दशैंसँग जोडिएको ऐतिहासिकता र विश्लेषण

सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र २०७८ असोज २९ गते १०:१३ मा प्रकाशित

सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र

भारत,नेपाल,भुटान,पाकिस्तान,बङ्लादेश, बर्मा लगायतका दक्षिण एसियाली देशहरू अहिलेसम्म नै कृषिमा आश्रति मुलुकहरू हुन् । कृषकले खेतवारी खनजोत गर्दादेखि अन्नपात घरभित्र छिराउदासम्म आफ्नो उत्पादनको संरक्षणका लागि अप्रत्यक्ष शक्तिसगँ केही न केही माग गर्ने परम्परागत प्रचलन रहि आएको छ।अप्रत्यक्ष कल्पना गरिएको शक्ति या सत्तासगँ इश्वरीय शक्तिको परिकल्पना जोडिएको छ।

हिन्दु धर्मको बाहुल्यता रहेका नेपाल ,भारत,बङ्गलादेश,बर्मा,भुटान आदि देशहरूमा हिन्दुको बाहुल्यता रहेको कारण यहाँ दशैं पर्वलाई विशेष महत्त्व दिएर मनाइने गरिन्छ । दशैं या विजयादशमीको नौ दिनसम्म नवरात्री भनेर पुजा गर्ने गरिन्छ।नवरात्रीमा पुजा गरिने जगदम्बाले मानवलाई प्रार्थनाको माध्यमबाट प्रसन्न भइ हातहतियार सहित विजयश्रीको वरदान पाइन्छ भन्ने जनविश्वासका कारण अहिले पनि मानिदै आएको देखिन्छ।हिन्दु संस्कृतिको गहिराइमा प्राचिनकालदेखि नै वीरता र शौर्यको मध्यकको प्रतिकको रूपमा अडेको देखिन्छ।हरेक मानिसको समाजसँगको सम्बन्ध शक्ति र शक्तिको प्राप्ति, पराक्रम/युद्धसगँ जोडिएको छ।यो आदिमकालमा जङ्गलमा आफ्नो समुहले अर्को समुहको सिकार पछि गण र कविला अस्तित्व रक्षाका लागि गरिन्थ्यो।शत्रुको आक्रमणको भय उत्पन्न हुनु अगावै शत्रुमाथि युद्ध गरि विजय प्राप्त गर्दा आफू सुरक्षित भइरहने साथै आफ्नो शक्ति सुरक्षित भइरहने यो तरिका नै राजनीतिक कुशलता हो भन्ने बुझिन थालियो र विस्तारै त्यहीँबाट कुरा स्थापित भयो।परस्परमा गर्ने युद्ध ,युद्धमा बगाउने रगत र विजय प्राप्त गर्नेले हार्ने / मर्नेको बगेको रगतबाट टीका लगाएर विजय प्राप्ति गरेको आनन्द लिने गरियो।यसरी युद्धमा लगाउने टीका,आफ्ना समुहको संरक्षणका लागि प्रयोग भयो।त्यहि टिका सयौं वर्षपछि उत्सव/सांस्कृतिक प्रचलनको रूपमा समाजमा जोडिएको कारण सामाजिक विषय बन्यो।

