म लेख्न छोड्दिन……. !

बाबा राजेश्वरी थापा २०७८ असोज २८ गते १६:५४ मा प्रकाशित

त्यतिबेला म ६/७ कक्षामा पढ्थे होला त्यो माधुरी दीक्षित, सलमान खान र संजय दत्तको हिन्दी सिनेमा साजन बजारमा आउदा।बुवाको जागिर प्रहरीमा, सधै घरमा बस्न पाउनु हुन्दैन थियो। आमाको आफ्नै व्यवसाय थियो। घरमा हेरचाह गर्ने कोही नभएकोले म छात्रावासमा बस्थे, धेरै चाकडी गरेपछि होस्टेल इन्चार्जले शुक्रवार हामीलाई त्यो सिनेमा हेर्ने अनुमति दिएका थिए। त्यो सिनेमाको प्रभाव मेरो दिमागमा निकै पर्यो, अपाङ्ग अमनलाइ उसको प्रशंसक पूजाले सिक्री उपहार पठाएको दृश्यले मेरो बाल मस्तिष्कमा गहिरो छाप पार्यो र मैले पनि कथा कविताहरु लेख्न थाले। मलाई लाग्थ्यो कुनै दिन मेरो पनि साजनको अमन जस्तै प्रशंसक हुन्छ, चिट्ठी र उपहार आउछ। मेरो कथाकविता गोरखापत्रको शुक्रवारको बाल संसारमा छापिन थाले पछि मलाई झन् हौसला बढ्न थाल्यो तर साजनको अमनको जस्तो कुनै प्रशंसकको चिठ्ठी भने आएन। बरु गोरखापत्रको बाल संसारमा रचना छापिए वापत पारिश्रमिक मिल्थ्यो, त्यसले मलाई लेख्न र छपाउन थप हौसला मिलेको थियो।

मेरो कथाकविता गोरखापत्रको शुक्रवारको बाल संसारमा छापिन थाले

म ९ कक्षामा पढ्दै गर्दा एकदिन अचानक हेडसरले खोज्नु भएको छ भन्दै पालेदाइ मलाई लिन कक्षामा आइपुगे, होस्टेलमा बदमाशी गर्ने केटीहरुमा पहिलो नम्बरमा म पनि थिए, मनमनै सोचे फेरी दिनभर घाममा एउटा खुट्टा उचालेर उभिनु पर्ने भयो। हेडसरको कोठामा पुगेको के थिए रातोरातो आँखा पर्दै हेडसरले सोध्नुभयो “को हो यो संजय जंग शाह?” मैले फ्याट्टै भनिदिए फुपुको छोरा जंगिदै फेरी सोध्नु भयो, “पक्का हो ?” मैले हो भनेर टाउको हल्लाए तर मलाई पनि थाहा थिएन, “को हो संजय जंग शाह” भन्ने। हेडसरले एउटा चिठ्ठी हातमा हालिदिनु भयो, म कक्षामा गए। मनमा कौतुहलता त थियो को होला यो संजय भन्ने भनेर र कति खेर त्यो चिठ्ठी खोलू जस्तो भएको थियो तर होस्टेल नफर्के सम्म चिठ्ठी पढ़ने मौका मिलेन। होस्टेल फर्केपछि चिठ्ठी लिएर बाथरुम गए।

लेखिएको थियो ”प्रिय अंशुश्री, साथी मार्फत तिम्रो स्कूलको वार्षिक पत्रिका पढ्न पाए, तिम्रो कविता साह्रै मन पर्यो, धेरै राम्रो लेख्दो रहेछौ। तिमि लेख्नकै लागि जन्मिएको हौ, तिमीलाइ सरस्वती वरदान मिलेको रहेछ, जीवनमा कहिले लेख्न नछोड है। म बैगलोरमा मेकानिकल इन्जिनियेरिग पहिलो वर्षमा पढ्दै छु, तिम्रो लेख रचनाहरु मलाई पठाउने गर है। तिम्रो प्रशंसक संजय ”

म बैगलोरमा मेकानिकल इन्जिनियेरिग पहिलो वर्षमा पढ्दै छु, तिम्रो लेख रचनाहरु मलाई पठाउने गर है। तिम्रो प्रशंसक संजय 

पहिलो प्रशंसकको पहिलो पत्र पढेर खुशी मात्र लागेन हर्षको आँशु पनि बग्यो। गोरखापत्रमा छापिएका सबै रचनाका कटिंग उसलाई हुलाक मार्फत पठाई दिए। उसले पनि आफ्नो बारेमा धेरै कुरा लेखेर फोटो सहित चिट्ठि पठायो। सेतो जिन्स र निलो पोलो टिसर्ट अनि सेतै जुत्ता लगाएको फोटो अझै पनि मैले सम्हालेर राखेको छु। मैले पनि आफ्नो सबैभन्दा राम्रो फोटो छानेर जवाफ लेखे तर उसको उत्तर आएन, मन त दुखि रहेको थियो तर जवाफ आउछ भन्ने आशा त मरेको थिएन। महिनौ बित्यो जवाफ आएन, मलाई लेख्ने जाँगर मरेको थियो। एक दिन डाइनिंग हलमा खाना खादै थिए, आया दिदि मलाई खोज्दै आउनु भयो, मेरो मामा भेट्न आउनु भएको छ भन्दै, अचम्म लाग्यो कहाँबाट मामा आउनु भयो भनेर। मामा कता हुनुहुन्छ भनेर खोज्दै थिए पछाडीबाट कसैले“अंशुश्री तिमी नै हौ” भनेर सोध्यो मैले “हो” भने उसले भन्यो “म संजय तिमीलाई चार महिना अगाडी चिट्ठी लेख्ने संजय मै हुं।”

मैले त् नाम संजय भएकोले उसलाई साजनको संजय दत्त जस्तै कपाल पालेको वैशाखी टेक्ने होला भनेर कल्पना गरेको थिए तर ऊ त धेरै फरक रहेछ। मलाई सपना कि विपना जस्तो लाग्यो, बैंगलोरबाट थुप्रै उपहार बोकेर मलाई भेट्न मेरै स्कुलमा आइपुगेको रहेछ। जाने बेला उसले फेरि भन्यो,”अंशुश्री ! सरस्वतीको बरदान थोरैलाई प्राप्त हुन्छ, तिमी लेख्नको लागि जन्मिएको हौ, लेख्न नछोड है।” केही समयपछि ऊ फेरि बैंगलोर फर्कियो म मेरो एसएलसीको तयारी गर्न थाले । चिठ्ठीपत्र आदान-प्रदान भइरहन्थ्यो, उसका हरेक पत्र माया, प्रेरणा र हौसलाले भरिएका हुन्थे । थाहै नपाइ हामी एकअर्कालाई माया गर्न थालेछौ । ऊ आफ्नो इन्जीनियरिंग सकाउदै थियो, म मेरो प्लस टुको पढ़ाई सकाउदै थिए। संजय इन्जीनियर बनेर नेपाल फर्कियो। म सफ्टवेयर इन्जीनियरिंग पढ्न बैगलोर जाने तयारीमा थिए । संजु चाहन्थ्यो बिहावारी गरेर घरजम गर्ने तर म उच्च शिक्षा पुरा गरेर मात्र बिहा गर्ने सोचमा थिए, यहि कुरामा उसको र मेरो विवाद अनि बहस हुन्थ्यो। जब विवादले चर्को रुप लिन्थ्यो म उसलाई भन्थ्ये, ”तिमी मलाई रोक्छौ भने म लेख्न छाडी दिन्छु।” मैले लेख्न छोडछु भनेर धम्काए पछि मेरो हर गल्ति माफ हुन्थ्यो, हर जिद्दी पुरा हुन्थ्यो। उसको चाहना थियो, म लेखिका बनु। पत्रपत्रिकामा छापिएको हरेक रचना उसले संगालेर राख्थ्यो।

