मनोज दाहाल ,विराटनगर,१५ असोज।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’लाई राष्ट्रिय दलित आयोगले आर्थिक बर्ष २०७७।७८ को प्रदेश नं १ को वार्षिक प्रतिवेदन आज यहाँ वुझाएको छ।
प्रदेश प्रमुख अधिकारीलाई आयोगका प्रदेश नं १ र २ का संयोजक टुन्ज कामी बराइलीले नेपालको संविधानको धारा २९४ को उपदफा ३ बमोजिम उक्त प्रतिवेदन वुझाउनु भएको हो।
सो अवसरमा प्रमुख अधिकारीले तानाशाह शासन अन्त्यका लागि गरिने क्रान्ति जसरी नै मुलुकमा जातिय विभेद अन्त्य हुनुपर्नेमा जोड दिनु भयो।
उहाँले दलितप्रति हुने अपमानित,छुवाछुत सभ्य समाज माथिको बज्रपात सरह रहेको छ भन्दै सामन्तीहरुले शोषण गर्न जातिय वर्गीकरण गरेकोले समाजमा रहेको असमानता हटाउनु हामीसबैको दायित्व भएको धारणा राख्नु भयो।
प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन समस्या समाधानको दस्तावेज भएको चर्चा गर्दै सङ्घीयताको सफल कार्यान्वयनबाट सबै जातजातिका सामाजिक,आर्थिक,लैङ्गिक विभेद समाधान हुने बताउनु भयो।
आयोगका संयोजक बराइलीले अहिलेपनि समाजमा जातिय छुवाछुत रहेकोमा दुःख व्यक्त्त गर्दै यसको समाधानमा सङ्घ,प्रदेश र स्थानीय सरकार सम्वेदनशील हुनुपर्नेमा जोड दिनु भयो ।आयोगले वुझाएको प्रतिवेशन प्रदेश सभामा पठाइने छ।
मनोज दाहाल
पत्रकार
प्रतिक्रिया