‘कमरेड केपी शर्मा ओलीको विकल्प छैन्, यो कुरा दुनियाँले बुझेको छ’ : पद्यमा अर्याल (भिडिओसहित)

इनेप्लिज २०७८ मंसिर ९ गते १९:३५ मा प्रकाशित

नेकपा (एमाले) की नेतृ तथा पूर्वमन्त्री पद्यमा अर्यालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबा प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्–‘कमरेड केपी शर्मा ओलीको विकल्प छैन् । यो कुरा दुनियाँले बुझेको छ । हामीले पनि पहिलेदेखिनै भन्दै आएको कुरा यही नै हो । संवाद चल्दै थियो चाहना प्रकट गर्ने थलो हो । कमरेड भीम रावलले चाहना प्रकट गर्नुभएको छ । संवादमा बसिरहदा उहाँ आफ्नो ठाउँबाट ब्याक हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ । तर, ब्याक नहुँदा पनि नतिजा के आउँछ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यसैले अहिलेको नेतृत्व केपी शर्मा ओली नै हो । उहाँको विकल्प खोज्ने आजको अवस्था हुँदैहोइन् । किनभने हाम्रो पार्टीको अगाडि अहिले गम्भिर खालका समस्याहरु रहेका छन्, चुनौतीहरु रहेका छन् । त्यी समस्याहरुको सामना गर्नको लागि कमरेड केपी ओलीनै नेतृत्वमा हुनुपर्छ ।’ प्रस्तुत छ नेतृ अर्यालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भोलि (मंसिर १०) गते उद्घाटन हुँदैछ, यस महाधिवेशनमा महिला नेतृहरुका मुख्य एजेण्डा के छन् ?

वास्तावमा नितिगत रूपमा हामीले विधान महाधिवेशनमा यसबारे छलफल गरेर त्यो पारित भइसकेको अवस्था रहेको छ । त्यसैले समावेशी हिसावले नेकपा (एमाले) कसरी अगाडि बढ्छ भन्ने कुरा हामीले अघिल्लो विधान महाधिवेशनमा नै टुङ्ग्याईसकेको हुँदा यसपटक बहस र छलफल गर्ने कुरा केहीपनि रहेन् । अब भोलिदेखि हुने महाधिवेशनको मुख्य कुरा भनेको नेतृत्व चयन नै हो । अब नेतृत्व चयनसँगै जोडेर नेकपा (एमाले) ले प्रतिनिधि छनोटदेखि नै हेक्का पुर्याउनुपर्छ भनेर प्रतिनिधि छनोटमा पनि महिलाहरुको संख्यामा बढोत्तरी गर्नको निम्ति एक खालको प्रावधान बनायौं । त्यही प्रावधानअनुसार अहिले हाम्रो ३० प्रतिशत महिला प्रतिनिधिहरु महाधिवेशनको निम्ति छानिनुभएको छ । अब कमिटी चयनमा पनि हामीले विभिन्न सेक्टरबाट समावेशी सिद्धान्तको आधारमा विभिन्न सेक्टरहरु छुट्याएर त्यस सेक्टरमा हामीले विभिन्न आरक्षणको व्यवस्था गरेर अगाडि बढेका छौं । त्यसैले विगतको महाधिवेशनबाट चुनिएका नेतृत्वभन्दा यसपटकको महाधिवेशनमा चुनिने नेतृत्वमा महिलाहरुको संख्या उल्लेखनीय हुने कुरा निश्चित् भएको छ ।

तपाईंहरु वैचारिक बहसमा चाहीँ कुनै एजेण्डा लिएर जानुभएको छैन्, तर को नेतृत्वमा जाने भन्ने कुरामा मात्र किन होडबाजी गर्नुहुन्छ ?

