प्रेमको शुरुआत

बाबा राजेश्वरी थापा २०७८ कार्तिक २० गते २२:०८ मा प्रकाशित

सन् १९९९ देखि बसालेको परम्परा मैले तोडें । यो कुरामा एउटा मनले गर्व गरेको थियो, अर्को मनले दुखी पनि थिए । गर्व यस अर्थमा लाग्यो, मैले यस पटक सन्जुलाई लक्ष्मीपुजाको शुभकामना दिइन जुन सन् १९९९ देखि मैले उसलाई दिदै आइरहेको थिए। जब मैले शुभकामना दिन्थे तब मात्र उसको शुभकामना आउथ्यो । दुखी यो अर्थमा थिए, शुभकामना न हो , दुई शब्द लेखिदिएको भए के नै हुन्थ्यो र? अचम्म लागिरहेको छ शुभकामना दिन सन्जुलाई सार्है गार्हो लाग्थ्यो तर शुभकामना नदिए पनि फ़ोन त घण्टा घण्टामा गर्ने मान्छे, आज तीन दिन बितिसक्दा पनि एक पटक फोन गरेन । उसको फोन नआउदा आत्तिएर फोन गर्ने मै हुं । यस पटक मनलाई कठोर बनाएर बाध्न म सफल चाहिं भएकै हो। तीन दिनदेखि न म राम्रोसंग सुतेको छु, न मैले राम्रोसंग खाएकै छु, न केही काम गरेको छु। मेरो समय मोबाइल हातमा लिएर सन्जुको पुरानो मेसेज पढ्ने, उसको इमेल पढ्ने, मैले उसलाई लेखेको जवाफ पढ्ने, उसंग बिताएको क्षणहरु सम्झिनु सिवाय केही गरेकै छैन । म फेरि पनि छक्क परिरहेको छु सन्जुले मलाई किन बेवास्ता गरिरहेको छ। मेसेन्जर, ह्वाट्सएपमा अनलाइन देखिरहेको थिए । इन्स्ट्रा र ट्विटरमा स्ट्याटस अपडेट गरिरहेको छ तर मलाई बेवास्ता गरिरहेको छ। बिहान उठेदेखि नसुतेसम्म केही न केही पठाई रहने, उसका हरेक ससाना कुराहरु सबै कहिले भ्वाइस मेसेज मार्फत वा सामान्य मेसेजमा त कल गरेर भनिरहने मान्छे चुपचाप छ। बिरामी छ भनुं भने स्ट्याटस अपडेट तर मलाई घुर्की दिने वा माया देखाउने कुनै कुरा लेखेको छैन । सबै स्ट्याटसहरु देशप्रेमका, राष्ट्रीयता अनि भाषा संस्कृति संरक्षणसंग सम्बन्धित छन।

सन् १९९९ देखि बसालेको परम्परा मैले तोडें । यो कुरामा एउटा मनले गर्व गरेको थियो, अर्को मनले दुखी पनि थिए ।

होइन यो मान्छेलाई अचानक के भयो? मंसग रिसाउदा घुर्की देखाउदै मलाई छेडेर घण्टाघण्टामा स्ट्याटस परिवर्तन गर्ने अनि मैले माफी नमागेसम्म वा फोनमा म धुरुधुरु नरोएसम्म उसको अदालतले मलाई माफी दिदैन्थ्यो । कहिलेकाही काममा व्यस्त भएर जवाफ नलेख्दा,”ओई ! कोही भेटिस?” भन्दै मलाई रिस उठाउन खोज्थ्यो। उसलाई राम्रोसंग थाहा थियो, मलाई तं भनेको मन पर्दैन भन्ने, त्यसैले मलाई रिस उठाउनु पर्यो भने तं भन्ने गर्थ्यो । तीन दिनसम्म कुनै प्रतिक्रिया नदेखाई कसरी र किन बसिरहेको छ यो मान्छे?

मेरो मन त मानेकै छैन उसको आवाज सुन्न नपाउदा तर म भित्रको अहंमले मलाई रोकिरहेको छ। सधै भन्ने गर्थ्यो, “अंशु! यो जुनीमा तिमीलाई आफ्नो बनाउन सकिन् तर तिम्रो लागि यो ज्यान सधै हाजिर छ। तिम्रो हरेक सुखमा, तिम्रो दुखमा, जहाँजहाँ तिमीलाई जरुरत पर्छ म रक्षक बनेर, खम्बा बनेर उभिन्छु। दुनियाँको कुनै पर्वाह छैन, भन्न र गर्न कसैले बाँकी राखेन तर जीवनको एउटा चाहना तिम्रो सामीप्य ।”

यो सब झुठ रहेछ। भाग्य र कर्म दुवैबाट ठगिएको मलाई, जीवनमा आशा जगाउने मान्छे सन्जुबाट पनि ठगिएको महशुस भयो आज। यति सोच्दासोच्दै आंखाबाट अनायस आँसु बगेछ मेरो। फेरि मोबाइल हेरे, इमेल हेरे, सामाजिक संजालका सबै प्ल्याटफर्म हेरे तर उसले मलाई कहीकतै केही लेखेको छैन र अहिले त ४ घण्टा देखि अफलाइन रहेछ। शायद भाईटिका लगाउन उसको दिज्युको घर गयो होला ! उसको दिज्युको फेसबुक प्रोफाइल हेरे, त्यहां त उसको दिज्युले उसको काकाको छोराहरुलाई भाइटिका गरेको फोटो मात्रै छ। दिज्युले फेसबुकमा राखेको १०७ वटा फोटोहरुमा सन्जु कतै पनि छैन, उल्टै उसको दिज्युले , मिस यु सन्जु” भनेर उसलाई ट्याग पो गरेको देखे । साच्चै के भयो यस्तो? मैले केही पत्तै लगाउन सकिन् ।

सधै भन्ने गर्थ्यो, “अंशु! यो जुनीमा तिमीलाई आफ्नो बनाउन सकिन् तर तिम्रो लागि यो ज्यान सधै हाजिर छ।

सधै हाजिर छ।सन्जु र मेरो प्रेमलाई मेरो परिवारले स्वीकारेन। मैले बाध्य भएर परिवारको इच्छा अनुसार विवाह गरे तर सिन्दूरले जोडेको त्यो सम्बन्धलाई भित्री मनले कहिले पनि स्वीकारेन भन्दा समाजले मलाई कुलंगारको दोष दिनेछ, मेरो माइतीको इज्जतमा धक्का लाग्नेछ भनेर मैले आफ्नो जीवनसंग सम्झौता गरे तर श्रीमानको माया अनि गालीमा सन्जुको कमी हरहमेशा महसूस हुन्थ्यो । यो सम्झौताको जीवनमा मौनतालाई स्वीकार्नु, आफ्नो मनभित्र गुम्सिएका भावनाहरुलाई बाथरुम ढोका बन्द गरेर आंसुमा बगाउनु बाहेक मंसग कुनै विकल्प नै थिएन। मेरो विवाहको लगत्तै सन्जु अमेरिका पलायन भएपछि कति वर्षसम्म हामी दुवैले एक अर्का विना बांच्ने प्रयास नगरेको होइन।

भौतिकरुपमा हामीलाई नजिकिन समाजको बन्धन भएपनि असल साथी बनेर भावनात्मकरुपमा एकले अर्कोलाई सधै साथ दिने सन्जुको प्रस्तावलाई मैले स्वीकारे पछि हामी भावनात्मकरुपमा नजिक बनेका थियौ । मनका हरेक कुरा निस्फिक्री साट्थ्यौ। यस बीचमा मलाई श्रीमानको धम्की पटकपटक नआएको होइन तर एक पतिव्रता नारीले निभाउनु पर्ने कर्तव्यबाट म विमुख नभएकोले श्रीमानको गालीले मलाई खासै ठुलो असर पारेन् । सन्जु मेरो पहिलो प्रेम मात्र नभई मेरो बाल्यकालदेखि जवानी सम्म र अहिले अर्धवैशसम्मको साथी हो । कसैले टुटाएर वा छुटाएर छुट्ने सम्बन्ध पक्कै होइन तर उसले अहिलेसम्म विवाह नगर्नुको कारण नै मेरो श्रीमानको झस्काई हो भन्ने मान्यता मेरो मनले राखेको छ ।

अस्ती लक्ष्मीपुजाको दिनदेखि आज भाईटिकाको दिनसम्म सन्जुसंग सम्पर्क विहीन हुदा बढेको बेचैनी र छटपटीबाट मैले आफ्नो मनलाई झुठ बोल्न सकिन। हो सन्जुलाई म आज पनि उतिकै प्रेम गर्दोरहेछु जति पहिले गर्थे। ऊ बिना बाच्नु प्रायः असम्भव भएको रहेछ, तर उसले अहिले मलाई देखाएको व्यवहारले मन धेरै रोयो, चित्त सार्है दुख्यो। यतिका वर्ष एक पटक लक्ष्मीपुजामा शुभकामना नदिंदा सम्पर्क नै टुटाउने स्वार्थीलाई आफ्नो मान्छे सम्झेकोमा आफैसंग रिस उठ्यो । फेरि मेसेन्जर हेरे अफलाइन भएको आठ घण्टा बितेछ । जेसुकै होस मन मान्दै मानेन तर फोन पनि लागेन । मेरो मन अब आतिन थाल्यो । मेसेन्जर, ह्वाट्सएप, भाइबर सबैमा सन्देश पठाए तर डेलिभरी भएन। के गर्ने र के नगर्ने मैले छुट्टाउनै सकिन। चाडपर्वको दिन मेरो मलीन अनुहार परिवारले देखेका थिए तर सोध्न आंट कसैले गरेन। म बाथरुममा ढोका बन्द गरेर भित्तामा अढेस लगाएर रुदै थिए। बाहिरबाट सानो छोराले ढोका ढक्कढकाउदै भन्यो, “ मामु! हजुरलाई अघि देखि फोन आएको आई छ। बीसवटा मिस कल आइसक्यो। लिइस्योस फोन, कल गरिस्योस, अर्जेन्ट होला मामु।”

हो सन्जुलाई म आज पनि उतिकै प्रेम गर्दोरहेछु जति पहिले गर्थे।

मैले ढोकाबाट हात मात्र छिराएर फोन लिए । नभन्दै एउटै नम्बरबाट बीस वटा मिस कल आएको रहेछ। कल ब्याक गर्न आंसु पुछ्दै थिए फेरि त्यही नम्बरबाट रिंग आयो। मलीन स्वरमा मैले “हलो” भने, उताबाट जवाफ आयो, “अंशु! तिमीलाई सरप्राइज दिन एअरपोर्टबाट धेरै पटक फोन गरे, फोन किन नउठाएको? तिमीलाई लक्ष्मी पुजाको शुभकामना दिन मात्र होइन पुरै जीवन सुम्पिन म त्यही कुरेर बसेको छु जहां हामी बीस वर्ष अगाडी भेट्ने गर्थ्यौ ।” म लुगा समेत नफेरी ट्याक्सी लिएर जावलाखेल पुगे जहां सन्जु मलाई पर्खिरहेको थियो। मलाई भेट्ने बित्तिकै दुवै हात फैलाएर उसले मलाई कसिलो अंगालोमा बाध्यो, वर्षौदेखि कल्पना गरेको यो क्षणमा मैले संसार भुलेर उसको छातीमा टाउको अड्याएर आंसु झारिरहे ।

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया