मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:२८
वासिङटन डिसी 18:43

दोहोरिएको सपना

-राम अधिकारी २०७८ असोज ४ गते ११:३० मा प्रकाशित

 

श्वेता प्रायः साँझ केही न केही पढिरहेकी हुन्छे। साहित्य, खोज, पत्रकारिता र लेखन उसका रुचिका क्षेत्र हुन्। महिला हुनुको नाताले ऊ बढी महिला समानता, फेमिनिजम अभियान र बहसमा बढी केन्द्रित हुने प्रयास गर्दछे।

अझ भनौँ न ऊ अधिकारवादी हो, ऊ विद्रोही हो, आफ्नै मनको र संकीर्ण समाजको। सायद नारीवादीभन्दा पनि ऊ ज्यादा सामाजिक अभियन्ता हो। छोटादेखि लामा बहसमा ऊ आफ्नो भनाइ र तर्क प्रस्तुत गर्न प्रायः प्रयासरत नै रहन्छे।

उसको अफिस बुधबार साप्ताहिकको कार्यालयमा उसका छलफलका विषय यस्तै यस्तै रहन्छन्। पत्रिकाहरुमा नारीको शरीरलाई लिएर गरिएको भद्दा मजाकप्रति ऊ सधैँ आलोचनात्मक छे।

पुरुषहरुसँग हुने बहसमा ऊ अझ कठोरता साथ प्रस्तुत हुन्छे। ऊ केटाहरुसँग वा पुरुषहरुसँग विचार चिन्तन र तर्कको लडाइँ लडिरहेकी हुन्छे। यही लडाइँ र दम्भले उसलाई अहिलेसम्म लगनगाँठो जुराइदिन सकेन।

ऊ आफ्नो कुरामा अरुलाई डोर्याउन चाहन्छे चाहे त्यो पुरुष होस्, चाहे त्यो महिला। कतिले उसको प्रशंसा गर्छन् त कतिले उसका विरुद्ध असहमति ओकल्छन्। असहमति राख्नेसँग ऊ अझ कठोर छे।

पुरुषवादी समाजले हुर्काएका पुरुष पात्रहरु सामु ऊ अपाच्य छे अथवा पुरुषहरूको हैकम मौलाइरहेको समाजमा ऊ आफै पुड्की छे। भनौँ न पुरुषवादी समाजले उसलाई पचाउन सकेको छैन। सायद फेमिनिस्ट आँखाले पनि उसलाई उग्र रुपमा हेरेको पनि हुनसक्छ।

उसको आकर्षक व्यक्तित्व पुरुषवादी पुरुषहरुबीच पनि चर्चित छ। त्यसैको बाछिटा स्वरुप पुरुषहरु उसलाई प्रेम प्रस्ताव राख्छन्। हुनसक्छ स्वार्थले प्रेम प्रस्ताव राख्छन्, हुनसक्छ मनको गहिराइबाट उसलाई प्रेम प्रस्ताव राख्छन्। कति प्रस्तावहरू उसका छलफलमै वर्जित छन्। तर, उसले छलफलको कुनै सम्भावना देख्दिन।

सम्भावना ठानिएका प्रस्तावहरु प्रस्तावका स्वार्थले वा श्वेताको दम्भले गहिरिन सक्दैनन्। वास्तविक प्रेम बन्न सक्दैनन्, अथवा त्यो बाटोमा अगाडि बढ्नै सक्दैनन्।

कतिपय प्रस्ताव स्वार्थमा रुपान्तरण भएका छन्। शारीरिक स्वार्थ, संवेदनाको स्वार्थ र सम्भोगको स्वार्थले उसको मन कतिबेला कतिबेला अमिलो बनाइदिएको छ। सम्बन्धमा घृणा जन्माइदिएको छ। श्वेतालाई एक्लो बनाइदिएको छ।

