पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न

इनेप्लिज २०७८ मंसिर २० गते ११:२१ मा प्रकाशित

मङ्सिर २०,काठमाडौँ-पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने,अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने,युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन्।पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले विभिन्न सुझावहरू राखे।

प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडियामाथि धेरै प्रश्न उठने गरेकाले चुनौतीका पहाड चिर्दै अघि बढ्ने बताउनुभयो।उहाँले पत्रकार आचारसंहिताले गर्न हुँदैन भनेको कार्यलाइ गर्ने परिपाटीले पत्रकारिता बदनाम बन्दै गएको बताउनुभयो।

पत्रपत्रिकाको वर्गीकरण लामो समयसम्म रोकिदा स्वरोजगारमुलक पत्रिकालाई समस्या परेकाले वर्गीकरणको नतिजा छिट्टै आउने स्पष्ट पार्नुभयो।अध्यक्ष बस्नेतले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको,विना दर्ता चलेका अनलाइनलाई दर्ताको लागि ताकेता हुने गरेको, युट्युवको कानुन नभएपनि काउन्सिलले विषयवस्तु हेरेर कारबाही गर्दै आएको उल्लेख गर्नुभयो।


काउन्सिलका सदस्य चिरञ्जीवि मास्केले उपत्यकाका पत्रकार भन्दा मोफसलका पत्रकार बढी जिम्मेवार भएको अनुभव राख्नुभयो।

पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईँले देशको समग्र पत्रकारितालाई उपत्यकाले प्रतिनिधित्व गर्ने भएकाले जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभयो।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलमा सबै सञ्चार माध्यमको अभिलेखिकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था गरिएको भन्दै भ्रम फैलाउने सामाजिक सञ्जाललाई तीनको कार्यालयमा सो विषयमा जानकारी गराउन थालिएको बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले उपत्यकामा पत्रकार आचारसंहिता पालना शीर्षकमा प्रस्तुति राख्दै उपत्यकामा मिडिया धेरै हुनुको कारण,पत्रकार आचारसंहिता पालनाको अवस्था र प्रभाव लगायतका विषयमा चर्चा गर्नुभयो।उहाँले पत्रकारिताको धर्म पालना गर्नसके मात्र आचारसंहिता उल्लङ्घनमा कमी आउने बताउनुभयो।

काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले पत्रकार आचारसंहिताको अवधारणा,नेपालमा आचारसंहिताको इतिहास, पत्रकार र सञ्चार माध्यमको कर्तव्यबारे प्रस्तुति राख्नुभयो।उहाँले काउन्सिलले गर्ने गरेको कारबाही र निर्णय,खण्डन ध्यानाकर्षण,क्षमायाचनाको निर्देशन,सचेतताको लागि पठाइने पत्रजस्ता विषयमा प्रकाश पार्नुभयो।

उहाँले सञ्चार माध्यम र पत्रकारले आचारसंहिता उल्लङ्घन गरेमा प्रेस पास निलम्बनको सिफारिस देखि,अनलाइन बन्द गरिने,लोकल्णकारी विज्ञापन राक्ने तथा कालोसूचीमा राख्नेसम्मको अभ्यास भएको जानकारी दिनुभयो।उहाँले विभिन्न अनलाइन,रेडियो,पत्रिका र टेलिभिजनमा आएका सकारात्मक र नकारात्मक सामग्रीको उदाहरण दिनुहुँदै काउन्सिलमा आएका उजुरीको सङ्ख्या,कारबाही, अनलाइन उजुरी प्रणाली तथा काउन्सिलले गर्दै आएको स्वअनुगमनबारे जानकारी दिनुभयो।

वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले आचारसंहिता पत्रकारको मुल मन्त्र भएकाले कार्यान्वयन र व्यवहारगत अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो।

वरिष्ठ पत्रकार देवेन्द्र चुडालले राजनीति नसुध्रेसम्म स्वस्थ पत्रकारिता हुन नसक्ने भन्दै राजनीति सफा भएमा पत्रकारिता स्वच्छ हुने धारणा राख्नुभयो।

वरिष्ठ पत्रकार हरि लम्सालले पत्रपत्रिकाको वर्गीकरण समयमा नै गर्न सुझाव दिनुभयो।

पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सुचनाको हक कार्यान्वयन हुनसके मात्र देशमा सुशासनको प्रत्याभूति हुने बताउनुभयो।

कार्यक्रमको सहजिकरण एवं सञ्चालन मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभयो । काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे,वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल लगायतका उपत्यकाका ३ वटै जिल्लाका पत्रकारहरूको कार्यक्रममा उपस्थिति थियो।

 

प्रतिक्रिया