त्यसो होइन् । यो राष्ट्रिय महाधिवेशनको मूल उद्देश्य भनेको नै नेतृत्व छनोट हो । त्यसैले हामी अहिलेको अवस्थामा नेतृत्व चयनको विषयमा नै छलफल गरेर अगाडि बढ्छौं । पार्टीको हिसाबमा के कुरा उपयुक्त हुन्छ त्यही नै हुने हो । धेरै कार्यकर्ताहरु हाम्रो बीचमा हुनुहुन्छ । हजारौं कार्यकर्ताहरुको व्यवस्थापनसँग जोडिएर छलफल गर्नुपर्ने अवस्था रहेको छ ।

पदाधिकारीमा पनि तपाईंहरु अब प्रतिस्पर्धा गर्न तयार हुनुभएको हो ?

होइन, यो त स्वभाविक लाग्छ । पार्टीमा यति लामो समय काम गरिसकेपछि र जिम्मेवारी निर्वाह गरिसकेपछि थप जिम्मेवारि लिने र जिम्मेवारी पूरा गर्छु भन्ने संकल्प गर्ने कुरा जसले पनि गर्नु स्वभाविक होजस्तो मलाई लाग्छ । किनभने इच्छा/चाहना प्रकट गर्ने बेला नै यही हो । त्यसैले धेरै महाधिवेशनमा प्रतिनिधि खानुभएका कमरेडहरु चाहे महिला हुन्, पुरुष, दलित, जनजाति, मधेशी अथवा जुनसुकै समूदायका मान्छेहरु हुन्, उहाँहरु सबै जनाले इच्छा प्रकट गर्नुभएको छ, जुन कुरा स्वभाविक पनि हो ।

उसोभए तपाईंहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको मुख ताकेर बस्नुभएको हो त, उम्मेद्धवारी त अहिलेसम्म तपाईँहरुले दिनुभएको छैन नि ?

पार्टीका कार्यकर्ताको जिम्मेवारी व्यवस्थापन गर्ने, जिम्मेवारी स्वभाविक रूपमा नेतृत्वकै हुन्छ । नेतृत्वले विवेकसम्मत् र न्यायोचीत ढंगले यस्ता विषयमा ध्यान पुर्याएकै हुन्छ । त्यसैले हाम्रो नेतृत्व त्यो खालको संवादमा बसिरहेको छ । अब नेतृत्वको तर्फबाट कस्तो खालको निश्कर्ष निकालिन्छ, सो निश्कर्ष निकालिएपछि मात्र आफुलाई ठाउँ–ठाउँमा उभ्याउने काम हुन्छ ।

चितवनबाट सर्वसम्मत् रुपमा नेतृत्व चयन होला त ?

तपाईंहरुले पनि देखिसक्नुभएको छ । यसपटक पार्टीको वडा कमिटीदेखि पालिका कमिटीदेखि प्रतिनिधि चयन हुँदासम्म हामी प्रतिनिधि चयन हुँदासम्म सर्वसम्मत् रुपमा आएका छौं । केही ठाउँबाहेक सबै ठाउँमा सहमतिमै भएको छ । त्यसैले यो महाधिवेशनलाई हामीले एकताको महाधिवेशन भनेका छौं । हामी अहिले जटिल अवस्थामा रहेका छौं । त्यसैले फरक अवस्थामा फरक विशेषतासहित यो महाधिवेशन सम्पन्न गर्नैपर्ने भएको हुनाले एउटा सन्तुलन कायम गर्नेकुरामा हामीले हेक्का राख्नुपर्नेछ । त्यसैले सर्वसम्मत्बाट नेतृत्व छनोट गरौं भन्ने पहिलो कुरा हो । त्यसको निम्ति अधिकतम प्रयत्न हुन्छ । केहीगरि त्यसो हुनै सकेन भने लोकतान्त्रिक विधिबाट हुन्छ ।

केपी शर्मा ओली सर्वसम्मत् रुपमा अध्यक्ष बन्नुहोला अथवा प्रतिष्पर्धा गर्नुपर्ला, तपाईंलाई के लाग्छ ?

कमरेड केपी शर्मा ओलीको विकल्प छैन् । यो कुरा दुनियाँले बुझेको छ । हामीले पनि पहिलेदेखिनै भन्दै आएको कुरा यहीनै हो । संवाद चल्दै थियो चाहना प्रकट गर्ने थलो हो । कमरेड भीम रावलले चाहना प्रकट गर्नुभएको छ । संवादमा बसिरहदा उहाँ आफ्नो ठाउँबाट ब्याक हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ । तर, ब्याक नहुँदा पनि नतिजा के आउँछ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यसैले अहिलेको नेतृत्व केपी शर्मा ओली नै हो । उहाँको विकल्प खोज्ने आजको अवस्था हुँदैहोइन् । किनभने हाम्रो पार्टीको अगाडि अहिले गम्भिर खालका समस्याहरु रहेका छन्, चुनौतीहरु रहेका छन् । त्यी समस्याहरुको सामना गर्नको लागि कमरेड केपी ओलीनै नेतृत्वमा हुनुपर्छ ।

तर, भीम रावलले उम्मेद्वारी दिनुभएको छ । म कुनैपनि हालतमा ब्याक हुँदैन भन्नुभएको छ नि ?

उहाँले म पनि छु भन्नुभएको छ । म छु भन्न त पाईन्छ निँ ।

केपी शर्मा ओली समूहमा पनि दुई समूह देखिएको छ, ईश्वर पोखरेल एकातिर सुवास नेम्वाङ एकातिर हुनुहुन्छ, तपाईंलाई थाहा छैन् ?

त्यसो होइन् । म यो पदको निम्ति आकांक्षी छु भन्दैमा गुटको निर्माण भयो भनेर व्याख्या गर्नु अनुचित कुरा हो । योग्य कमरेडहरु धेरै हुनुहुन्छ । उहाँहरुले मैले यो पदको जिम्मेवारी पाए हुन्थ्यो भन्नु स्वभाविक हो ।

ईश्वर पोखरेलको विरुद्धमा शंखर पोखरेलले उम्मेद्वारी दिने कुरा आएको छ नि ?

त्यसो छैन् । छलफल त अनेक ढंगले हुन्छ नि । आकांक्षीहरुले पनि आफ्नो कुरा राख्नुहुन्छ । तर, त्यसो हुँदैमा दोस्रो गुट आयो, तेस्रो गुट आयो भन्नु गलत हो । तर, निश्कर्ष के निकालिन्छ त्यसलाई शीरोधार्य गरेर अगाडी बढ्नु नै सबैभन्दा ठुलो कुरा हो । कमरेडहरु त्यसरी नै अगाडि बढ्नुहुन्छ भन्ने मलाई लाग्छ ।

तर, रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङलाई पनि अगाडि बढाउनुपर्छ भन्ने बहस चलिरहेको छ नि होइन् ?

उहाँहरुको पनि यो महाधिवेशनले व्यवस्थापन गर्छ । पार्टी नेतृत्वले नेताहरुको व्यवस्थापन कसरी गर्छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो । उहाँहरु सबैको हैसियत र क्षमता हेरेर पार्टीले व्यवस्थापन गर्छ भन्ने मलाई लाग्छ । सुवास कमरेड पनि पार्टीमा लामो समय काम गर्नुभएको नेता हो । त्यसैगरि रामबहादुर थापा ‘बादल’ पनि आफ्नो ठाउँमा महत्वपूर्ण नेता हनुहुन्छ । त्यसैले पार्टीले पनि यो कुरा बझेको छ । महाधिवेशनमा के हुन्छ भन्ने कुरा तपाईंले देखिहाल्नुहुन्छ । बजारमा कसैले अनुचित ढंगले हल्ला फैलाएको होला । महाधिवेशनको हलसम्म जाँदा, यी सबै कुराहरु हल भएर जान्छन् । त्यसैले मलाई के विस्वास छ भने तपाईंले जसको नाम लिनुभएको छ, उहाँहरु बीचमा प्रतिष्पर्धा हुँदैन् । त्यसलाई नेतृत्वले व्यावस्थापन गर्छ । फरक–फरक पदमा उहाँहरु जानुहोला तर, एउटै पदमा उहाँहरु प्रतिष्पर्धा गर्नुहुँदैन् भन्ने मलाई विश्वास छ ।

प्रतिक्रिया