आफूलाई बोल्ड केटी भन्ने श्वेतालाई टुक्र्याइदिएको छ। छिन्नभिन्न बनाइदिएको छ। आफ्नै दम्भले साँच्चीकै गुलाफ बोकेर आउनेलाई त्यसकै काँडाले घोचिदिएको छ। कतिपय अरुका र कतिपय आफ्नै दृष्टिकोणले उसलाई एक्लै बनाइदिएको छ।

३४ औं जन्मदिनको साँझ सुधीरले स्वार्थको प्रस्ताव राखेर गएको छ। श्वेता उसको प्रस्तावमा अलमलमा छे। के सुधीरले स्वार्थको प्रस्ताव राखेर गएको हो? के जन्मदिनको केक बोकेर आएको सुधीर पुरुषत्व पनि बोकेर आएको थियो? यसले अब श्वेतालाई नराम्रोसँग गिजोलेको छ।

कुनै पनि जन्मदिनमा केक नकाटेकी श्वेता एउटै जन्मदिनको केकमा केकसँगै काटिएकी छे तर उत्सुकताले, कौतुहलताले र सपनाहरुले। सायद कसैको जिन्दगीको स्वार्थसँगै ऊ धेरै समयपछि नराम्रोसँग गिजोलिएकी छ।

कोठामा आफ्नै बुधबार साप्ताहिक पढिरहेकी श्वेता अलिअलि थकान महसुस गर्छे। दिनभरिको अफिस र अफिस छुटेपछि चियागफले दिने मानसिक मथिङ्गलले कोठा पुगिसक्दा उसको शरीर र टाउको नै भारी भइसकेको हुन्छ। बागबजारबाट कीर्तिपुर आइपुग्दा केही समय लागिहाल्छ। थकित श्वेता झ्यालको एउटा खापा खोलेर चिसो हावाको शितलता महसुस गर्दै टोलाउँछे।

खाना खाइसकेर सुत्नुभन्दा अघि फ्रेस हुने उसको तरिका हो। कीर्तिपुरको ट्याङलाबाट कलंकी, बल्खु र थानकोट झिलीमिली देखिन्छ। चन्द्रागिरिको मोहकता पनि अलिअलि महसुस गर्छे। अझ चन्द्रागिरिको टुप्पोबाट देखिएको उपत्यकाको सुन्दरताले उसलाई ज्यादा लोभ्याउने गर्छ।

एकाएक उसका आँखा लोलाउँछन। पत्रिका, झ्यालबाहिरको दृश्य र टेबलको फूल एकाएक धमिला हुन्छन्। चेतना विस्तारै लुलो भएर जान्छ। आँखामा अनेकौ दृश्यहरु नाच्न थाल्छन्।

” एकाएक आँखाका अगाडि कुनै युवकको स्वरुप देखियो। अनि मैले आफूलाई छिटोछिटो सम्हाल्ने कोसिस गरेँ। तर उ अगाडि नै आइसक्यो। म आत्तिएर घोप्टो परेँ। मलाई लाज लाग्यो। मेरो कोठामा कसरी पुरुषको प्रवेश भयो? मैले उसलाई कोल्टे फर्किएर हेरे। ऊ हाँसिरहेको थियो। उसले मलाई हेरिरहेको थियो तर बोलिरहेको थिएन।

यत्तिकैमा मैले भने- ‘बस न।’

ऊ विस्तारै नजिक आएर बस्यो। उसले केही पल मलाई हेर्यो। त्यसपछि कोठालाई नियालिरह्यो। झ्यालको खापाबाट बाहिर हेर्यो। छेउमै टेबलको फूल हेर्यो।

‘कस्तो राम्रो फूल’ भन्यो।

सँगै जोडिएको भान्सा हेर्यो। अन्त्यमा उसले मेरो जवानी हेर्यो।

अव्यवस्थित र नसम्हाली राखिएको मेरो शरीर हेर्यो र एकछिनमा बोल्यो- ‘श्वेता, मलाई किन हो भेटुँ जस्तो लाग्यो। त्यसैले तिमीलाई खबरै नगरी सिधैँ आएँ।’

उसले फेरि सोध्यो- ‘के छ, सन्चै छौ? यो हप्ता मलाई सम्झँदा पनि सम्झिनौ।’

त्यसपछि मैले भनेँ- ‘एकपटक फोन गरेको भए पनि हुने थियो। यसरी हतार हतार तिमीलाई आउन के आवश्यक थियो र?’

म यति बोलिसकेपछि ऊ एकछिन मौन बसिरह्यो। म पनि चुपचाप भइदिएँ। कोठामा एक्लै भएको बेला ऊ अकस्मात आउँदा मेरो मनमा धेरै कुराहरु आउनै सकेन। न त उसले कुराकानीलाई अगाडि बढाउने चेष्टा नै गर्यो। कोठामा एकछिन मौनता छायो। न त म खुलेर बोल्न सकेँ, न ऊ बोल्न सक्यो। ऊ अकस्मात उठ्यो। म एकहोरोपनाबाट विचलित भएँ।

केही छिनपछि भन्यो- ‘भेटे जस्तो फोनमा कुरा गरेर कहाँ हुन्छ र श्वेता, ल बस है अहिले म जान्छु।’

ऊ एकैछिनमा त्यहाँबाट हरायो। मलाई अप्ठ्यारो हुँदै गयो। मनमा छट्पटी हुन थाल्यो। छेउको सिरानी च्यापेर घोप्टिएँ। युवकका अगाडि लुकाएर राखेको शरीर खोलिदिए र छरपष्ट पारिदिएँ। शरीरमा केही शीतल भएजस्तो लाग्यो। केही छटपटी भने भइरह्यो। हात र खुट्टाहरु कहिले यता कहिले उता गरिरहे।

छेउको टेबलमा हात ठोकिएपछि श्वेताको निन्द्रा खुल्यो। ऊ झसंग भई। सुत्नुभन्दा अगाडि बत्ती निभाइसकेकी हुनाले कोठा पुरै अध्यारो थियो। बाहिर चलेको चिसो हावाले झ्यालको एउटा खापाबाट छिरेर कोठाभरि चिसो बनाएको थियो। पातलो ब्ल्यांकेट ओडेर सुतेकी श्वेता चिसो हुँदाहुँदै उकुसमुकुस महसुस गरी।

उसलाई प्यास लागेजस्तो भयो। टेबलमा रहेको बोतलबाट पानी खाई। एकछिन बत्ती बालेर बसी। भर्खर एघार बजेको थियो। सपनाले गर्दा मध्यरातमा निन्द्रा खुलेको थियो। अझ उसको निन्द्रा खुल्नुमा सपनामा देखिएको सुधीर थियो। सुधीरको अनुहार अलिअलि याद आएपनि धेरै कुरा सम्झन सकिन।

उसो त उसले सपना प्रायः छिट्टै बिर्सन्छे। धेरै सपनाहरु त बिहान उठ्दा दिमागबाट हराइसकेका हुन्छन्। सपना नै देखेर ऊ रातिमा त जाग्दिन थिई। प्रायः बढी प्यास लागेको बेला वा पिसाबले च्यापेको बेलामा मात्र उसको निन्द्रा खुल्थ्यो। भर्खरै उसको ३४ औँ जन्मदिनको दिन सुधीरलाई भेटेकी थिई। अर्थात् सुधीर नै उसलाई केक लिएर भेट्न आएको थियो। केकसँगै सुधीरले स्वार्थको प्रस्ताव पनि राखेर गएको थियो।

सुधीरको प्रस्ताव श्वेताका लागि के प्रेमको प्रस्ताव थियो? यस्तै कुराहरु श्वेताका मनमा खेलीरह्यो। के सुधीर उसका लागि सपनाको महानायक थियो? के सँगै कलेज पढेकी सहपाठी नीलमको बुढो उसको पनि प्रेमी हुन सक्छ त? सुधीर सपनामा आउनु के उसको मृगतृष्णा थियो? अथवा सहपाठीले भोग गरिरहेको प्रेम उन्मादको डाहा थियो। अथवा के त्यो भुङ्ग्रोमा पाक्न नसकेर उछिट्टिएको सुधीर प्रतिको करुणा थियो?

