मनोज दाहाल,विराटनगर -१० कात्तिक(रासस):स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो।
कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सवैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेको यसलाई नागरिकहरुलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
मन्त्री खतिवडाले वर्तमान अवस्थामा रहेको ३५० शैयालाई स्तरउन्नती गर्दै थप पाँच सय शैयामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसुति कक्ष,स्त्री रोग,क्यान्सर रोग विशेषज्ञ चिकित्सक,प्रगोगशालाई आवश्यक पर्ने दक्षजनशक्ति व्यवस्था गर्ने जानकारी दिनु भयो।
सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा रहेको शैयाको अभाव सरकारले तत्काल थपको स्विकृत दिएपछि अन्त्य हुनुका साथै ५० शैयाको आकस्मिक कक्ष समेत रहने छ भन्नु भयो।
मन्त्री खतिवडाले प्रदेशका अत्याधिक जनताको उपचारको केन्द्रको को रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको वताउनु भयो।
उहाँले सरकारले आगामी चैतमसान्तसम्म सवै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पुरा हुने दावी गर्नु भयो।
उहाँले अमेरिकासँग एक करोड र चीनसंग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भैसकेको जानकारी दिदै १२ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउने तयारी भैरहेको बताउनु भयो।
मन्त्री खतिवडाले विश्व स्वास्थ्य संगठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मका समेत खोप लगाउने कार्य शुरु गर्ने बताउनु भयो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले स्वास्थ्य वीमा समितिबाट अस्पतालले रु सात पाउन बाँकी रहेकोले औषधिको रकम तथा अस्पताल विकास समितिका कर्मचारीलाई तलव भुक्तानी गर्न समस्या उत्पन्न भएको गुनासो पोख्नु भयो।
उहाँले अस्पतालले विरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको बताउँदै दैनिक एक हजार देखि एक हजार पाँच सय विरामी अस्पतालमा आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नु भयो।
सो अवसरमा विराटनगर १२ की स्वास्थ्य वीमा सेवाग्राही सर्मिष्ठा श्रेष्ठले वीमाबाट अस्पतालबाट सेवा लिन धेरै दुःख व्यहोर्नु परेको विगतमा जस्तै अन्य अस्पतालबाट समेत सेवा उपलव्ध गराउने कार्यको पहल गर्न मन्त्री खतिवडासमक्ष अनुरोध गर्नु भयो।
सो अवसरमा मन्त्री खतिवडाका अस्पतालको विभिन्न कक्षको अनुगमन गर्दै विरामीहरुसँव अस्पतालले प्रदान गर्ने सेवाका सम्वन्धमा जानकारी लिनु भएको थियो ।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया