प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको–मुख्यमन्त्री राई

इनेप्लिज २०७८ मंसिर १४ गते २३:४४ मा प्रकाशित


विराटनगर,१४ मङ्सीर।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ।

प्रदेश नं १ आइटिफ तेक्वाण्डो सङ्घको २० औं बार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित उत्कृष्ट महिला र पुरुष खेलाडी,प्रशिक्षक,जिल्ला र डोजाङलाई सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले खेलकूदलाई प्रविधिसंग जोडी व्यवसायिकरण गरी आय आर्जनको माध्यम बनाउनमा विशेष ध्यान दिने धारणा राख्नु भयो।

मुख्यमन्त्री राईले ताइकाण्डोले दक्षिण एशियाली खेलकूद र एसियन खेलकूद प्रतियोगितामा नेपालले सवैभन्दा धेरै पदक जित्न सफल भएको स्मरण गराउनु हुदै ओलम्पिक प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ कार्य गर्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो।

उहाँले प्रदेशका दुर्गम क्षेत्रमा खेलकूद सामाग्रीको अभावका कारण खेलाडीहरुको प्रशिक्षणमा समस्या भएको चर्चा गर्दै आगामी दिन सरकारले यसका लागि थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले प्रदेशमा खेलकूद अधिकतम प्रतियोगिता गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिदै बजेटको सही ढंगले सदुपयोग गर्न आग्रह गर्नु भयो।

प्रदेशका मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठले खेलकूदको विकासका लागि आवश्यक बजेटको व्यवस्थाका लागि कानून परिमार्जन गर्ने विश्वास दिलाउनु भयो ।

आइटिफका तेक्वाण्डोका प्रदेश अध्यक्ष प्रवीणकुमार कार्की,नेकपा एकिकृत (समाजवादी)का पोलिटव्यूरो सदस्य महेश रेग्मी, आइटिफएकका प्रदेश उपाध्यक्ष चतुरलाल चौधरी र रविन नगरकोटीले राष्ट्रको पहिचान दिलाउन ताइकाण्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश उत्कष्ट महिला खेलाडीमा झापाकी दीक्षा लिम्वु,पुरुष खेलाडीमा झापाका मिशन श्रेष्ठ,प्रशिक्षकमा राजेन्द्र धिमाल मोरङ,उदयमान प्रशिक्षक नितेश खवास मोरङ,उत्कष्ट जिल्लामा सुनसरी र उत्कृष्ट डोजाङमा मोरङको कानेपोखरीलाई सम्मान गर्नु भएको थियो।

आइटिफ प्रदेशको १२ जिल्लामा चार सय महिला सहित एक हजार एक सय खेलाडीले दैनिक प्रशिक्षण लिइरहेका छन्।

संङ्घले बार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी रुपमा विभिन्न जिल्लामा प्रतितियोगिता,रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।

प्रतिक्रिया