श्वेतालाई यी सब कुराहरु निर्क्योल गर्न नै आएन। उसलाई यो सपनाको वेग कुन प्रकारको हो भन्न गाह्रो भयो। एक मनले त उसलाई लाग्यो साप्ताहिकको अफिसमा उसले खुवाउने मिठो दूध चियाको सामान्य तलतल मात्र हो। बारम्बार बोलिरहने, बारम्बार आँखा जुधाइरहने युवकको सामिप्यता र मन्थन हो भन्ने लाग्यो।

वास्तवमा कुनै बेला धेरै मनले खाएका अरु युवकहरु पनि उसको सपनामा आएका थिए। कहिलेकाहीँ त हिन्दी फिल्मका केही हिरोहरू समेत सपनामा देख्थी र आत्मीय बन्थी। सुधीरलाई देखेको र भेटेको पहिलो दिनमै ऊ वाह! भन्ने भएकी थिई। अझ भन्ने हो भने जन्मदिनको उपहार र प्रस्तावले उसलाई भित्रदेखि उक्साइदिएको हुनसक्छ। तर ऊ आयो, ऊ गयो, किन आयो? किन त्यसै गयो? जस्ता प्रश्नहरू उसको मनमा खेलिरहे। रात अझ धेरै बाँकी रहेकाले घोप्टो परेर निदाउने प्रयास भने गरिरही।

“ऊ मेरो बिछ्याउनीको नजिकै बस्यो र मलाई जिस्काउ नलाग्यो। ‘तिमी कत्ति लोभलाग्दी छौ। अझ मनकी राम्री छौ।’

म लजाएर भनेँ ‘किन जिस्क्याएको, सिधैँ प्रेम-प्रस्ताव राखे भइहाल्यो।’

उसले भन्यो ‘होइन श्वेता, म ती औपचारिकताबाट टाढै हुन चाहन्छु।’

र थप्यो ‘अझ यी लामा-लामा नङले तिम्रो हातलाई कति शोभायमान पारिदिएको छ’ भन्दै मेरो एउटा हात समात्यो।

तत्काल मैले हात फुत्काएँ। अनि फेरि कोठा वरिपरि हेरेँ। सुधीर र म मात्र कोठामा छौं। साँझ पर्न लागिसकेको छ। छेउका बाटाहरु सुनसान सुनिन्छन्। मैले उसको हातबाट मेरो हात हटाए पनि त्यो काउकुतीको स्पर्श भने आइरह्यो। मैले पनि उसलाई उसका साप्रामा थप्पड मारेँ। उसले कुनै प्रतिक्रिया फर्काएन।

नीलमको बुढो हुनुको नाताले ऊसँग नजिकिन केही अप्ठ्यारो त अवश्य पनि लाग्छ तर ऊसँग नजिक हुन पनि हजारौं बहानाहरु छन्।

उसले मेरो जीउको प्रशंसा गर्यो। घर बस्दा लगाउने टिसर्टको समेत प्रशंसा गर्थो। साह्रै सुहाएको कुरा गर्यो। म मनमनै हाँसीरहे। मैले खानाखाने प्रस्ताव गरेँ। उसले इन्कार गर्यो र सँगै चिया खाएर छुटिने प्रस्ताव गर्यो।

‘घरमा नीलम र छोरी मलाई नै कुरिरहेका होलान्’ भन्दै थियो।

वास्तवमा उसको उपस्थितिलाई पनि मैले सहज बनाइदिएँ। अन्ततः उसको आगमनलाई स्वागत नै गरेँ। ऊसँग खुलेर कुरा गरेँ। साप्ताहिकको अफिसमा गरिने गफगाफभन्दा पनि अलि नजिकिँदो तरिकाले कुरा गरेँ। उसका अप्रत्यासित हातका स्पर्शहरु सहर्ष स्वीकार गरेँ। मैले पनि उसका सुकिलो-मुकिलो लाग्ने शरीरको प्रशंसा गरेँ।

उसले थप्यो- ‘श्वेता वास्तवमा तिमीलाई नदेखेमा नभेटेमा मलाई उकुसमुकुस हुन्छ। सायद मनमा छटपट्टी चलिरहन्छ।’

मैले पनि भनेँ- ‘के अब म तिम्रो प्रेमी बनुँ? के म तिमीलाई लुकेर प्रेम गरिरहुँ?’

सुधीर फर्काउँछ- ‘मेरो प्रश्नको आशय त्यो होइन।’

म उसको प्रतिक्रिया नै नसुनी थप्छु- ‘के म तिमी र नीलमको उपहास हेर्न चाहन्छु र? के म औपचारिक जिन्दगीलाई तहसनहस र अव्यवस्थित बनाउन उद्धत हुन्छु होला?’

उसले फेरि थप्यो- ‘त्यो गहिराइमा नजाउँ। तर म तिमीलाई गहिरो महसुस गर्न चाहन्छु। तिमीलाई बोध गर्न चाहन्छु।’

एकाएक सुधीर अदृश्य भयो। छेउमै थियो। कता हरायो? मैले बुझ्नै सकिनँ ऊ प्रेमको वा भनुँ सम्बन्धको कुन गहिराइमा पुग्न चाहेको हो? के पुरुषहरु दैत सम्बन्धमा रमाउन आतुर हुन्छन्? गोरो अनुहार, छोटो-छोटो कपाल, दुब्लो सिलिक्क परेको शरीर मेरो आँखा अगाडिबाटै विलीन भयो। मेरो श्वास बढ्यो शरीरमा एकप्रकारको छटपटी भैरह्यो। मुख सुक्यो, छटपटी अझै बढ्यो। ”

श्वेता झसंग भई। पलङबाट भुइँमा खसेपछि उसलाई शरीरमा पीडा भएजस्तो भयो। के-के तरिकाले शरीर बोझिलो लाग्दै गयो। उसलाई सपनाको धुमिल दृश्यले घेरिरह्यो। फेरि उसले आफ्नै कोठा र युवक देखि। जो बारम्बार आइरहेको छ। श्वेतालाई लागिरह्यो किन यस्तो भइरहेको छ।

अर्थात् फेरि पनि उसले परिचित युवक सुधीरलाई सपनामा देखि। उसलाई लाग्यो यो संवेगको विचलन हो। उसलाई लाग्यो यो प्रेमको मिराज हो। जहाँ एउटा मृगिणी पानीको अभावमा तड्पिरहेकी छ। सायद चेतन मनमा पहिलोपटक देखेदेखि नै बसेको सुधीर प्रतिको धारणा होकि?

वास्तवमा कुनै समय उसले सुधीरलाई साप्ताहिकको अफिसमा पहिलो पटक देख्दा जिब्रो टोक्ने भएकी थिई। त्यतिबेला केही समयसम्म सुधीर उसको मन मस्तिष्कमा बसिरह्यो तर पछि श्वेताको मनबाट त्यस्ता कल्पना विस्तारै हराएर गए। यो सब पुरुषप्रतिको आकर्षण त अवश्य हो। जीवनको स्खलन, अथवा छुटेका प्रयासहरु प्रतिको असीम मोह पनि हो। सायद आज सुधीरसँग जोडिएर आएको दोहोरिएको सपना एउटा यथार्थको र व्यावहारिकताको खोजी गर्दै मनमा चलेको द्वन्द हो।

भित्ताको घडीले बाह्र बजेर तीस मिनेट देखाइसक्यो। श्वेतालाई यतिखेरसम्म सपनाले सुत्न पनि दिएन। उसले सपना पूराका पूरा पनि सम्झन सकेकी छैन। खालि धुमिल चिज नाचिरहेको छ। टुक्रा-टुक्रामा सपनाका बिम्बहरुलाई जोड्ने प्रयास गरीरहेकी छे।

अघि जस्तै खुला झ्यालबाट चिसो बतास आइरहेको छ। बाटो त सुनसान नै सुनिन्छ। चेतना वा सोच्ने क्षमता शिथिल छ। के गलत, के सही, के ठिक, के बेठिक छुट्याउने जाँगरसम्म उसमा छैन।

सोह्र सत्रको उमेरपछि पनि नदेखिएका प्रेम आकांक्षाका चाहना र सपना उसको जीवनमा तीन दशक कटिसकेपछि जुर्मुराउन थालेका छन्। जन्मदिनको पहिलो औपचारिक उत्सवले वीणाको तार बजाइदिएको हो कि? अझ सुधीरको अमर्यादित प्रस्तावले आकांक्षाको ढोका खोलिदिएको हो कि? मरेर गएको, विलीन हुन खोज्दै गरेको यौवनको ताप बढेको हो कि? अथवा तृष्णाको मिराज अझ उद्वेलित हुन खोज्दै होकि?

हुन त उसलाई कलेज पढ्दाताका जस्तो राजनीतिक बौद्धिकता, प्रेमिल तुच्छता र अहमको पराकाष्टाले अहिले धेरै पछाडि धकेलेको छ। विवाह सम्बन्धी अमर्यादित परिभाषा तिलान्जी त भएर गएका छन्।

कुनै बेला ऊसँग आगो थियो, आगो फुकेर भात पकाउने दृष्टि थिएन। अहिले त्यो तृष्णाको मिराज मुखरित भएको छ तर जवानीको आगो भने अब धिपधिप भएको छ। यस्तै कुराहरु सोच्दै श्वेता ब्ल्यांकेटको न्यानोमा टोलाइरही।

दिमाग र शरीर सँगसँगै शिथिल भयो। उसले अहिलेलाई भुल्न खोजी, पहिलेलाई पनि भुल्न खोजी र सपनालाई पनि पूर्णतः भुल्न नै खोजी र फेरि निदाउने प्रयास गरी।

” ऊ हाँस्दै आइपुग्यो म शरीरलाई ब्ल्यांकेटले ढाकेर कोल्टे फर्केर पढिरहेकी छु। सुत्ने बेला भैसकेको थियो। मैले त खाना पनि खाइसकेको थिएँ। सायद साँढे नौसम्म त ऊ पनि खाना नखाई बसेन होला। तर ऊ मेरो कोठामा हुँदा खासै अचम्म भने लागेन। उसले मलाई उठायो। म शरीरलाई सम्हाली सम्हाली उठेँ।

ऊ पनि मेरै नजिकै आएर बसीदियो। हामीबीच कुराकानीहरु सुरु भए। लामा-लामा कुराहरु भए। म देखिरहेकी छु, उसको आँखामा एउटा भोक छ, एउटा उन्माद छ। त्यो उन्माद र भोक व्यक्तिगत असन्तुष्टिको पनि हुनसक्छ। त्यो असन्तुष्टि ऊ पोख्न चाहन्छ होला।

उसले चुलो बालेर कागती हालेर चिया बनायो र गफको रफ्तारलाई अझ तीव्र बनायो। उसलाई मौका चाहिएको थियो र मलाई प्रेम। म पनि कतै अडिन चाहन्थेँ। थाकेको महसुस गरेको जिन्दगीलाई कतै बिसाउन चाहन्थेँ।

निला चलचित्रहरुमा देखिएका भल्गर र अमर्यादित दृश्यहरुका गहिराइमा आफूलाई पुर्याउन चाहन्थेँ। उसले कुरै कुरामा मलाई माया गर्ने कुरा पो बतायो।

अनि मैले सोधेँ- ‘नीलमलाई गर्दैनौँ?’

