विराटनगर,११ असोज । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमाक्षेत्रमा भारतीय पक्षबाट नेपालतर्फ फर्काएर सिसि टिभी जडान कार्य कानून विपरित भएमा हटाउन लगाउने बताउनु भएको छ ।
मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाले पछि आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले यस सम्बन्धमा संयुक्त सुरक्षा बैठकमा कुरा राख्ने र सिसि टिभि जडान कार्य दुई देशको कानून विपरित भएमा हटाउन पहल गर्ने जानकारी दिनु भयो ।
प्रजिअ दाहालले जिल्लाका सम्पूर्ण कार्यालयबाट नागरिकहरुमा हुने सेवा प्रवाह ‘जनमैत्री’ र सहज बनाउन भूमिका खेल्ने बताउँदै जनतालाई घरदैला सेवा उपलब्ध गराउन र फौजदारी कानूनका सम्बन्धमा नागरिकलाई सुसूचित गराउन अभियान सञ्चालन गर्ने धारणा राख्नु भयो ।
प्रजिअ दाहालले सीमा क्षेत्रको दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाउने सम्वन्धमा माथिल्लो निकायका जानकारी गराउनुका साथै अपराध नियन्त्रण,लागु पदार्थ सेवन,ओसारप्रसार,मानव बेचबिखन नियन्त्रणमा ठोस कदम चाल्ने बताउनु भयो।
सहायक प्रजिअद्वय शरदकुमार पोखरेल र महेशराज तिम्सिनाले कोभीडका कारणले रोकिएको राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन कार्य गएको भदौ ३१ गतेदेखि रंगेली,सुनबर्षी, ग्रामथान र रतुवामाई पालिकामा संचालन गरेको जानकारी दिँदै सम्पूर्ण प्रमाण उपलव्ध गराएमा नागरिकताको प्रमाणपत्र सोही दिन वितरण गर्ने गरी व्यवस्था मिलाइएको स्पष्ट पार्नु भयो।
नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरे,मोरङ अध्यक्ष सञ्जिव खनाल,उपसभापति तारा आचार्य,सचिव नेत्र पि अधिकारी,पूर्व उपसभापति कुमोद अधिकारी र मधेशी पत्रकार समाजका अध्यक्ष श्यामसुन्दर सुतिहार लगायतले समसामयिक विषयमा सुझाव दिनु भएको थियो ।
प्रतिक्रिया