एउटा राजदूतको बकपत्र

कृष्णराज खनाल २०७८ असोज २० गते १:३२ मा प्रकाशित

बार्दली बाको ‘अनुचर’हरु
एकाएक
रुवाबासी गर्दै घर फर्केका छन् ।
बार्दली बाका खातिर मैले के गरिन ?
भरिभरि सुटकेट बुझाएँ
देवता भन्दा माथि राखेर
भेटी र नजराना चढाएँ,
दसैँमा आफ्नै बाको टीका नथापेर
तपाईको अघिल्तिर घुँडा धसेर टीका लगाएँ
अहिले बालुवाटारमा अर्कै बा आए
र,मलाई रातारात खुरमुर्याए।
किन यसो भयो ?
म उत्तर खोजिरहेछु।
त्यसबेला म कहिले बालुवाटार गएँ,
कहिले सिंहदरबार पुगेँ
कहिले खुमलटार गएँ
र कहिले बालकोट पुगेर
विना योग्यता
दूतका लागि बिन्ती बिसाएँ
मेरो अर्जी सुनेर
तथास्तु मर्जी भयो
र म दूत बनेर
देशाटन गएँ
अहिले एकाएक
निकम्मा बनाएर
मेरो हुर्मत लिने काम भयो
सपनामै नसोचेको घटना भयो
म फिर्ता आएको छु बा।
मैले के गरिन ?
सधैँ सीता र राधाको
आरजु र गायत्रीको
माला जपेँ
उनीहरुको खल्ती नभएको कोट धोएँ
किस्तीमा हालेर सुनका असर्फी चढाएँ
टिनका टिन तपाईँको शरीरमा
तेल घसेँ
यही योग्यता देखेरै
बा तपाईले मलाई
योग्य संझिनुभएथ्यो
तैपनि वर्षान्त नपुग्दै म खुरमुरिएँ
बार्दली बा अब म के गरुँ ?
अहिले म घर न घाटको भएको छु
एकाएक मेरो मान

मेरो शानको हुर्मत
लिने काम भएको छ
म बिलखबन्दमा परेको छु ।
अब म तपाईको बार्दली उक्लन सक्दिन
नास्तिक हुँ
त्यसैले
‘बूढानीलकण्ठ’को सामु जान नि सक्दिन
अब म के गरौँ ?
धरहराबाट फाल हालेर मरुँ कि
भ्यु टावरबाट ?
जनकपुरे रेलको लिगमा सुतेर मरुँ
कि
घरमा सल्केको ग्यास लाइनबाट ?
मलाई यसको उत्तर चाहिएको छ ।

-कृष्णराज खनाल

नर्थ क्यारोलिना,अमेरिका ।

 

 

 

प्रतिक्रिया