‘एनआरएनए महाधिवेशनको जिम्मेवारी संरक्षक परिषद्लाई दिइनु विधानसम्मत’

इनेप्लिज २०७८ मंसिर ८ गते २:५० मा प्रकाशित


काठमाडौँ (जीएनएन) — परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई दिनु विधानसम्मत भएको एनआरएनए अभियन्ताहरुले बताएका छन् ।

एनआरएनए महाधिवेशन स्थगित भएपछि अन्यौल भइरहेका बेला परराष्ट्र मन्त्रालयको निर्देशन विधानसम्मत भएको अभियन्ताहरुले बताएका हुन् । वर्तमान कार्यसमितिले परराष्ट्र मन्त्रालयले दिएको निर्देशनलाई राजनीति भन्दै आरोप लगाउनु गलत भएको र विधान अनुसार नै निर्देशन भएको वक्ताहरुले बताए ।

जीएनएनद्वारा मंगलबार आयोजित भर्चुअल छलफलमा कार्यक्रमका वक्ताहरुले संरक्षक परिषद्लाई जिम्मेवारी दिने परराष्ट्रको निर्णय विधान सम्मत रहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई जिम्मेवारी दिंदै लेखेको पत्रमा विधानमा भएको कुरा नै व्याख्या गरिएको बताए । ६ महिना म्याद थप्ने वैधानिक व्यवस्था नभएकाले त्यसलाई नै पत्रले स्थापित गरेको उनले बताए । “५३ देशका साथीहरुले रोइकराई गर्दा पनि आइसीसीले सम्बोधन गर्न नसकेको र कुनै अमुक व्यक्तिलाई नेतृत्वमा ल्याउने योजना अनुसार अघि बढेकाले समस्या देखिएको हो,” उनले भने।

परराष्ट्रको निर्देशनले एनआरएन अभियान जुन उद्देश्य लिएर जन्मिएको थियो सोही दिशामा बढेको पनि पण्डितले बताए । ‘कतिपयले निजी स्वार्थमा संस्थालाई धुमिल्याउन खोजे, कर्पोरेट इन्टरेस्ट भएको पनि सुनिन्छ,’ पण्डितले भने, ‘संस्थालाई कसरी अगाडि लैजाने, नेतृत्व कसरी विकास गर्ने भन्नेमा म छु, राजनीति गर्दिन भन्ने साथीहरुले नै राजनीति गरेको देखिन्छ ।’

गत शुक्रबार एनआरएनएमा पठाइएको परराष्ट्र मन्त्रालयको पत्र ४८ घण्टा पछि मात्रै सार्वजनिक गरिएको उनले खुलासा गरे । ‘पहिले आफुहरुले राखेर छलफल गरेर मात्रै बाहिर ल्याइएको छ । त्यसमा राजनीति भयो भन्ने म मान्दिन । मर्यादा भन्दा तल झरेर टिप्पणी पनि आएको छ,’ उनले प्रश्न गर्दै भने, ‘कामचलाउ कार्यसमितिले निर्वाचन गराउन नपाउने भएकाले संरक्षक परिषद्ले निर्वाचन गराउनु कहांनेर गल्ती हुन्छ?’

संस्थाभित्र गरिएका अनियमितताहरु बाहिर आउने डरले संस्थापन पक्ष आत्तिएको उनले आरोप लगाए ।

‘संरक्षक परिषद्ले जिम्मवारी लिएर समाधानार्थ अगाडि बढाउनुपर्छ । वर्तमान अध्यक्षलाई संयमित बनेर राजनीतिक रङ नलिइकन अघि बढ्न म आग्रह गर्दछु,’ सल्लाहकार पण्डितले भने ।

संरक्षक परिषद्लाई जिम्मवारी लिएर अघि बढ्न उनले सुझाव दिए । उनले परराष्ट्रले सुनुवाई गरेकाले यसलाई कार्यान्वयनमा लैजान सबैलाई आग्रहसमेत गरे ।

छलफल कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष दीपक गौतमले एनआरएनको १८ वर्षे इतिहासमै अहिले जटिल अवस्था देखिएको बताए । एनआरएनए परिपक्व हुने बेलामा कार्यसमितिले खिचातानी गर्न नहुने गौतमको भनाइ छ । ‘एनआरएनए भित्र केही विषयमा पहिले देखि नै केही चित्त नबुझ्ने कुरा थिए । राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा चुनाव गर्दा विधान विपरित भएकाले विश्वसनीयता कायम नहुंदा समस्या सिर्जना भएको हो,’ उनले भने, ‘संघमा देखिएको अनियमितता निरुपण गर्नका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिनु परेको हो । समस्या समाधान गरेर सबैलाई मान्य हुने बाटो अपनाएर निर्वाचनमा जानुपर्ने हाम्रो मान्यता थियो ।’

