झन्डै १०० नेपालीहरू लण्डन म्याराथनमा सहभागी, क़रीब रु १० लाख सहयोग संकलन

इनेप्लिज २०७८ असोज १९ गते १०:४४ मा प्रकाशित

लण्डन (जीएनएन) — विश्वभरबाट करिब ८० हजार सहभागीहरुले भाग लिएको ‘लन्डन म्याराथन २०२१’ गत आइतबार सम्पन्न भएको छ । करिब ४० हजार धावकहरुले प्रत्यक्ष रुपमा र थप ४० हजारले एप मार्फत भर्चुअल रुपमा दौडमा सहभागिता जनाएका थिए ।

यो वर्ष लन्डन म्याराथनमा बेलायतस्थित नेपाली धावकहरुको राम्रो उपस्थिति थियो । करिब १०० जनाको सहभागिता रहेको नेपाल रन युकेले जनाएको छ । नेपाल रनले ८४ जना धावकहरुको नाम संकलन गरि सकेको छ भने अन्य सम्पर्क हुन नसकेका १०-१५ धावक रहेको बताइएको छ ।

चाइल्ड रेस्क्यु नेपालका लागि सहयोग संकलन

लण्डन म्याराथनमा दौडिएका नेपाल रन टिमका धावकहरुले सामूहिक रुपमा नेपालमा बालबालिकालाई बाल श्रम शोषणबाट मुक्त गरी उनीहरुको शिक्षा र लालनपालनको लागि साथ र सहयोग गरिरहेको संस्था चाइल्ड रेस्क्यु नेपालका लागि £२,२०८ पाउण्ड (नेपाली ३ लाख ५३ हजार रुपियाँ) संकलन गरेको छ ।

दौड र शारीरिक तन्दुरुस्ती अभियानमा समुदायलाई निरन्तर प्रेरणा र साथ दिन गठित नेपाल रन समूह बेलायतमा दर्ता भएर इंगल्याण्ड एथलेटिक्ससंग अनुबन्धित रहेको संस्थाका संस्थापक संयोजक सन्तोष राईले बताए । “हाम्रो क्लब सायद नेपाल बाहिर दर्ता भएको प्रथम नेपाली एथलेटिकस क्लब हुनु पर्छ,” अर्का संस्थापक अभियन्ता पाण्डव महतोले बताए ।

संस्थाले स्थापना कालदेखि छोटो अवधिमा नै भर्चुअल रन इभेन्ट र थुप्रै च्यारिटीका काम गरिसकेको र सबै भन्दा ठुलो कुरा समुदायमा सबैलाई स्वास्थ्य र तन्दुरुस्त रहन निरन्तर चेतना, हौसला र सहयोग गरिरहेको संस्थाका अर्का संस्थापक तथा सचिव डा जगन कार्कीले बताए । उनले संस्थाले संगठित रुपमा पहल सुरु गरे पछि हाल बेलायतस्थित नेपाली समुदायमा नियमित रुपमा दौडने तथा तन्दुरुस्तीका लागि समय छुट्याउने नेपालीहरुको संख्या बढेको उनले बताए।

उदेश राईको म्याराथन यात्रा

बेलायतमा हुर्किएका युवा, पेसाले इन्जिनियर उदेश देवान राईले राम्रो समय र गतिका साथ म्याराथन समापन गरेका छन् ।

नेपाल रनले कोचिङ्ग र ट्रेनीङ्ग प्लान बनाएर उदेशलाई १६ हप्ताको तालिम प्रदान गरेको थियो । संयोजक सन्तोष राईले निरन्तर तालिम र प्रशिक्षण गरेका थिए । तालिमको दौरानमा उदेशले आफ्नो ८ किलो तौल घटेको , च्यारिटी फन्ड रेज गरेको, तन्दुरुस्तीको लागि युवाहरुलाई केहि प्रेरणा दिन सकेको र जीवनमा यस्तो कठिन च्यालेन्ज गर्न सकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए ।

नेप्लिज ब्रिटिस कम्युनिटिका सदस्यहरुको बाहुल्यता रहेको नेपाल रन समूहको हरेक क्रियाकलापमा एनबिसी युकेको साथ र समर्थन रहने गरेको र यो एनबिसी युकेको एक अभिन्न अंग जस्तै रहेको भन्दै संयोजक राज ओझाले सबैलाई धन्यवाद दिए ।

एनबिसी युकेबाट सचिव रबिन्द्र अधिकारी, अन्जु सिक्देल, समिर प्याकुरेल , संजिव घिमिरे , कमल पौडेल, मुकुन्द नेपाल , शम्भु कार्की लगायतका धावकहरुको लन्डन म्याराथनमा सहभागिता रहेको थियो ।

त्यस्तैगरि निरन्तर दौडलाई प्रोत्साहन गरिरहेको डाटफोर्ड नेपाली समाजको संयोजनमा सहजीकरण संग़ै २३ जना लन्डन म्याराथनमा सहभागी भएर दौड पुरा पनि गरेको समाजका स्पोर्ट्स संयोजक प्रकाश थापाले जनाए ।

“हाम्रो उद्देश्य सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया’ रहेको भन्दै नेपाल रन समूहका अर्का संस्थापक सदस्य आत्माराम दाहालले

दौडमा निरन्तर लागेर सबैलाई हौसला र प्रेरणा दिएकोमा र तक्माका लागि हैन स्वास्थ्यको लागि दौड, योग ध्यान जरुरि रहेको भन्दै सबैलाई बधाई व्यक्त गरे ।

म्याराथन मार्फत बेलायती नेपालीहरुले अन्य संस्थाहरुका लागि पनि सहयोग संकलन गरेका छन । चार भन्ज्यांग समाजका कुञ्जन गुरुङले स्विनफेन च्यारीटेबल ट्रस्टका लागि ४,००० पाउण्ड संकलन गरेका छन् भने साहिल कैनिले किड्स फ़स्ट नेपालका लागी १,००० पाउण्ड संकलन गरेका छन ।

निरन्तर दौडमा लागेर परिवार र समुदायलाई स्वस्थ रहन प्रेरणा दिंदै आएकी नेपाल रन समुहकि निलु राई देवानले सबै सहभागीहरुलाई धन्यवाद दिइन ।

प्रतिक्रिया