लघुकथा -सिफारिश

सञ्जय साह मित्र २०७८ असोज १७ गते १६:४६ मा प्रकाशित

कम विवादास्पद र बढी स्वच्छ छवि भएकोमा करिब सबैको सहमति भएपछि निष्पक्ष छनौट गर्न मलाई एकल अधिकार दिइयो।पाँच दर्जन उम्मेदवारमध्ये आधा दर्जनलाई छनौट गर्नुपर्ने थियो स्थायी नियुक्तिको लागि।वास्तवमा म छनौट समितिमै बस्न चाहेको थिइनँ तर सामूहिक र सामाजिक काम भएकोले सबैले दबाब दिँदा अन्तमा नाइँ भन्न सकिनँ।

समितिमा नौ जना थिए।नौजनाका आफन्त र अन्य किसिमले आफ्ना मान्छे गरी डेढ दर्जन उम्मेदवार नै थिए।सायद समितिका मानिसबीच भागबन्डा मिलेको भए मलाई छनौटको एकाधिकार प्रदान गर्ने थिएन होला।भागबन्डा नमिलेपछि जोसुकैको हाओस् वा अलिकति राम्रैको होओस् भन्ने बाहिरी भनाइ तथा मलाई दबाब दिन सजिलो हुने भएकोले आफ्नो मान्छेलाई गराउन सक्छु भन्ने भित्री मनसायले मलाई जिम्मा दिइएको थियो।

मेरो नियुक्तिपत्रमा सात दिनभित्र पूर्ण स्वच्छ, निष्पक्ष र इमानदार भई योग्य उम्मेदवार छनौट गरी नियुक्ति दिने अधिकार दिइएको थियो जसमा छनौट समितिका सबैको हस्ताक्षर थियो।

मेरो कार्य व्यस्तता बढेको छ।समितिका सबैले मलाई फोनमा के कुरा गरौँ, एकपल्ट भेट्नै पर्ने भो भन्न थालेका छन्।विस्तारै सबैसित भेटघाट पनि हुँदैछ । अहिलेसम्म योग्य र इमानदारको नियुक्ति होओस् भनेर कसैले पनि भनेका छैनन् ।कम्तीमा मेरो एकजनाको होओस् भन्ने दबाब चाहिँ छ।
तर सबैले यो पनि भन्छन्–संस्था राम्रो सँग चलोस् है।

सञ्जय साह मित्र
मित्रनगर,गरुडा नगरपालिका ४,रौतहट

 

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया