कार्यस्थलमा महिनावारी: व्यवसायको उत्पादकत्वमा वृद्धि

इनेप्लिज २०७८ मंसिर २३ गते ११:०६ मा प्रकाशित

काठमाडौं। खानेपानी, सरसफाई र स्वच्छता साझेदारी तथा दिगोपनाका लागि सिकाई (वासपल्स) अन्तर्गत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युएसएआईडिको आयोजनामा ‘कार्यस्थलमा महिनावारी: व्यवसायको उत्पादकत्वमा वृद्धि’ कार्यक्रम सम्पन्न भएको छ। नेपालका प्रतिष्ठित १ सयभन्दा बढी व्यवसायीहरुको सहभागितामा काठमाडौंमा आयोजित उक्त कार्यक्रम गत सोमबार, डिसेम्बर ६ मा सम्पन्न भएको हो।

परम्परागत नेपाली समाजमा महिनावारीको रगतलाई फोहोर रगतको रुपमा लिइन्छ भने महिनावारीलाई पापको संज्ञा दिइन्छ। जसले गर्दा समाजमा महिनावारी एउटा लाजको विषय बनेको छ र त्यही लाजका कारण महिनावारी सम्बन्धि खुलेर बोल्न नपाउँदा महिलाहरुले अनेक समस्या झेल्नुपर्ने स्थिति छ। कामकाजी महिलाहरुको सन्दर्भमा हेर्दा, न त कार्यालयले बिदा दिने गरेका छन् न त महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नै उपलब्ध गराएका छन्।

यसै सन्दर्भलाई लिएर युएसएआईडिले आइरिस ग्रुपसंगको सहकार्यमा कार्यस्थलमा महिनावारी व्यवस्थापन सम्बन्धि अनुसन्धानमूलक तथा परिणाममुखी कार्यक्रम गरेको थियो। जसको परिणाम र विश्लेषण सोमबार आयोजित कार्यक्रममा प्रस्तुत गरीएको हो।

काठमाडौंका दुई गलैंचा उद्योग, सांग्रिला कार्पेट्स र मिल्हा कस्टम रग्समा पाइलट कार्यक्रमको रुपमा अनुसन्धानमुलक कार्यक्रम गरिएको थियो। जसमा ती दुई उद्योगमा कार्यरत महिला तथा पुरुष कर्मचारी र उद्योग संचालक समेतको महिनावारी सम्बन्धि बुझाई, त्यहाँ महिनावारी व्यवस्थापनका लागि गरिएका प्रयास, महिला कर्मचारीहरुको काम गर्ने क्षमता तथा त्यहाँको उत्पादकत्व लगायत विषयमा अनुसन्धान गरिएको थियो। प्रारम्भिक अनुसन्धान पछि ती उद्योगमा महिनावारी सम्बन्धि सचेतना कार्यक्रमहरु गरीए। र, अन्तिम अनुसन्धानसम्म पुग्दा ती उद्योगहरुमा शौचालय र पानीको उचित व्यवस्था, महिनावारी व्यवस्थापनका लागि आवश्यक सामग्रीको पर्याप्त उपलब्धता पाइयो। त्यसैगरी महिनावारी सम्बन्धि भ्रम तथा अन्धविश्वास हटेको पाइयो र महिलाहरु महिनावारी सम्बन्धि खुलेर बोल्न सक्ने भए भने पुरुषहरुमा महिनावारी सम्बन्धि बुझाई बृहद भयो।

