बुढीसँग प्रतिज्ञाः लघुकथा

मित्र उराठी गौतम, अमरपुर गुल्मी हालः बुटवल २०७८ असोज २६ गते ११:२० मा प्रकाशित

खसी,बोका मार हान्न, बिला लगाउन सिपालु थियो बले।गाउँमा खसी,बोका काट्नु परे पहिला उसैको खोजि हुन्थ्यो।”मिलाएर तन्काउनै पर्दैन,प्या प्या गर्दागर्दै पनि मूला छिने झैं छिन्छ।”-बलेको बहादुरीको प्रशंसा गर्दै फुर्काउँथे गाउँलेहरु।

जङ्गलमा बँदेललाई पासो थापेको थियो बलेले।पासोमा बँदेल न भै अनौठो जीव फसेको थियो।पहिले त बले डरायो पनि।नजिकै गएर हेर्दा मानवाकृति जस्तो देखियो।शरीरभरि रौँले ढाकेको,लामा लामा कान भएको नङ्ग्रा, दाह्रा पनि भएको।त्यो मानवाकृति उसले दन्त्य कथामा सुनेको राक्षस जस्तो थियो।
बलेले डराइ डराइ पासो काटिदियो।लामकाने पासो मुक्त भयो, उसले बलेलाई मुसार्यो।लामकानेले कृतज्ञता व्यक्त गरे जस्तो लाग्यो बलेलाई।

आफ्नो पछि पछि आउन इसारा गर्यो बलेलाई लामकानेले।लामकानेलाई पछ्याउँदै बले घना जङ्गल भित्र पस्यो।केहीबेरको हिँडाइमा लामकाने सँगै भयङ्कर गुफामा पुग्यो बले।त्यस गुफामा थुप्रै लामकानेहरु उसलाई झम्टन तयार भए जस्तै देख्यो।छाउराछाउरी लामकानेहरु उसलाई खान पाउने आशामा खुसीले उफ्रिरहेका जस्तो लाग्यो।यस्तो देख्दा बले डरले असिनपसिन भयो।

बलेलाई लैजाने लामकानेले सबैलाई पछि हट्ने इसारा गर्यो।सबै पछि हटेर थुचुक्क बसे।

“सायद यो लामकानेको मुखिया होला।”–बलेले अनुमान लगायो

मुखियाले बलेलाई सम्मानपूर्वक बसाल्यो।अरु सबै लामकानेले उसलाई शिर झुकाइ सम्मान व्यक्त गरे जस्तै लाग्यो।बलेको सबै डर भाग्यो।
एकैछिनमा बलेको अगाडी विभिन्न किसिमका जङ्गली फलफूल र पोलेको मासुको परिकार आइपुग्यो।
मुखियाले बलेलाई खाने इसारा गर्यो।बलेले फलफूल, मासु खायो। मुखियाले पनि सँगै खायो।
“यो त मृग, बँदेलको मासु रहेछ, निकै स्वादिलो पो छ त” –सोचेर बले मक्ख पर्यो।
बले फलफूल र मासुले तृप्त भयो

कतै बच्चा छट्पटाएर चिच्याएको जस्तो आवाज सुन्यो बलेले।त्यो आवाज अझ परिचित जस्तो लाग्यो।बलेले मुखीयालाई आवाज आएतिर जाउँ भनि इसारा गर्यो।दुबै जना आवाज आए तर्फ गए।

लामकानेहरुले लहराले बाँधेर मान्छेको बच्चा ल्याएका रहेछन्।बच्चा चिच्याइ चिच्याइ रोइरहेको थियो।लामकानेहरु कसैले हात, कसैले खुट्टा, कसैले टाउको अठ्याएर तान्दै थिए।एउटा लामकाने उसलाई काट्न तरबार उठाएर तम्तयार थियो।

बले एक्कासी बच्चा माथि झम्टिएर अङ्गालो मार्यो।उसले बच्चालाई नमार्न मुखिया सँग अनुनय, विनय गर्यो।रोइकराइ गर्यो, मुखियाको पाउ पर्यो।
“मेरो छोरा नमारीदेऊ।मेरो छोरालाई छोडिदेऊ।” – बले चिच्यायो।

“हैन, किन चिच्याउँछौ बुढा ? के भयो ? सपना पो देख्यौ कि?” –बुढीको आवाजले बले झसङ्ग भै ब्यूँझियो।

“अहो ! कस्तो नराम्रो सपना ? हैट, अबदेखि म खसी, बोका काट्दिन. प्राणी हत्या गर्दिन।” –बलेले बुढीसँग प्रतिज्ञा गर्यो।

 

प्रतिक्रिया