आकास छ्याङ्ग खुलेर सफा निलाे थियोे।जताततै रङ्गीविरङ्गी फूल फूलेका थिए।सबैतिर शारदिय आनन्द छाइरहेकाे थियोे।
घर घरमा तिहारकाे लागि राेटी पकाइरहेकाे मगमग वासना आइरहेको थियोे।काेही जुवातासमा मस्त थिए।कसैले काैडाकाे खाल जमाएका थिए।
साना केटाकेटीहरु देउसी भैलीमा रमाइरहेका थिए।
तिहारमा बुवाआमा सँगै गाउँ आएको आठ वर्षे प्रणव पनि केटाकेटीहरुकै बगालमा पटका पड्काउँदै घरी यता दाैडन्थ्याे घरी उता दाैडन्थ्याे।
दिनभरकाे दाैडादाैड पछि प्रणव साँझ घर भित्र पस्याे।
` हेर भाइ भाेलि तँलाई निधारमा सप्तरङ्गी टीका लगाइदिन्छु।सयपत्री,मखमली फूलका राम्रा राम्रा माला लगाइदिन्छु।यी आज बनाएका विभिन्न प्रकारका राेटीहरु थाल भरि दिन्छु।तैँले मलाई के उपहार दिन्छस् नि?´_दिदी सुशीलाले प्रणवलाई भनिन्।
` यस्ता राेटी त मलाई मनै पर्दैन।मैले यी राेटी खाँदै खान्न।यिनै राेटी दिने भए त मैले टीका नै लगाउन्न।´_ प्रणवले जवाफ दियो।
` अनि तैँले के खान्छस् त? तिहारमा त खाने नै सेलरोटी हाे।याे हाम्रो संस्कृति हाे।पहिले देखि चलेको चलन हामीले पनि मान्नु पर्छ,ज्ञानी बन्नु पर्छ।´_ सुशीलाले सम्झाउँदै भनिन्।
` नाइ,मैले भनेको नदिने भए त म टीकै लगाउन्न´_ भाइले जिद्दी कँस्याे।
` अनि भन् त के चाहिने तँलाई ?´_ दिदीले प्रश्न गरीन्।
` मलाई त एउटा पिज्जा अनि म:म ल्याइदिनु पर्छ।यस्तो राेटीहरु त म खाँदै खान्न।´_ भाइले भन्यो।
बैठक काेठाबाट नातिनातिनाकाे सम्वाद सुनिरहेका हजुरबा बाहिर निस्के।नातिलाई च्याप्प अँगालो हाले र मुस्कुराउँदै बाेले- ` हेर पिज्जा,मःम संस्कृतिले कसरी जरा गाडेको छ मेराे नव पुस्ता माथि ? मेराे प्यारो नातिलाई मै किन्दिन्थेँ मःम,पिज्जा तर याे गाउँमा पाइदैन र पाे।´
———– समाप्त ———
प्रतिक्रिया