कर्णाली भेगको कथामा डोल्पामा ‘बुलाकी’

इनेप्लिज २०७८ कार्तिक ३० गते १०:३६ मा प्रकाशित

काठमाडौं,३० कार्तिक-तिहार लगतै छायांकन सुरु गरिएको ‘बुलाकी’ फिल्मको ३५ प्रतिशत दृश्य खिचि सकिएको जानकारी प्राप्त भएको छ।डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै युनीट काठमाडौंबाट डोल्पा पुगेको थियो।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन्।फिल्ममा नरेन खड्का, सुरक्षा पन्त,नवअभिनेता बिराज बिष्ट,प्रकाश कँडेल,सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन्।इन्टरनेट तथा मोबाइल टावरको प्रचुर ब्यबस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनीयाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता बिराजले सुनाएका छन्।‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उनले भने,‘हामीहरु अर्कै दुनीयाँमा आएजस्तो महसुस भइरहेको छ।’

अभिनेत्री सुरक्षाले केही दिनअघि भौगीलिक,सामाजीक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन्।उनले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुदाँ असमर्थ भएको उल्लेख गरेकी थिइन्।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिब ढकाल हुन्।से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल,लक्ष्मी गिरी,कुलदीप अधिकारी,झलनाथ खत्री,उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतको पनि अभिनय छ।

सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ।फिल्मको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ।

 

प्रतिक्रिया