हर्षु राईको ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७८ असोज २५ गते २२:१२ मा प्रकाशित

धरान।गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत ” मेरो देश नेपाल’को भिडियो सार्वजनिकगरिएको छ।

सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे।गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाँकन र सम्पादनमा तयार भएको हो।

भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाईने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए।कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका उनले गीत तथा भिडियोको टिमलाई बधाई समेत दिए।

कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफुलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गर्दै सबैलाई भिडियो हेरेर शेयर गरेर सहयोग गर्न अनुरोध गरिन्।कार्यक्रममा गायिका हर्षुले ‘मेरो देश नेपाल’ र आफ्नो पुरानो गीत ‘चेलीको सिन्दुर पुछियो’ बोलका गीत सुनाएकी थिईन्।२०४३/०४४ सालबाटै जनवादी गीत गाउन सुरु गरेकी गायिका हर्षु राईले पञ्चायतीकालमा हिमायती समूहसँगै मिलेर गीत मार्फत खबरदारी गर्ने गर्थिन। २०४७ सालताका पूर्वका गाउँ गाउँमा ‘चेलीको सिउँदो पुछियो….’ जस्तो जनवादी गीत गाउँदै हिड्ने हर्षुले हिमायती समूहबाट ‘आकाशमा उड्ने चरी’,‘झरझर झरना’ लगायतका गीतहरु पनि गाएकी छिन् ।

पछिल्लो समय आधुनिक गीतमा सक्रिय उनि पूर्वका धेरै ठाउँसँगै हङकङसम्म पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।२०५१ सालमा उनले आफ्नो पहिलो एकल एल्बम ‘स्मृति’ र २०६२ मा दोस्रो एल्बम ‘प्रिति’ बजारमा ल्याइसकेकी छिन् ।लामो समय धरान उप- महानगरपालिकाको जागिरे जीवनबाट केहि बर्ष अघि मात्र अवकाश लिएकी गायिका हर्षु राईले लामो अन्तरालमा नयाँ गीत “मेरो देश नेपाल ” राष्ट्रिय भावनामा समर्पित रहेर म्यजिक भिडियो सहित ल्याएकी हुन्। “मेरो देश नेपाल ” गीतको भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ।

 

भिडियो सार्वजनिक कार्यक्रममा गायिका सोफिया गुरुङ,गायक एपी शेर्पा,सङ्गीतकार जीवन भट्टराई,धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ ,गायक/ संगीतकार नवराम राई लगायत बिभिन्न संगीतकर्मीहरु बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम संचालन इक्सा मादेनले गरेकी थिईन्।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया