको संरचनामा पस्किएको देखिन्छ।विश्व अर्थतन्त्रको पहिचानदेखि नेपाली चरित्रसम्म यसमा झल्कन्छ।माया र प्रेमको झिनो तर गुढ रहस्य ग्रहण गर्न सकिन्छ यस उपन्यासबाट।

मूल पात्र विनय तथा अन्य  पात्रको अवस्था,विचार र व्यवहारबाट मर्मस्पर्शी कुराहरू पोखिएको छ।अङ्ग्रेजी शब्द र वाक्यांशलाई नेपाली बोलीमा उतार्ने कठोर जमर्को पनि देखिन्छ।गैरआवासीय नेपाली जनमनको बोलीजस्तै लाग्छ वास्तवमा पुस्तक गहिरिएर पढ्दा।क्वारेन्टाइन नेपाली परम्परागत सांस्कृतिक प्रचलनको द्योतक रहेछ मान्छे मर्दा गरिने काजकिरियाको स्वच्छता व्यवस्थापनसँग  सामञ्जस्य राख्ने।वैज्ञानिक जगत्को स्वास्थ्य सुरक्षा र सतर्कताका उपायहरू ( श्वासप्रश्वासमा स्वच्छ रहन नाकमुखमा मास्कको प्रयोग, सामाजिक दूरी कायम,साबुन पानीले हात धुने वा स्यानिटाइजरले हातको सफाइदेखि प्रतिरक्षाखोपसम्मको प्रयोग) सम्बन्धी धेरै ज्ञान र सूचना पनि दिएको छ पाठकलाई ।

कट्टर लाग्ने कतिपय पूर्वीय चलनहरू यस्तै समस्याबाट मानवलाई बच्न र बचाउन नै चलेको हुनुपर्दछ । त्यसैले प्रस्तुत उपन्यासको कथावस्तुसँगै देखापर्ने भौतिक  र मानवीय व्यवहारद्वारा क्वारेन्टाइनले सार्थकता प्राप्त गरेको महसुस हुन्छ।

कविता र कथा विधाबाट उपन्यासतर्फ पाइला चाल्ने नेपाली साहित्यकार विश्वकर्माले नेपाली युवा किन र कसरी विदेशिन्छन् भन्ने चिन्ता र तथ्यलाई पनि यसमा सङ्केत गरेका छन्।कोरोनाजस्ता समस्याले ग्रस्त भई विदेशमा दुःख पर्दा सहयोग गर्ने प्रवृत्ति गैरआवासीय नेपाली समुदायको विशिष्ट पहिचान बनाएकोे उल्लेख छ।

स्वास्थ्य क्षेत्रको दुर्दशा पोख्ख्दापोख्दै विभिन्न मानवीय संवेदना र सम्भावनाका पहल गर्न भुल्न नहुने तथ्य यहाँ लुकेको छ।इतिहासका कालखण्डमा मानव समाजले यस प्रकारका विश्वमहामारी धेरै व्यहोरेको र भविष्यमा पनि अनपेक्षित त्रासदिका लागि पूर्वतयार रहनुपर्ने सन्देश यसले दिन्।

क्वारेन्टाइनमा व्याकरणगत त्रुटि शायदै होला । टाइपको सामान्य गल्ती १-२ भन्दा बढी देखिएन।कहिलेकाहीँ एउटै अक्षरले पनि अर्थमा व्यापक परिवर्तन वा उल्टोपाल्टो नै गरिदिन्छ; हुनु मा अगाडि न थपे नहुनु भनेजस्तै ।कतिपय अङ्ग्रेजी शब्द र वाक्यांशलाई जस्ताको तस्तै व्यक्त गर्नुको सट्टा नेपाली शब्द खोज्न सकेको भए अझ राम्रो हुन्थ्यो होला भन्न नसकिने होइन।

जीवाणु र  विषाणुको भेद स्पष्ट देखाउनु पनि आवश्यक थियो भन्ने लाग्छ।संरचनागत पक्षमा भन्नुपर्दा ज्यादै लामो परिच्छेदलाई छुट्याएको भए र ज्यादै छोटालाई सान्दर्भिकताबमोजिम केही लम्ब्याएको भए अझ राम्रो लाग्न सक्थ्यो होला ।

यस प्रकारका तर्क र सुझावप्रति लेखकका आफ्नै दृष्टिकोण वा वाध्यता हुन सक्लान् तापनि अर्को संस्करणमा यस्ता कुरामा पनि थप ध्यान जाने विश्वास छ।

अन्तमा,उपन्यासले दिएको सन्देश हो कोरोनाको असर विविध रूपमा जनधनको समकालीन विनासमा मात्र सीमित रहेन, बरु दीर्घकालीन चुनौती बनेको छ मानव मात्रका लागि । इतिहासमा कहिले विश्वयुद्धहरू त कहिले यस्तै विश्वमहामारी भोगेको मान्छे विवश छ आज पनि वैज्ञानिक आविस्कार र चमत्कारहरूका बीचमा।जन्म र मृत्युको दोसाँधमा झिनो आशा र विश्वास लिँदै मान्छेको जीवन चलिरहेछ।बाबुआमा, छोराछोरी , छिमेकी, आफन्त र साथीभाइको आवश्यकता र महŒव, कर्तव्य, दया, माया यस्तै दुःखमा बुझिन्छ।

सरकार र समाजसेवीको पहिचान यसै वेला हुन्छ।नेपाली समुदाय प्रवासमा यस्तै समस्यासँग जुध्दै क्रियाशील पनि छ।उपन्यासले यी सबै पक्षलाई जोडतोडले समेट्न पुगेको छ।यसको मर्मलाई आत्मसात् गरेर फाइदा लिने क्षमता पाठकको रुचि र प्रयासमा भर पर्नेछ । त्यसैले पनि सफल महसुस हुन्छ उपन्यासको सजीव चित्रण।उपन्यासकार र सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना।

-पुष्पराज पौडेल

 

प्रतिक्रिया