अन्तत संजु राजी भयो तर ऊ पनि स्नाकोतरको पढ्न संगै बंगलोर जाने सर्तमा।

माओवादीको जनयुद्ध त्यहि बेला चर्किन थाल्यो। मेरो बुवा पूर्वीय जिल्लामा प्रहरी इन्जार्च हुनुहुन्थ्यो। रेडियो र टेलिभिजन अनि पत्रपत्रिकाका समाचार हेर्दा पढ्दा हामी आतिन्थ्यौ। आमाले र हामी सबैले बुवालाई जागिर छोडेर काठमाडौँ आउन धेरै सल्लाह दिन्थ्यौ तर बुवा मान्नु भएन। जिल्लाजिल्लामा प्रहरी मारिने घटनाले हाम्रो मुटु काम्थ्यो। बुवालाई धेरै सम्झायौ, अन्तत बुवाले आफ्नो सरुवा काठमाडौँ माग्नु भयो, लामो समय काठमाडौँ बाहिर बसेर प्रहरी सेवामा रहनु भएकोले बुवाको सरुवा तुरुन्तै स्वीकृत भयो। संजु र मेरो पनि बैंगलोर विश्वविद्यालयमा भर्ना भयो। बुवा काठमाडौँबाट सट्टा सरुवा इन्चार्ज गएपछि दुइ हप्तामा काठमाडौँ आउने पक्का भयो। हामी सबै खुशी थियौ, आमालाई मेरो र संजुको प्रेम सम्बन्धको बारेमा थाहा थियो तर मैले आमालाई यो कुरा बुवालाई नभनी दिन अनुरोध गरेको थिए किनकि बुवासंग डर लाग्थ्यो, बुवा अनुशासनमा बस्न रुचाउने संस्कारी व्यक्ति हुनुहुन्थ्यो, त्यसैले कतै बुवाले बैंगलोर जान पो रोक्नु हुन्छ कि भन्ने डर थियो। बुवा काठमाडौँ आउने दिन गन्दै थियौ। अचानक हाम्रो जीवनमा कालो बादल मडारियो, बुवाको जिल्लामा माओबादीले आक्रमण गर्यो, बुवालाई चरम यातना दिएर हत्या गरियो। त्यो दिन , त्यो घटना सम्झिदा मेरो आङ आज पनि सिरिंग हुन्छ। बुवाको मृत्युसंगै संसार बदलियो। सारा खुशी, सारा सपना टुक्रियो। आमाले मानसिक सन्तुलन गुमाउनु भयो, घरको जेठी छोरी म आमा र भाइको जिम्मेवारी मेरो काधमा आयो।

मेरो धमिलो संसारलाइ संजुले पनि बुझेन, बैंगलोर जान दवाव दिन थाल्यो । आमा र भाइलाई छोडेर म जाने सक्ने अवस्था भएन। बुवाको मृत्यु पछि म लेख्न नसक्ने भए, संजुले मेरो मानसिक अवस्थालाई बुझ्नै सकेन, कहिले लेख्न छोडेको त कहिले इन्जिनियेरिंग पढ्न नगएको विषयलाई लिएर विवाद बढ्न थाल्यो। सानो सानो कुरामा झगडा गरेर मलाई थप मानसिक तनाव दिएर रुवाउन थाल्यो। म आफ्नो अवस्था न उसलाई बुझाउन सक्थे, न त पिडा भुलेर मन पेट भरी रुने सक्थे।

