महामन्त्रीका उम्मेदवार गगन थापाको दाबी : हामीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको आशीर्वाद छ (भिडिओसहित)

इनेप्लिज २०७८ मंसिर २६ गते १७:५१ मा प्रकाशित

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता गगनकुमार थापाले पार्टीको महामन्त्री पदका उम्मेदवारहरुले आफूलाई ‘धन्यवाद’ दिनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–“तेह्रौं महाधिवेशनमा म बीपी कोइरालाका पुत्र शशांक कोइराला र सिनियर नेता (अर्जुननरसिंह केसी) सँग महामन्त्री पदमा नलडेको भए अहिलेका सबैजसो उम्मेदवार सहमहामन्त्रीमा लडिरहेका हुन्थे । भोलि हामीसँगै सभापतिमा उठ्न पाउनुहुन्छ । त्यसैले महामन्त्रीमा लड्ने साथीहरुले मलाई धन्यवाद दिए हुन्छ ।”

अघिल्लो पटक बूढाले नछाड्ने, नयाँ अघि नबढ्ने स्थितिमा आफू महामन्त्रीमा अघि बढेको नेता थापाले बताए । उनले भने, “मैले नेपाली कांग्रेसको सदस्यता लिएको नै ३० वर्ष भइसकेछ । मलाई अझै पनि युवा भनिरहनुभएको छ । नेतृत्वको जाम हटाउन मैले अघिल्लो महाधिवेशनमा तयारी गरेँ । यस पटक सफल हुने विश्वास छ । चौधौं महाधिवेशनले कांग्रेसमा नेतृत्व परिवर्तन गर्छ ।”

थापाले आफू नेपाली कांग्रेसलाई धार दिन सक्ने महामन्त्रीको उम्मेदवार भएको जिकिर पनि गरे । उनले भने, नेपाली कांग्रेसको विधानले महामन्त्रीलाई राजनीतिक लाइनको प्रस्तावक, संगठनको नेतृत्वकर्ता र व्यवस्थापकको जिम्मेवारी दिएको छ । त्यसे अनुसार मैले समुन्नत नेपालको कार्यक्रम महाधिवेशन प्रतिनिधिसमक्ष राखेको छु । मेरो उद्देश्य अब्बल व्यवस्थापन भएको पार्टी बनाउने हो ।

उनले थपे, “तथापि महामन्त्री मुख्य नेतृत्व होइन । पार्टी सभापतिले महामन्त्रीको स्पिरिट बुझ्यो भने मात्र त्यो सम्भव हुन्छ । डा। शेखर कोइरालासँग मिलेर काम गर्न सजिलो हुन्छ भनेर हामीले धनराज गुरुङ, चन्द्र भण्डारी, मीनेन्द्र रिजालसहितको लोभलाग्दो टिम बनाएका छौं । हामीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको आशीर्वाद छ । शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी सबै यही टिममा हुनुहुन्छ ।”

उनले कांग्रेसमा सानोतिनो प्वाल टालेर नहुने र ठूलो डिपार्चर चाहिएको बताए । थापाले भने, “पार्टीभित्र प्रत्येक उम्मेदवारले आफूले के गर्ने भन्ने कुरा राख्नुपर्छ । मैले पनि भोलि के गर्ने भनेर कुरा राख्ने हो । हामीले अन्तिम समयसम्म साझा उम्मेदवारीको प्रयास गर्यौं । त्यो नसक्दा मन खिन्न त भएको छ । तर राजनीतिमा सधैं सोचेजस्तो हुँदैन । म कसैलाई दोष दिन चाहन्न । मैले त कृष्ण सिटौलालाई पनि जोड्न खोजेको हुँ । उहाँ केन्द्रीय सदस्यमा पनि चुनाव लड्नुभएन तर उहाँको प्रतिभालाई पार्टीले उपयोग गर्नुपर्छ । हामीले बेस्ट निर्णय गरेका छौं । अब नेपाली कांग्रेसमा जो छानिए पनि कांग्रेस नै छानिने हो । उही नेता हुने हो ।”

अब रुखमा कहिल्यै भोट नहालेको, पहिलो पल्ट भोट हाल्ने १५ लाखलाई नयाँ कांग्रेस नबनाए पहिलो पार्टी बन्न नसक्ने उनले बताए । उनले भने, “स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको सरकार बनाउने भनेर मात्र हुँदैन । अहिलेको स्थितिमा हामीले अब रुखमा कहिल्यै भोट नहालेको, पहिलो पल्ट भोट हाल्ने १५ लाखलाई नयाँ कांग्रेस नबनाए पहिलो पार्टी बन्न सकिँदैन, बहुमतको कुरा छाडिदिऊँ । हामीले कांग्रेसलाई पुरानो अवस्थामा फकाउने होइन, पार्टीलाई नयाँ ढंगले रुपान्तरण गरेर अघि बढाउने हो ।”

प्रतिक्रिया