विराटनगर,२१ असोज(रासस):औद्योगिक तथा शैक्षिक क्षेत्र बीचको अन्तरसम्वाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पुर्याउने अभिप्रायका साथ उद्योग सङ्गठन मोरङ अन्तर्गतको स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा इकोनोमिक ग्रोथ– आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन विषयक कार्यक्रम आज यहाँ सम्पत्र भएको छ।
कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग सङ्गठन मोरङ स्व.महेन्द्र गोल्छाले देखाएको बाटोमा अघि बढेको बताउँदै मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक र शैक्षिक क्षेत्र बीचको अन्तर सम्वादलाई घनिभूत बनाउदै अध्ययन अनुसन्धानका क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने बताउनुभयो।
उद्योगी नविन पोद्दारले ५८ मुलुकको आर्थिक तथ्याङ्ककलाई विश्लेषण गरी तयार पारेको अनुसन्धान रिर्पोट आउटवर्ड भर्सेस–इनवार्ड ओरिएन्टेशन विषयक कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिएका मुलुकले आर्थिक सम्पत्रता प्राप्त गरेको जानकारी दिनुभयो।
तुलनात्मक लाभ र मूल्य अभिवृद्धि हुने वस्तुको पहिचान गरी निर्यात प्रोत्साहनको नीतिलाई अङ्गिकार गरेका राष्ट्रहरु दु्रत गतिमा आर्थिक प्रगति तर्फ उन्मुख भएको आफनो अध्ययनका आधारमा उद्योगी पोद्दारले स्पष्ट पार्नुभयो।
कार्यक्रमका प्रदेश नं १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सरकार,नीजि क्षेत्र र विश्वविद्यालयको त्रिपक्षीय साझेदारीको आवश्यकता जोड दिँदै उच्च मूल्य अभिवृद्धिको सम्भावना भएका वस्तुहरुको पहिचान गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्नेमा जोड दिनुभयो।
प्राडा प्रमोदकुमार झाले न्याय सङ्गत आर्थिक विकासलाई अँगाल्दै अध्ययन अनुसन्धानका आधारमा नयाँ सम्भावना खोजी आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राख्नुभयो ।
स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन अनुसन्धान केन्द्रका संयोजक प्राडा विजु थपलिया, सदस्य युक्ति गोल्छा, सदस्य सचिव चुडामणि भट्टराई,फोकल पर्सन प्रीति कोईराला भट्टराई एवं उद्योगी, व्यवसायी, प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया