मेरो कथा नलेखिदिनूमा डुबुल्की मार्दा

अरुणबहादुर खत्री “नदी” २०७८ असोज ११ गते २:४८ मा प्रकाशित

नारी साहित्यकार इन्दिरा प्रसाईको “मेरो कथा नलेखिदिनू” नामक कथा सङ्ग्रह २०७४ सालमा प्रकाशित भएको छ।यस कृतिभित्र कथाकार इन्दिराद्वारा लेखिएका प्रेमदूत,नौ नम्बरकी,बिहे अघिको रात,श्री लगायत विभिन्न शीर्षकका सातवटा कथाहरु समावेश छन्।कथाकार इन्दिरा प्रसाईको मेरो कथा नलेखिदिनू विज्ञान विषयक यौन कथासङ्ग्रह हो।यस सङ्ग्र्रहमा रहेका कथाहरुले नेपाली आख्यान परम्परामा एउटा नवीन द्वारको उद्घाटन गरेका छन्।मानवीय रोमाञ्च र पीडाबोध यस सङ्ग्रहका कथाको आत्मा हो।यस सङ्ग्रहका कथाहरुमा मानवीय यौन र प्रेमका भावना तथा प्रकृति र जीवनको बारेमा मनोविश्लेषणात्मक किसिमले व्याख्या गरिएको छ।यो कथासङ्ग्रह आधुनिक नेपाली कथा साहित्यको भण्डारमा थपिएको एउटा गहना हो भन्ने मेरो ठहर छ।आत्मसंस्मरणात्मक शैलीमा मानव मनको विश्लेषण गरिएको यस कथामा नारी पात्रको यौन विश्लेषणका साथै सामाजिक,सांस्कृतिक यथार्थलाई पनि उद्घाटन गरिएको छ।मानिसको प्रथम सम्बन्ध कथासँग हो वा विज्ञानसँग ? कथाकार इन्दिराको मनमा वेलाबखत यो प्रश्न आउँदो रहेछ।कथाकार फगत कल्पनामा रमाउने गर्छिन्।उनको कल्पना साकार होेला अथवा नहोला उनलाई खासै सरोकार पनि हुँदैन।बरु कथाकार आफ्ना कथामा आफूले देखेको सपना वा कल्पनालाई लिपिबद्ध गर्दाको प्रसवानन्दमा बाँच्छिन्।एउटा वैज्ञानिकले देखेको सपना वा कल्पनाका तुलनामा कथाकारको सपना र कल्पनाले यथार्थको जमिन टेक्न हम्मेसी पाउँदैन।मेरो कथा नलेखिदिनू मनोविश्लेषणात्मक कथा भएकोले यसको कथानक सूक्षम रहेको छ। नव यौवना फगुनी उत्पन्न भएका यौनका ज्वारभाटालाई प्र्रकट गर्दै मानव जीवनमा यौनको अपरिहार्यतलाई सशक्त रुपमा चित्रण गरिएको मेरो कथा नलेखिदिनू कथासङ्ग्रह यौन मनोविश्लेषणात्मक भएकाले यसको कथावस्तु सूक्ष्म रहेको छ।

यस कथासङ्ग्रह भित्रको प्रेमदूत शीर्षकको पहिलो कथामा तिम्रो प्रेममा बाँधिन पाए मैले पनि जिउँदो मुर्दाको जीवन बाँच्नबाट मुक्ति पाउँने थिएँ अविरलले लेखेको थियो।त्यसो नभन न तिम्रो पीडा म महसुस गर्न सक्छु ।तिमीलाई मैले सम्पूर्ण रुपबाट अर्पण गरेकी छैन र ? उताबाट युवतीले लेखेकी थिइ।धेरै युवतीसँग अविरलको कुराकानी हुने गरेको भए पनि अविधासँग उसको निकै घनिष्ट सम्बन्ध भैसकेको कुरा पनि उनीहरुद्वारा एकअर्कालाई लेखिएको बेहोराले बोलिरहेको धीराले बुझेकी थिइन् भनिएको छ।नौ नम्बरकी शीर्षकको कथामा रामबहादुरलाई घरै जाने पनि अब के नै आकर्षण रहयो र आफूले मन पराएर बिहे गरेर घरमा छोडेर आएकी स्वास्नीले पनि पर्खिन सकिन।पाँच वर्षपछि घर जाँदा ऊ अर्कैकी भइसकेकी रहिछे।आमाले माया गर्थिन् उनी पनि स्वर्गे भइसकिछन् भनिएको छ।बिहेअघिको रात शीर्षकको कथामा कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन्।

ऐनामा देखिएको आफ्नो अङ्गअङ्गको सुन्दरताले उनी आफै मोहित भएकी थिइन् ।कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैंलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई भनिएको छ।

इन्दिराद्वारा लेखिएका कथाहरुमा मूलतः नारी चेतना र संवेग अनि परिवर्तनका आकाङ्क्षाहरु प्रकट भएको पाइन्छ।यसमा नारी नियति छ,सङ्घर्ष र मनोविज्ञान पनि छ।जीवनमा खुसी खोज्ने क्रममा कतिपय मानिसहरुका अगाडि ऊ पटक–पटक टुक्रिएकी छे,आफूलाई दुखाएकी छे।आफ्नो बाल्यपन,किशोर अवस्था र यौवनका क्षणहरुको सम्झना र विश्लेषण गर्ने क्रममा अहिले त्यस नारीलाई लागेको छ मानिसहरु कति स–साना कुराहरुमा अल्झिएर अमूल्य समय केवल गुजार्ने काम गरिरहेका छन् र यो संसारमा आफ्नो स्वार्थबाट मात्रै निर्देशित कुनै प्राणी छ भने त्यो पनि मानिस नै हो यस कथाले भनेको छ।वर्तमान समयमा कथा लेखनमा अत्याधुनिक सोच र नवीनशैली प्रस्तुत हुने गरेका छन्।यस दृष्टिले हेर्दा इन्दिराद्वारा लेखिएका कथाहरु अध्ययन गर्दा शीर्षक,संरचना,विषयवस्तु र प्रस्तुतिमा पनि त्यसको आभाससम्म पाइँदैन।कुनै कथाको खाका बनाइसकेपछि शब्दमा नउतारुञ्जेलसम्म कथाकार इन्दिरालाई एकप्रकारको छटपटी भइरहन्छ । विशेष गरी तिनका पात्रहरुले उनका आँखावरिपरि ओहोर–दोहोर गरेर र अनेक उतार–चढावबाट परिस्थितिहरु गुज्रिएर मनलाई पीडादायी बनाइदिन्छन्।उनले उनका कथाका पात्रहरुसँग धेरैपटक खुसी साटेकी छिन्।उनलाई लाग्दो रहेछ कथा लेख्नु एउटा पीडादायी अनुभूति पनि हो।कथाकार इन्दिराका कथाहरुले पाठकको संवेदनालाई जुरमुराइदिएको पाइन्छ।कथाले पाठकको सोचाइमा श्रीपेच लगाएर स्पन्दनमा राज गर्न सकेको देखिन्छ।जीवनका प्रत्येक पल कथावस्तु हुन् भने समाजका प्रत्येक घटना कथा हुन्।कथाकार इन्दिराद्वारा लेखिएका कथाहरुमा आफ्नै विशेषताहरु छन्।इन्दिराको सम्पूर्ण कथाकारितालाई अध्ययन गर्दा उनी प्रखर सामाजिक र समकालीन चेतना भएकी अनि विविधतापूर्ण विषयहरुमा कलम चलाउन सक्ने एक नारी कथाकार हुन्।त्यो रात शीर्षकको कथाभित्र उत्तरा बिछयौनामा पुगेको केहीबेरमै कम्प्युटरमा स्वाँ… गरेर आवाज आएको थियो र कम्प्युटरबाट इन्द्रधनुष सरहको किरण बाहिर निस्केको थियो।उक्त इन्द्रधनुष हेर्दाहेर्दै मानव आकृतिमा परिणत भयो भनिएको छ।कथासङ््ग्रहको नामसँग जुधेको मेरो कथा नलेखिदिनू शीर्षकको अन्तिम कथामा वस्तुवादी अर्थशास्त्रको प्रभाव अथवा भौतिकताका नशामा परेका विकासोन्मुख मुलुकका अहिलेका अधिकांश हामी प्रौढहरु सन्तानको ऊर्जावान समय विदेशीलाई बेचिरहेका छौं। मेरा पति र म पनि तिनै प्रौढकै समूहमा छौं कथाकारले भनेकी छिन्।

इन्दिरालाई लाग्छ मानिस स्वयम् विज्ञान सम्बद्ध भएका कारण विज्ञानलाई मानिससँग छुट्याएर परिभाषित गर्न सकिदैन।अनि कथाले खनेको बाटो विज्ञानले पहिल्याउने हुँदा मानिसका लागि दुबै अन्योनयाश्रित छन् भन्ने पनि कथाकारलाई लाग्छ।आख्यान रचना गर्नु सर्वप्रथम उनको रहर थियो।विस्तारै विस्तारै लेखनक्षेत्र उनको आवश्यकता बन्यो र क्रमशःआख्यान रचना उनका लागि धर्म बन्यो । यसै धर्म पालनका क्रममा झण्डै तीस वर्ष अघि लेखिएको मास्कमा विज्ञानको प्रवेश गराउने प्रयत्न समेत जोडेर उनीबाट विविध कालखण्डमा सिर्जना भएका कथाहरु सँगालेर मेरो कथा नलेखिदिनू नामक कथासङ्ग्रह निस्कन सक्यो।यस सङ्ग्रहका कथामा प्रेमील जीवनका नारी र पुरुष विभिन्न रङमा आ–आफ्नै संसारमा फुलेका देख्न पाइन्छन्।

उनका कथाहरु लामा र अभिरुचिपूर्ण छन्।इन्दिरा साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएकी नारी हस्ताक्षर हुन्।साहित्य लेखनमा डुब्ने लेखकहरु खाली बस्न सक्दैनन्।केही न केही लेखिरहेका हुन्छन्।उनको कथालेखन अगाडि बढ्दै जाओस्।आउंदा दिनमा अरु कथाहरु जन्मन सकोस् भन्ने चाहान्छु।मेरो हार्दिक शुभेच्छा।

अरुणबहादुर खत्री “नदी”

प्रकाशकः नइ प्रकाशन
संस्करणः पहिलो २०७४
मूल्यः रु.२००।– सामाखुशी मार्ग,९३५÷५४,
पृष्ठः १३२ वडा नं.२६,सरकारी धारा,काठमाडौ.

 

प्रतिक्रिया