यदि एनआरएनए अप्ठेरो अवस्थामा पुग्यो भने संरक्षक परिषद्ले भूमिका निर्वाह गर्ने भन्ने विधानमै लेखिएको गौतमले स्पष्ट पारे । अहिलेको कार्यसमितिमाथि विश्वसनीयता नभएकाले संरक्षक परिषद्लाई चुनावको जिम्मेवारी दिनु नै उपयुक्त हुने उनले बताए । ‘संरक्षक समितिमा पाका, पुराना अध्यक्षहरु रहेकाले उहाँहरु सबैले गैर आवासीय नेपाली संघको हितमा काम गर्नुहुन्छ,’ उनले भने ।

अब एनसीसीको गरिमा बढाउनुपर्नेमा गौतमले जोड दिए । ‘अहिले अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) एनसीसीलाई कमजोर बनाउन उन्मुख भएको देखिन्छ । अघिल्लो निर्वाचनमा रातारात प्रतिनिधि थपिएका थिए । कसरी, कहांबाट आए? भन्ने प्रश्न छंदैछन्,’ उनले भने ।

नेपाली जनप्रतिशील मञ्च युरोपका अध्यक्ष सुरेन्द्र भुसालले संस्था बदल्न एनआरएनको संरचना नै बदल्न जरुरी भएको बताए । अहिलेको एनआरएनले समग्र नेपालीको कल्याण गर्न नसकेको उनले बताए । ‘आम एनआरएनले छानेर प्रतिनिधि पठाउन नपाउने? दुईचार जनाले रोजेर जानुपर्ने? राष्ट्रियताको सवालमा नेपालबाट बाहिरिएकालाई एनआरएनएले मीठो नारा दिएको छ । यहाँ ‘ह्वाइट कलर क्राइम’ भइरहेको छ । जहिले पनि नेतृत्वमा आफै रहने सञ्जाल बनाउने?,’उनले प्रश्न गरे।

उनले एनआरएनमा शुरु देखि अन्तिमसम्म बस्नैपर्ने के छ? भन्दै प्रश्न पनि गरे । ‘त्यस्तो मोह के छ ? आफैं 
राजनीति गर्नुहुन्छ, अनि अरुलाई राजनीति गरयो भन्नुहुन्छ’ उनको धारणा थियो ।

निकै स्वार्थी खालको राजनीति एनआरएनमा गरिएको र संस्थापन पक्षले नै धेरै राजनीति गरेको भुसालले बताए ।

एनआरएनएले नेपाललाई कसरी उन्नत बनाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । ‘सामाजिक संस्था र पैसा कमाउने संस्था फरक फरक हुन्’, उनले भने, ‘उद्योग धन्दाको रुपमा बनाउने हो भने छुट्टै बनाउनुस् । सामाजिक संस्था भन्ने, तर काम व्यापारिक गर्ने । कालो सेतो मिलाएर काम गर्ने प्रवृत्ति गलत भएको छ ।’

संस्थामा नेपालीहरु कति छन् त्यसको अनुपातमा स्थानीय टिम बनाएर केन्द्रीय टिम दुई तहसम्म बनाएर गए राम्रो हुने उनको सुझाव छ । संसारभरि छरिएका सबै देशका नेपालीले मत पठाएर केन्द्रमा संकलन गरेमा राम्रो हुने उनको तर्क छ । ‘आफ्नो विधान आफै बनाउने, एनआरएन चलाउने अनुभव भएकाले किन नपाउने ? नेतृत्व उत्तरदायी हुन जरुरी छ’, उनले भने ।

‘ (कुमार) पन्तजी धेरै चिच्चाउन पर्दैन, कति काम गर्नुभो । उहांलाई लगाइएको लगाम कसको हातमा छ ? हामीले हैसियत देखेका छौं । कतिखेर मालिकले लगाम तानिदिन्छ, पछाडि हट्नुहुन्छ । उहाँ शान्त भए हुन्छ,’ उनले चुनौति दिए ।

उनले अध्यक्ष पन्तलाई सच्चिएर अगाडि बढ्न सुझाव समेत दिए । संस्थालाई कुनै राजनीतिक रंग दिन नहुने भुसालले बताए ।

 

प्रतिक्रिया