यो परिवर्तन उद्योगको समग्र उत्पादकत्वमा समेत देखा पर्यो। काममा महिला कर्मचारीको उपस्थिति बढ्यो, स्वास्थ्य अवस्था सुध्रिएको र काम गर्ने क्षमतामा वृद्धि भएको देखियो। उनीहरुमा कम्पनीप्रतिको इमान्दारीता र कामप्रतिको आत्मसन्तुष्टि समेत बढेको पाइएको थियो। जसले गर्दा उद्योगको समग्र वातावरण र प्रगतिमै ठूलो सकारात्मक परिवर्तन देखा पर्यो। उक्त परिणाम सोमबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुमाझ प्रस्तुत गरिएको थियो, जसबाट प्रभावित हुँदै व्यवसायीहरुले महिनावारी स्वच्छता व्यवस्थापनलाई आफूहरुले पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा दिल बहादुर गुरुङ प्रमुख अतिथिको रुपमा रहनुभएको थियो। गुरुङले कार्यस्थलमा महिनावारी व्यवस्थापन जस्तो नौलो र गम्भीर विषय उठान गरिदिएकोमा युएसआईडिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले कार्यक्रमको प्रशंसा गर्दै त्यहाँ प्राप्त सिकाईलाई सरकारी तवरमा लगिने तथा सरकार र नीजी क्षेत्र मिलेर यसका लागि प्रभावकारी काम गर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रमका अतिथि तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य माननीय डा उषा झाले महिनावारी सम्बन्धि यसरी छलफल तथा कार्यक्रम संचालन गरिनु भने खुशीको कुरा रहेको बताउँदै यी प्रयासहरुलाई सरकारी तथा निजी क्षेत्रले अनुसरण गर्नुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपालका लागि युएसआइडि मिसन डाइरेक्टर सेपिडे केभान्शाडको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उहाँले पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायलाई अगाडी ल्याउँदै आर्थिक तथा सामाजिक उन्नति गर्नका लागि युएसएआईडिले निजी क्षेत्रसंग सहकार्य गरिरहेको बताउनुभयो। समुदाय प्रति संघसंस्था तथा निजी क्षेत्र सबैको साझा जिम्मेवारी रहेको बताउँदै उहाँले भन्नुभयो, ” मलाई विश्वास छ, कार्यस्थलमा महिनावारी स्वच्छता व्यवस्थापन विषयमा र यसको महत्त्वको बारेमा व्यवसायी वर्ग, सरकारी क्षेत्रका व्यक्तित्वहरु लगायत हामी सबैलाई आज केही सिक्ने अवसर मिलेको छ। यो सिकाईलाई मनन गर्दै हामी सबै मिलेर कार्यस्थलमा महिनावारी स्वच्छता व्यवस्थापनका लागि प्रभावकारी कामगर्नुपर्छ, किनकि यो कर्मचारी मात्र नभएर कार्यालय तथा व्यवसायसंग पनि जोडिएको छ “।

त्यसैगरी आइरिस ग्रुपका तर्फबाट कार्यक्रम निर्देशक मिहाल अवनीले नेपालमा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमबाट प्राप्त नतिजा नेपालको निजी तथा सरकारी क्षेत्र दुवैमा कार्यान्वनमा आउने आशा समेत व्यक्त गर्नुभयो। त्यसैगरी नेपालका लागि कार्यक्रम प्रमुख मानिसका एलियाताम्बेले सम्पूर्ण टिम तथा सहभागी प्रति आभार व्यक्त गर्दै कार्यक्रमबाट प्राप्त नतिजाले उत्साह थपेको बताउनुभयो । उहाँले उक्त नतिजालाई मनन गर्दै नेपालका व्यवसायी, उद्धमी तथा सरकारी क्षेत्रले कार्यक्रमलाई अवलम्बन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा छलफल सत्र पनि संचालन गरिएको थियो। छलफल सत्रको सहजीकरण नेपाल महिला उद्धमी संघकी उपाध्यक्ष निरु रायमाझी खत्रीले गर्नुभएको थियो। त्यसैगरी उक्त सत्रको वक्ताहरुमा एमएचएम पार्टनर्स अलायन्सका गुण राज श्रेष्ठ, काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सका डा अञ्जना डंगोल, सांग्रिला कार्पेट्सका संचालक दोर्जे लामा र नेपाल सीआरएस कम्पनीका जीवलाल पोखरेल रहनुभएको थियो।

एमएचएम पार्टनर्स अलायन्सका गुण राज श्रेष्ठले महिनावारीको समयमा प्रयोग हुने सेनेटरि प्याडको उपलब्धता र यसको मूल्यलाई ध्यानमा राख्दै आफूहरुले नेपालमै प्याड उत्पादनका लागि जोड दिएको र यसका लागि व्यवसायीहरुसंग कुराकानी समेत भइरहेको बताउनुभएको थियो। अर्का वक्ता डा अञ्जना डंगोलले कार्यक्रमका दौरान मिलेका अनुभव र महिला स्वास्थ्यका बारेमा जानकारी गराउनुभएको थियो। त्यसैगरी वक्ता दोर्जे लामाले कार्यक्रमले आफ्नो उद्योगमा पारेको प्रभावका बारेमा उल्लेख गर्दै सहभागी व्यवसायीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम संचालनमा ल्याउन आग्रह गर्नुभएको थियो। त्यसैगरी नेपाल सीआरएस कम्पनीका जीवलाल पोखरेलले उद्योग, व्यवसाय तथा कार्यालयहरुमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम संचालनका लागि सहयोग आवश्यक परेमा आफूहरु सहयोगका लागि सधै तत्पर रहेको बताउनुभयो।

वासपल्स २०१६ देखि २०२१ सम्मको, पाँच वर्षे कार्यक्रम हो। यसले पर्यावरण, स्वास्थ्य र दिगोपनाका लागि विभिन्न कार्यक्रमहरु संचालन गरेको छ।

शाभार :Himalayan Kangaroo (https://himalayankangaroo.com/2021/12/08/113139/

प्रतिक्रिया