हामीले मनाउने दशैं पनि रामको समयमा १४ वर्षको बनवासको समयमा सीताको हरणको विषयसँग जोडेर रामले रावण सँग युद्ध गर्न प्रस्थान गरिएको दिन,मराठा शिवाजीले औरंगजेवको विरूद्ध युद्ध प्रस्तान गरेको दिनको रूपमा मान्ने प्रचलनका यस्ता उदाहरण धेरै छन्।हिन्दु परम्परामा ज्योतिषीय हिसाबले शत्रुलाई परस्त गर्न प्रस्तान गर्ने शुभ दिनको रूपमा श्रवण नक्षत्रलाई लिने गरिन्छ।महाभारतलाई आधार मान्दा यहि साइतमा दुर्योधनले पाण्डवलाई जुवामा हराए र बाह्र वर्षको वनवास र एक वर्षको गुप्तवास पठाएको देखिन्छ।राम अयोध्याका राजा भए जस्तै रावण लंकाका राजा थिए।राम राजधर्मलाई केन्द्रमा राखेर शासन गर्ने आदर्श राजा कहलिन्छन्।उनी स्वयंले सीता / उनकी पत्नी माथि राजा र पतिको हैसियतमा दुइपटक अमानविय हिंसा सीतामाथि अन्याय गरेका छन्।रावण धर्म र कर्मले चतुर शिव र पार्वतीको भक्तको रूपमा प्रस्तुत गरिएको पात्र हुन्।धार्मिक इतिहास पढ्दा रावणको वास्तविक नाम दशानन हो।दशाननको अर्थ दस टाउका बराबरको ज्ञान भएको / भरिएको व्यक्ति हुन्छ।रावणको चरित्रको अध्ययन गर्दा इश्वरीय शक्ति बसमा पार्न सक्ने नामको रूपमा चिनिन्छ।यस्ता धेरै उदाहरण मध्येको एक उदाहरण महादेव र पार्वतीलाई आफुसगँ लंका लान खोज्दा पर्वतले किचेर एक प्रकारको रोदन / स्वर निस्कियो।त्यो स्वरको नामाकरण रावण राखिएको थियो।अर्थात इश्वरीय शक्तिलाई कब्जा गर्न खोज्दा परस्त भएको पिडादायक निस्किएको थियो।त्यहीँ स्वर लाई शिवले रावण नामाकरण गरिदिएका थिए।रावणको वास्तविक नाम दशानन् हो।श्रीलंकाको त्रिंकोमाली भन्ने ठाउँमा अहिले पनि रावणको मुर्ति देख्न पाइन्छ।( तमिल पोट पत्रिका ) पह्मपुराण,श्रीमद्भागवत पुराण,कुर्मपुराण,वाल्मीकि रामायण,महाभारत,आनन्द रामायण, दशावतारचरित्र आदिमा रावणको बारेमा चर्चा गरिएको हेर्दा रावणलाई कुनै बेलाको सत्ता र शक्तिले सम्पन्न राजाको रूपमा लिन सकिन्छ।

तर कतिपय धार्मिक साहित्य पढ्दा रावण एक विम्व पात्र मात्रै को जस्तो पनि लाग्छ ।तर वाल्मीकि रामायण महाकाव्य पढ्दा रावण पुलस्त्य मुनिको नाति विश्वश्रवाको पुत्र लंका नाम गरेको नगरको सर्वशक्तिमान राजाको रूपमा प्रस्तुत गरिएको भेटिन्छ। विश्वश्रवाका दुइपत्नी थिए।त्यस मध्ये वरणीले कुबेरलाई जन्म दिइन र कैकसीले रावणलाई ! यसलाई आधार मान्ने हो भने रावण ब्रम्हाका पनाति हुन्छन्।यसरी हेर्दा पौरत्स्य दर्शनको कालखण्डमा नै विराधाभास देखिन आउँछ।जेहोस रावण विद्वान शिवभक्त थिए।उनलाई वेदवेदांग ( चारवेद र छ शास्त्र) को ज्ञान थियो।त्यहीँ ज्ञानको अभिमानको कारण रावणले धेरै स्त्रीमाथि बलात्कार गरे।रावण चरित्रमा भएका हजारौं पक्ष राम्रा भएपनि महिलामाथि बलात्कार गर्ने,ब्रह्माण्ड बध गर्ने जस्ता चरित्र निन्दनीय पक्षमा पर्दछन्।मानव जीवनसगँ जोडिएका अनेकौं चरित्र भएका विषयहरूलाई हाम्रा धर्मशास्त्रहरूले हरेक ठाउँमा प्रयोग गरेको छ।त्यसभित्र ठाउँ विषेशको जात धर्म र रङ्गलाई आफू प्रतिकुल बिम्बको रूपमा प्रस्तुत गर्दा कतिपय बेलामा हाम्रा धर्मशास्त्रहरू मानव धर्म विरोधी शास्त्र जस्तो पनि देखिन्छन् । मानिसलाई रङ्ग,क्षेत्र र धर्मको आधारमा आफ्नो र पराय मान्ने परम्परा जंगली युग / शिकारी अवस्थातिरको हो ।यहीँ कुरा विचारसगँ पनि जोडिन्छ।हाम्रो पारिवारिक संरचनाले महिला ( छोरी/बुहारी) लाई पारिवारिक सहकार्यमा सहकर्मीको रूपमा स्थान र मान गर्दैन,सहयोगी मात्रै ठान्छ ।

अहिले पनि महिला भएका कारण,महिलाको पहिरनका कारण,विवाह नभएका कारण, नातासम्बन्धभित्रको अस्तित्वसगँ महिलाको स्थान,मान जोडिएको देखिन्छ । यो जङ्गली युगदेखी जोडिएको पछौटे चरित्र हो।यस्तो गर्नु आधुनिक समाजको जंगली व्यवहार भनेर भन्दा फरक पर्दैन।त्यहि युगदेखि फरक विचारले तात्कालिन समाजमा स्थान पाएन।रावण निजि सम्पति,राज्यको स्वामित्वको समयको महत्त्वकांक्षी राजा हो।उसको महत्त्वकांक्षाभित्रको इच्छा पूरा गर्न नपाउदा रामले वानरसेनाको सहयोग लिएर रावणलाई युद्धमा जितेको कारण अहिलेसम्म विजया दशमीको रूपमा मान्ने गरिन्छ।देव,मानव र राक्षसको रूपमा आर्य,मंगोल ,द्रविण,तमिल जस्ता जातलाई रङ्ग/वर्ण र सत्ताको आधारमा छुट्याइयो।राज्य र पारिवारिक संरचनाभित्र विभेदले भेदभावपूर्ण व्यवहार देखाउन थालेको पनि यसै बेलादेखि हो भन्ने प्रसस्त आधारहरू छन्।मानविय धर्मको कुरा गर्दा हिन्दु धर्ममा उदारता,दयाभाव र करूण अधिक देखिन्छ।

धर्म मान्नै पर्ने कट्टरता पनि देखिन्न तर मानविय मूल्य,हक,अधिकार,सबै उमेर,वर्ण ,क्षेत्र र लिङ्कको विचारको सम्मान र व्यवहारमा परिवर्तनको कुरासगँ जोडिएको रूपान्तरणको वहस गर्न अझै सकिन्न।दशैं पर्वको ऐतिहासिकतासगँ देवसत्ताको संरक्षणका लागि आर्य मुलका आदिशक्ती महिला आफ्नो समुहको हितोपक्षका लागि आफ्नो यौनिकतालाई हतियार बनाएर फरक विचारकहरूलाई परस्थ गर्न पुगेको पर्वको रूपमा पनि दशैंलाई लिन सकिन्छ नव दुर्गाका नौ वटा रूप मध्ये हरेक स्त्री शक्ति यौनिक शक्ति हुन र महाकाली सर्वाङ्ग नांङो / यौवनले उन्मत रूप हो।त्यहि सर्वाङ्ग रूपको मोहमोहमा महिषाशुर पर्यो र उसको बद गरियो।यो देव र आर्यहरूको हितानुकुल थियो। सत्ता र शक्ति स्वार्थमा यस्ता कुरा गौण हुन्छन्।स्त्रीसगँ शक्ति हुदैन भन्ने मान्यता राख्ने महिषाशुरहरू जस्ताहरूले हार्नु पर्छ भन्ने कुरा पनि देखाउन खोजिएको छ।वास्तविकता चाहिँ राज्यले महिलालाई मानवको रूपमा नहेर्ने चरित्र नै हो।यसरी विश्लेषण गर्दा विजया दशमी महिला,सत्ता र शक्तिसगँ जोडिएको पर्व हो । यसले फरक विचार राख्नेलाई सफाए गरेको छ।

प्रतिक्रिया