दृश्य १
विद्यार्थी: ( फोनमा) सर! कक्षा ११ को फाराम भर्ने म्याद कहिले सम्म छ?
शिक्षक: त्यो त एक साता अघि नै सकियो…किन र?
विद्यार्थी: म त यता ईण्डिया तिर छु सर,कमाउनको लागि आएको,यो वर्ष पनि खेर गयो।
दृश्य २:
अभिभावक: ल सर आजदेखि यसको ( छोरालाइ देखाउँदै) जिम्मा । पिटी पिटी पढाउनु होला, म केही भन्दिन।
शिक्षक: हैन, सिकाइ त शिक्षक र विद्यार्थी अनि अभिभावक सबै मिले मात्र हुन्छ, जिम्मा भन्ने हुँदैन। विद्यार्थी त स्कूलमा छ घण्टा मात्र हुन्छ, अठार घण्टा त तपाईँहरूसँगै हुन्छ।
अभिभावक: हैन सर, हामीले त खूब पिट्दथ्यौँ, आजकाल त हामीले पिट्न खोज्दा उल्टै पिटुँला झैँ गर्छ।सपारीदिनु पर्यो सरले। घरै छोड्छु भन्छ।
शिक्षक: झन् घर त पहिलो पाठशाला हो र तपाईँहरू पहिलो गुरु।जन्मँदैमा कोही बच्चा नराम्रो हुँदैन, यदि नराम्रो हुन्छ भने हाम्रा सङ्गत,उनीहरू प्रति गरिने व्यवहारले।त्यसैले हामी हाम्रो तर्फबाट प्रयास गर्छौँ तपाईं पनि आफ्नो तर्फबाट गर्नुहोस्।
दृश्य ३:
शिक्षक: क-कसले गृहकार्य गरेका छौ? देखाऊ त।
विद्यार्थी: (धेरैले न गृहकार्य देखाउँछन्, न बोल्छन्….)
शिक्षक: (एउटा गृहकार्य नगरेकोसँग) तिमीले गृहकार्य किन नगरेको?
त्यो विद्यार्थी: सर, स्कूलबाट गएपछि लेबरी गर्न ( श्रमिक बन्न) जानुपर्छ,त्यसैले।
अर्को विद्यार्थी: कपि किन्ने पैसा थिएन सर।
तेस्रो विद्यार्थी: घरमा कोही छैनन्, बहिनीलाई अस्पताल लानु थियो सर।
दृश्य ४:
(चौतारीमा अभिभावकहरू यत्रतत्र)
अभिभावक १: फलानो मास्टर पढाउँदा शोषणरहित समाजको, बालविवाहको विरोधी,संविधानसभाको कुरा गर्दो रै’छ, शिक्षकको काम पढाउने हो, राजनीति गर्ने होईन।
अभिभावक २: यी स्कूलका मास्टरले त हामी नेतालाई टेरपुच्छर नै लाउँदैनन्, पख्नुस् न, कुनै पदमा त पुगौँ।
अभिभावक ३: अरू त अरू, ५ अङ्क नपुग्दा पनि मेरो छोरालाई फेल गराईदिए।
अभिभावक ४: आखिरमा शिक्षकले यस्ता कुरा नसिकाए कसले सिकाउँछ त? हाम्रा नानी बाबुलाई हामीले सिकाउन नसकेको कुरा शिक्षकले सिकाउनु हुन्छ,यो खुशीको कुरा हो,विद्यालयमा पढाउने समयमा पढाए त भैगो,त्यसपछिको जीवन जीउने स्वतन्त्रता शिक्षकहरूको पनि हुन्छ।
दृश्य ५:
(बाटोमा)
शिक्षक: (विद्यार्थीसँग) हैन, तिमीले कक्षा नलिएको धेरै भो, किन हो ?
विद्यार्थी: सर, म कोरियन भाषा सिक्न ईन्स्टीच्युट जान्छु त्यसैले।यो पढाइले आखिर केही हुने हैन,विदेश नगईकन।
शिक्षक: त्यो त हो तर यो माध्यमिक तहको शिक्षा प्राप्त नगरी विदेश गए पनि केही हुने हैन, साक्षर हुनु त पर्यो, देशले नै रोजगारी दिएमा आफ्नै देशमा बसी देश विकास गर्ने मौका पाईन्छ,घरमा रेखदेख हुन्छ,त्यसैले यतातिर पनि सोच्ने कि?
दृश्य ६:
(२ दशक अघिको एउटा चिया पसल)
शिक्षक १: (चिया खाईसकेपछि अर्को शिक्षकले गिलाँस माझेको देखेर हैरान हुँदै) हैन सर पैसा तिरेर चिया खाएपछि किन गिलाँस सफा गरेको?
गिलाँस सफा गर्ने शिक्षक: नमाझेर के गर्ने सर,भोलिदेखि फेरि चिया खान पाइँदैन, नमाझेसम्म।
दृश्य ७:
(विद्यालय कार्यालय)
अभिभावक: ( संविधान देखाउँदै प्र.अ.सँग) सर, यो संविधानमा त विद्यालय शिक्षा नि: शुल्क भनेर लेखिएको छ त.. अनि शुल्क किन तिर्नु पर्ने?
प्र.अ.: तपाईँले भनेको ठिक हो, म बुझुँला।
(बुझ्दा बुझ्दै परीक्षा आईपुग्छ, शुल्क नतिरे परीक्षामा बस्न नपाईने सूचना आउँछ,अभिभावक ऋण गरेर शुल्क तिर्न बाध्य हुन्छन्।)
दृश्य ८:
(चिया पसलमा)
शिक्षक १: (शिक्षक २ सँग, एउटा जेहेन्दार विद्यार्थीको नाम लिँदै) तपाईँको विषयमा त्यो विद्यार्थीले कस्तो गरेको छ?
शिक्षक २: कुन विद्यार्थी हो ? मैले चिनिँन,त्यो त मसँग ट्युशन पढ्दैन।
शिक्षक ३: शिक्षक भनेको मानिसको जीवन उत्तम गराउने मार्गनिर्देशक पनि हो,ट्युशन नपढ्दैमा नचिन्ने भन्ने होईन, ट्युशन नपढ्ने विद्यार्थी पनि जेहेन्दार हुनसक्छ,असल हुन सक्छ,अझ हामीले त ट्युशन नपढीकन कक्षामै पुग्ने क्रियाकलाप गर्नुपर्छ।
-कोमल अधिकारी,टिकापुर,कैलाली
प्रतिक्रिया