एक क्षण हराउँदा (लघुकथा)

कोमल अधिकारी,टिकापुर,कैलाली २०७८ मंसिर ७ गते ३:०१ मा प्रकाशित

रमणीय स्थान।एउटा छाता सङ्गठनको सम्मेलनको जमघट।क्षेत्र एउटै भएपनि अलग-अलग भूगोलबाट आईएका साथीहरू आत्मीय/घनिष्ट देखिन्छन्।एकजनासँगको भनाइमा सबै सहमत।वहाँको ‘एजेण्डा’ एकदमै प्रभावकारी,परिवर्तनकारी।मानौ,त्यो एजेण्डा नलगिए वहाँ सँग दुश्मनी नै हुनेगरी त्यसको व्याख्या।मलाई साथीहरूको त्यो साथ देखेर अलिकति अचम्म पनि लागिरा’थ्यो।साथै,आखिरमा धेरैको चाहना त ‘ठिक’कै पछि नै लाग्ने नै त हुँदो रै’छ भन्ने पनि नलागेको हैन।

पहिलो रात रोमाञ्चकारी हुँदै बित्यो।आत्मीयता यति बढ्यो कि हामी अलग-अलग कोठा उपलब्ध गराईए पनि कोठा सङ्ख्या रित्तै राखेर पनि सँगै सुतियो।मान्छेलाई बिचारले बदल्न सक्छ भन्ने एउटा प्रमाण थपिएको महशुश भयो।हामीलाई सुत्न अप्ठ्यारो हुन्छ भन्ने आयोजकलाई हामीले चुनौति दिए जस्तोसम्म पनि भयो।

अर्को दिन एउटै भौगोलिक क्षेत्रका हुनाले कार्यक्रमस्थलमा हामी एकठाउँमै हुने कुरा त भईहाल्यो तर हामीमा एकताको ‘भूत सवार’ भएकोजस्तो पो देखियो।फ्रेस रूममा पनि सँगै,एउटाले गीत गाउन खोज्दा आयोजकसँग सिफारिस तुरून्तै अर्को साथीले गरीदिने,चिया-चमेना,मेसमा पनि उस्तै कोअपरेशन…आदि आदि।

हामीलाई निराशै त हैन,मनलाई धेरै अमिलो बनाउनेगरी आईपुग्यो सम्मेलनको दोस्रो अन्तिम दिन।भयो के भने सम्मेलनको नेतृत्वका लागि सम्मेलनलाई हाँक्ने भन्दा ‘माथि’काहरूसँगको भेटघाट कार्यक्रम।एउटै फ्ल्याटमा नबसेर एउटै रूम सेयर नगरी बस्ने नसक्ने हामीहरूमध्ये केही साथीहरू केही समयलाई हराउनु भयो,’हराएर’ आएपछि वहाँहरूले रूम मात्रै हैन,फ्ल्याट नै बदल्नु भयो।हामीलाई अझ मन अमिलो बनाएर….

प्रतिक्रिया