बलिउड फिल्म बनाउँदै नेपालकी पुनम

इनेप्लिज २०७८ असोज १ गते १०:०१ मा प्रकाशित


संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो।बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ।केही कलाकारले बलिउडमा आफ्नो राम्रो छाप पनि छाडेका छन्।तर,त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै मात्र छन्। किनकि,बलिउड फिल्म बनाउन सानो तिनोले लगानी हुँदैन।

तर,एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएकी छन्।देश सँगै विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउन लागेकी हुन्।नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन्।अहिले भारतमै स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन्।

आफूले बनाउन लागेको पहिलो बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको भनाई छ।नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो उद्देश्य रहेको उनी बताउँछिन्।पुनम बलिउडसँगै नेपाली फिल्म निर्माणको तयारीमा समेत रहेकी छन्।उनको पहिलो नेपाली फिल्मलाई ‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्नेछन्।

पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ।दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन्।गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ।

यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको छ।गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानी सँग बाँधिएको छ।रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ।

‘इबादत’ गीतलाई दर्शकले रुचाएपछि पुनमले अर्को पनि हिन्दी गीत निर्माण गरेकी छन्,जुन दशैंको छेकोमा भारतको ‘टि सिरिज’ कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ।मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी पुनम नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन।उनि एक सफल ‘विजनेश वुमन’ पनि हुन्।

प्रतिक्रिया