उसले भन्यो- ‘अवश्य पनि गर्छु तर तिमीसँग केही अफट्र्याक हुन चाहन्छु।’

र फेरि थप्यो- ‘केही भोगाइहरु छन्, बाध्यताका भोगाइहरु छन्। साट्न चाहन्छु र अलि हल्का हुन चाहन्छु।’

अबको मेरो बुझाइमा सुधीर नीलमसँग सन्तुष्ट वा खुसी छैन। नीलमको केही कमजोरी हो वा एक पुरुषको अमर्यादित उद्वेलन हो। मैले यी सब कुराहरू नजरअन्दाज गरी दिएँ। यतिकैमा उसले मलाई अंगालो हाल्न आफूतिर तान्ने प्रयास गर्यो तर उसलाई मैले पर धकेलिदिएँ। ”

पलङको बारमा हात ठोकिएपछि ऊ जुरुक्क उठी। कोठाको बत्ती बाली, घडीमा दुई बजेको मात्र छ। उसले लामो श्वास तानी, रात त अझै बाँकी छ। सुधीरले अंगालोमा हाल्न खोजेको वा चुम्बन नै गर्न खोजेको हो। उसले त्यति यकिन नै गर्न सकिन।

जन्मदिनको केक काटेपछि अवश्य केही भयो। कतै सुषुप्त अवस्थाको जिन्दगीको तार झंकृत भयो वा सुधीरको जिन्दगीको धुनमा श्वेता लटिन पुगी। उसलाई लागिरह्यो किन सुधीर उसको मनबाट हट्न सकेन अथवा आफै पनि किन मनबाट हटाउन सकिन।

उसलाई भोलि बिहान नौ बजे नै अफिस पुग्नु छ। ऊ अफिस नगएको पनि तीन दिन भइसकेको थियो। आफ्नै कामहरु धेरै थिए। स्टाफहरुसँग फोन र कुराकानी केही भएको थिएन। सुधीरसँग पनि कुराकानी भएको थिएन। तर साँझतिर मेसेज छोडेको थियो- ‘छोटो बिदा कस्तो रह्यो? सी यु टुमरो।’

उसले उत्तरमा मात्र लेखी- ‘सी यु।’

रात ज्यादै छिप्पिसकेकोले ऊ सुत्ने प्रयास गरिरही। गर्मी महसुस गरेर लगाएको टिसर्ट पनि निकालिदिई। ब्रा र पातलो र छोटो कट्टु मात्र लगाएर फेरि सुत्ने प्रयास गरी।

” फेरी सुधीर आइपुग्यो।

मैले भनेँ ‘किन यति ढिला आएको?’

उसले भन्यो- ‘नीलम र छोरी माइत गएका छन्। घरमा पनि एक्लै भएँ। बरु तिमीसँग गफ गरुँ लाग्यो,’ उसले थप्यो, ‘तिमी पनि फुर्सदमै छौ। सँगै खाना खाउँ। एकछिन कुराकानी गरेर फर्किउँला।’

अझ थप्यो, ‘वास्तवमा तिम्रो प्रेमले मलाई यहाँसम्म बोलाएको हो।’

मैले भनेँ- ‘नीलमलाई प्रेम गर्दैनौ?’

उसले स्पष्ट पार्दै भन्यो- ‘निलमलाई प्रेम गर्दिनँ र माया पनि लाग्दैन त कहिल्यै पनि भनेको छैन।’

‘दोहोरो व्यवहार गर्न रुचाउने जीवनसाथीसँग खेलबाड गर्ने तिमी स्वार्थी पुरुष त हौ।’

अझ थपेँ- ‘न हामी प्रेममा कसिलो गरी बाँधिन सक्छौँ न त घरजम गरेर बस्न सक्छौं। अनि हामीले किन सिरियस भएर धेरै कुराहरु सोचिरहनु पर्यो?’

सुधिरले भन्यो- ‘वास्तवमा श्वेता, म तिमीले नै बोलाएर आएको हुँ। तिम्रो प्रेम प्रस्तावलाई अस्वीकार गर्न नसकेर आएको हुँ।’

म अक्क न बक्क भएँ। मलाई कुनै कुराहरु सम्झना छैन। मलाई आफैप्रति शंका लाग्यो- के मैले सुधिरलाई प्रेम प्रस्ताव राखेँ त?

