राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री देउवाले शुभसाइतमा टीका ग्रहण

इनेप्लिज २०७८ असोज २९ गते ११:०२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैको अवसरमा आफ्नी आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् ।

त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् ।

यो पटक महामारीको जोखिमलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइदिइनन् ।

यसै गरि प्रधानमन्त्री शेरबहादुर देउवाले बडा दशैको अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गरेका छन् । उनले पनि प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दसैँको टीका लगाइदिएका थिए ।

प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोरोना कोभिड महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिए ।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाइदिएनन् ।

कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

प्रतिक्रिया