मेरो धमिलो संसारलाइ संजुले पनि बुझेन, बैंगलोर जान दवाव दिन थाल्यो 

एक दिन उसको र मेरो निकै ठुलो झगडा भयो, रिसमा मैले पनि उसको निकै चित्त दुखाए छु। त्यसपछि उसको र मेरो भेट पातलिंदै गयो, माया त लाग्थ्यो । त्यो अवस्थामा मेरो लागि आमा र भाइको जिम्मेवारी मेरो प्रेम भन्दा महत्वपुर्ण थियो। साथीहरुबाट सुने, संजु लागु पदार्थको कुलतमा फसेको कुरा। मन भारी भयो, उसलाई फोन गरेर भेट्न बोलाए। संजुको अवस्था देखेर म धेरै रोए दुर्व्सनीको कारण हाड र छालामा परिणत भएछ, कुनै बेला हरेक केटिले आफ्नो सपनाको राजकुमार मान्ने मेरो संजु। मैले उसलाई सम्झाउन खोजे तर फेरी झगडा भयो। रिसैरिसमा उसले हप्कायो, ”हेर केटि! यो सब तेरो कारणले भएको हो, म अब आत्महत्या गरेर मरिदिन्छु, म यस्तो दिनमा मर्छु, तैले चाहेर पनि भुल्न सक्दैनस।” यति भनेर ऊ जान्छु पनि नभनी हिड्यो, मैले चाहेर पनि रोक्न सकिन, आँखाबाट आँशु झार्दै नछेकिन्जेल हेरिरहे , मानिस यति सम्म निरीह बन्दो रहेछ, समय यति सम्म क्रूर बन्दो रहेछ, रुदैरुदै घर फर्के। भाइ रुदै बसेको थियो, दिदीभाई रुदै आमा भेट्न अस्पताल गयौ।

केहि दिन पछि दशैँ थियो, बुवाको मृत्युसंगै हाम्रो भाग्यबाट चाडपर्व दशैँ तिहार सबै लुटिएको थियो। विजया दशमीको दिन साथीको फोन आयो। उसले भनी संजुलाई टिचिंग अस्पतालमा राखेको छ , भेट्न जाऊ भनेर जिद्दी गरी। म भाईलाई लिएर गए तर त्यहा मैले कल्पनै नगरेको घटना घटिसकेको रहेछ। संजुले संसार छोडी सकेछ। लास पोस्ट मार्टमको लागी लगिएको रहेछ। मलाई त्यहा देखे पछि उसको परिवारका सदस्यले मलाई हातपात गर्न शुरु भयो तर डाक्टर र नर्सहरुले मलाई प्रहरीको जिम्मा लगाएर मलाई सुरक्षा दिए।

मेरो संसार उझाडिएको त्यो दिन, हरेक वर्ष विजया दशमी आउदा म भक्कानिएर रुने गर्छु, सधै आंखाबाट बलिन्द्र आंसु बग्ने गर्छ।

संजुले संसार छोडेर गएको पाँच दिन पछि मेरो नाममा संजुको चिठ्ठी आयो, “कान्छु! न मैले तलाई बुझ्न सके न तैले मलाई बुझ्न सकिस्! तलाई म भन्दा तेरो परिवार प्यारो भयो। परिवारको साथ खुशीसाथ बांच्नु तर लेख्न कहिले नछोड्नु। सरस्वतीले तलाई इन्जीनियर बन्न होइन साहित्यकार/दार्शनिक बन्न बरदान दिएकी छिन्। आकाशमा तारा बनेर तलाई हेर्नेछु। लेख्न नछोड् है। तेरो संजु सारा संसार उजाड हुदा पनि म मर्न सकिन् ।

तेरो संजु ,सारा संसार उजाड हुदा पनि म मर्न सकिन् ।

मान्छेको जीवन हरेक चोट सहनै पर्ने र जीवनलाई निरन्तरता दिनै पर्ने । आमा बिस्तारै ठीक हुन थाल्नु भयो तर म जिउदो लास बनेर लाचार जीन्दगी घिसार्दै थिए । आमाले भाई र मलाई पढ़ाई निरन्तरता दिन कर गर्न थाल्नु भयो। मेरो त सबै कुरा अन्धकारमा धकेलिएको थियो तर अगाडी लामो जीन्दगी तेर्सिएको थियो । आमा र भाईलाई छोडेर जाने अवस्था त थिएन, फेरि बुबाका हत्याराहरुसंग बदला लिने भावना जागेर आयो साथै संजुले भनेको कुरा सोचें। मैले लेख्नु पर्छ म लेख्नकै लागि जन्मिएको हुं। मैले पत्रकारितामा स्नातक गर्न शुरु गरें। जब लेख्न कलम समात्थे संजुले हांस्दै कपाल सुम्सुमाईदिएको महशुस हुन्थ्यो । मैले पत्रकारितामा खोज पत्रकारिता रोजें। मेरो खोज पत्रकारिताकै कारण धेरैको अप्रिय बने तर लोभ र मोहबाट टाढा रहेको मलाई कसैको धम्की र त्रासले कुनै असर नै गर्दैन्थ्यो । मेरो खोजले धेरैको निद्रा हरण गरेछ, मैले पटकपटक जागिर गुमाउनु पर्यो । कहिले गाली, कहिले धम्की त कहिले चरित्रहत्या अनि कहिले दबाव।

पटकपटक मानसिक रुपमा विचलित भइरहे त्यसैले अब आइन्दा साहित्य लेख्न छोड्नुको साथै पत्रकारिता पेशा छोडेर अन्य पेशा अपनाउने अन्तिम निर्णयमा म पुगे । कामबाट राजिनामा दिए, लेख्ने पेशा छोडेको सार्वजनिक समेत गरे। केही पाठक प्रसंशकले शुभकामना दिए केहीले गाली दिए। गाली र ताली पाउने यो ग्ल्यामरस पेशालाई मैले बुझेकै थिए ।

वर्षौ पछि पुरानो घाउमा मलम लगाएर आमा, म र भाईले शान्तसंग यस पटक दशै मनाउने विचार गर्यौ। दशै मेरो लागि पीडादायक चाड त थियो नै तर भाई र आमाको लागि नाईनास्ती गर्न सकिन्।

आज विजया दशमीको दिन बिहान बुवा र संजुको फोटोमा फुल अक्षेता चढाए, भाई टिकाको तयारी गर्दै थियो, आमा मेरो कोठामा आउनु भयो र भन्नुभयो,”अंशु! यो तिम्रो चिठ्ठी आएको रहेछ, मैले भन्न भुलेछु।”

नचिनेको नाम तर खोलेर हेरे, लेखिएको थियो,”म्याडम!

खाममा लेखिएको थियो, “गोमा प्रधान, इलाम”। नचिनेको नाम तर खोलेर हेरे, लेखिएको थियो,”म्याडम! हजुरले लेख्न छोड्ने सार्वजनिक गर्नु भयो। म हजुरको ठुलो प्रसंशक हुं। मन सार्है दुखेको छ, हजुरले लेख्न छोड्ने सुनेदेखि। हजुर लेख्नको लागि जन्मिनु भएको, हामी जस्तै पाठकको मन नदुखाउनु होस न म्याडम । प्लिज लेख्न नछोड्नुहोस। हजुरको प्रसंशक गोमा।”

आंखाबाट अविरल आंसु बग्यो संजुको फोटो छातीमा टांसे!

रेडियोमा नविन के भट्टराईको गीत बजिरहेको थियो,” म माया लाउँदिनँ चोरेर लग्यौ, मेरा ती खुशी जहिले बिना मुस्कान, जिएको छु म अहिले”

गोमाको त्यो पत्र पढेपछि मेरो मुखबाट अनायस निस्कियो “ संजु! अब म लेख्न छोड्दिन!”

(कथाको पात्र र विषय काल्पनिक हुन, कसैको जीवनसंग मेल खान गए संयोग मात्र हुनेछ ।)

बाबा राजेश्वरी थापा
भिएना, अष्ट्रिया

बाबा राजेश्वरी थापा

पत्रकार ,सामाजिक अभियन्ता ,कार्यक्रम प्रस्तोता तथा लेखिका हुन् । काठमाडौँ घर भएकी थापा हाल अष्ट्रियाको भिएना बसोबास गर्छिन ।

प्रतिक्रिया