लघुकथा ग्यासको मूल्य

अरुणबहादुर खत्री “नदी” २०७८ कार्तिक ४ गते १०:१३ मा प्रकाशित

 

खाना पकाउने ग्यासको सिलिण्डर रित्तो भएपछि घर नजिकैको ग्यास विक्री गर्ने डिपोमा पुगे र साहुजीसँग भने,“एक सिलिण्डर ग्यास होला ?”

साहुजीले भने,“ग्यास एक घण्टा अगाडिसम्म थियो अहिले छैन।”

“हिजोआज ग्यासको हाहाकार त छैन साहुजी तैपनि तपाईकहाँ ग्यास कसरी सकियो त ?” मैले भने।

“ग्यास किन्न आउनेले नेपालमा नाकाबन्दी भएको बेला चार पाँचवटासम्म सिलिण्डर किनेका थिए।त्यसैले घरमा खाली सिलिण्डर किन राख्ने भनेर सबै सिलिण्डर भरेर राख्छन् नि त” साहुजीले भने।

साहुजीको कुरा मलाई ठिकै लाग्यो र घर फर्के।बेलुकी रेडियोले आजै राती बाह्र बजेबाट नेपाल आयल निगमले ग्यासको भाउ बढाएको समाचार दियो।भोलिपल्ट बिहान त्यही ग्यास बेच्ने पसलमा पुगेर साहुजीसँग सोधे,“अब ग्यास कहिले आउँछ साहुजी ?”

साहुजीले “हिजो बेलुकै आइसकेको छ” भन्दै मलाई बढेको मूल्यमा ग्यास बिक्री गर्यो।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं

 

 

 

 

 

 

प्रतिक्रिया