सुधीर भन्छ- ‘तिमीले पठाएका मेसेजहरुका लिस्ट छन्। थाहा छ, तिमीले चिठी लेखेर पनि मलाई पठाएकी छौ।’

अनि भन्यो घरको नमिल्दो वातावरणमा पनि त्यो चिठी मैले सम्हालेर राखेको छु। त्यसैकारण हामी झन्डै विछोडको अवस्थामा पुग्यौं।

मैले भनेँ- ‘मैले त्यति ठूलो साहस जुटाएँ होला। म त मन भित्रका गुलाफका फूलहरुलाई निमोठेर रमाउँदै हिँड्ने मान्छे हो।’

अनि थपेँ- ‘हो, म नीलमको सफलताको डाहा गर्छु। परिवार पाएकी छे, सन्तान छ, प्रेम गर्ने श्रीमान् छ तर नीलमसँग कलेजदेखि नै त्यति नजिक छैन।’

फेरि भनेँ- ‘औपचारिक थियौं र अहिले पनि छौं। तर एउटा नारी भएर उसकै जिन्दगीमा धावा बोल्नु मेरो चाहना होइन सुधीर। पुरुषवादी समाजमा महिलाहरुको अधिकारका लागि बाँचीरहँदा, म एउटा नारीले अन्याय गर्न मिल्ला?’

मैले उसलाई भनेँ- ‘सायद मबाट भूल त भयो होला तर, यो सचेततापूर्वक गरिएको भूल हो।’

ममा एकाएक आँट आयो। शास्त्रहरूमा देवीले राक्षसहरुलाई वध गर्दा देखिने साहस आफूमा आइरहेको चाल पाएँ।

र म एकाएक बोल्न थाले- ‘हो सुधीर, म तिमीलाई प्रेम गर्छु। त्यो प्रेम शारीरिक सीमितताबाट माथि नै उठेको हुनुपर्छ। सुधीरले मलाई ग्वाम्ल्वाङ अङ्गालो मार्यो। म उसको स्पर्शले आत्हादित भएँ। पानीमा चिनी घुले जस्तै बिलाएँ र गुलियो भएँ।

उसले थन्यो- ‘तिमीले मलाई पहिल्यैदेखि माया गर्थ्यौ। मलाई कति उपहार किन किनिदिएकी छौ? अफिसमा आँखामा आँखा जुधाएर प्रेम वार्ता गरेका छौँ। कति उपहार मैले घरमा सजाएर राखेको छु। ”

श्वेता झल्यास्स जागी। टाउको भारी भएको र श्वास एकाएक बढेको महसुस गरी। झ्यालको खापाबाट देखियो मिरमिरे बिहान हुन थालिसकेछ। आज ऊ सुत्न नै पाइन। निद पुगे पनि नपुगे पनि अफिस त अवश्य पुग्नु छ। रातभरिका सपना सम्झन त्यति नसकेपनि सम्झे जति सम्झेर मुसुमुसु हाँसी।

बर्थडे केक काटेको दिनपछि सुधीरसँग भेट पनि भएको थिएन। वास्तवमा त्यो दिनदेखि सुधीरसँग रिसाएकी थिई र कहिले पनि बोल्न चाहँदिन थिई। सपनाका कुराहरू पनि विस्मृतिमा जान थालिसकेको थिए। तर निन्द्रा त पुगेकै थिएन।

आज साप्ताहिक प्रकाशित गर्ने दिन थियो। दिनभरिमा सबै कुरा टुंग्याउनु थियो। आज त अफिसमा सुधीरसँग अवश्य भेट हुनेछ। सुधीरको प्रस्तावपछि के कसरी कुरा गर्ने होला त श्वेतालाई लागिरहेको थियो। त्योभन्दा पनि सपना बारे कुरा गरौं वा नगरौं भन्ने द्विविधा मनमा चलिरह्यो।

यस्तै सोच्दै श्वेता खाजा बनाएर खाने तर्खर गर्न थाली। किनकि जेसुकै भएपनि आज अफिस जानु नै छ।

 

सेतोपाटीमा प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८, १४:०१:०
यो कथा लेखकको अनुमतिमा सेतोपाटीबाट साभार गरिएको हो।

प्रतिक्रिया