महिनावारी हुनु पाप होईन र नारीहरू पापी हुदै हैनन् !

शशी के.सी २०७८ भदौ ३० गते २२:२० मा प्रकाशित

कति लेख्नु यस बिषयमा ! महिनावारी हुनु भनेको प्राकृतिक प्रक्रिया हो। जब एक बच्ची किशोरी अवस्थामा पुग्छिन, उनमा अरू शारीरिक परिवर्तन आएसॅंगै, उनको महिनावारी पनि शुरू हुन्छ। साधारणतया महिनावारी १२-१५बर्षको उमेरमा शुरू भएर ४५-५५ बर्षमा बन्द हुन्छ। महिला भएर जन्मे पछि महिनावारी हुन्छ नै।

प्रत्येक बर्ष त्यही कुरा, “महिनावारी हुंदा जान / अन्जानमा यताउता छोईएको रहेछ भने पनि ऋषि पंचमीमा पूजा गरेर पाप पखाल्न सकिन्छ।” खै कस कसको कति पाप पखालियो, कसरी थाहा पाउनु ? जेहोस् परम्परा देखि मानिदैं आएको भनेर नेपाली हिन्दु नारीहरू पंचमीको ब्रत, पूजा गरि रहेछन्।

उनीहरूको पनि केही दोष छैन। सानैदेखि “बाल मस्तिष्कमा” महिनावारी हुंदा यता नछोउ, यसो नगर, भान्छामा नआउ, छोएमा पाप लाग्छ भनेर घर, समाजले बार्न लगाएर “डर” पसाई दिई सकेपछि त्यो मानसिकताबाट निक्लन निक्कै आंटचाहिन्छ।

फेरी नारी ! संसारका जुन कुनामा रहेका र जुनसुकै धर्म मान्ने भएपनि जिन्दगीभर आफ्नो लागिभन्दा पनि परिवारको लागि बांचेका हुन्छन्। झन् संतानको आमा भई सकेका छन् भनेत तिनीहरू आफ्नो कारणले परिवार र संतानलाई दुख नहोससोच्छन्।

पढेलेखेका छन् । थाहा छ महिनावारी पाप हैन भन्ने तर समाजमा बस्नु छ। समाजमा सबैले गरिरहेको पूजा आफुले नगर्दासमाज, ईष्टमित्रले के भन्लान भन्ने डरले पनि कत्तिले चाहीं पूजा गरिरहेछन्।

अब बाध्य भएर, डरले वा करैले हिन्दु नारीहरूले पूजा गरित रहेकै थिए। हुंदाहुंदा नेपालका नाम चलेका बैंकहरूले ऋषिपंचमीको शुभकामना भन्दै “पाप पखाल्ने पर्वको रूपमा मनाईन्छ” नै लेखेछन्।

नबिल बैंकले लेखेको : 

ऋषि पंचमी : पौराणिक कथन अनुसार नारीले रजस्वला हुंदा जानेर वा नजानीकनै गरेका जति पनि पापहरू छन त्यसबाट मुक्ति पाउनका लागि ऋषि पंचमी ब्रत बस्ने गरेको बिश्वास छ।

एभरेष्ट बैंकले लेखेको : 

पारिवारिक सुख, शान्ति र पापकर्म निवारणको लागि ब्रत बस्ने हिन्दु नारीहरूलाई ऋषि पंचमीको मंगलमय शुभकामना

एन आई सी एसिया बैंकले लेखेको : 

ऋषि पंचमी अर्थात महिलाहरूले सप्त ऋषिहरूको पूजा अर्चना गर्ने बिशेष दिन आजको दिन रजस्वला हुन शुरू भईसकेका महिलाहरूले रजस्वला हुंदा आफुबाट केही गल्ति वा अमर्यादित क्रियाकलापभएको भए ती कुराहरूको शुद्धिको लागि पूजा अर्चना गर्दछन्।

पढ्दै दिक्क लाग्ने। यो त अति भयो । नारी माथि कति ठुलो अपमान! ऐ बाबा, बैंकहरूले बताई रहनु पर्छ र ? कसलाई थाहा छैन के हो “ऋषि पंचमी” र किन बर्षौं देखि नेपाली हिन्दु नारीहरूले मनाईरहेका छन् यो पर्व भन्ने।

हो नारीहरूको त्यत्रो ख्याल लाग्छ बैंकहरूलाई भने कमसेकम आफुहरूले के संदेश लेखें त पढ्नु पर्छ।

धन्न केही दिन अगाडी सर्वत्र बिरोध भएपछि केही बैंकले क्षमा मागेको संन्देश राखेर आफ्नो फेसबुक पेजबाट “ऋषिपंचमीको शुभकामना संन्देश” लेखेको बिज्ञापन चाहीं हटाएछ। अब बैंकहरूलाई पनि क्षमा मागेर प्रायश्चित गरिहाल्यौभनेर तेसै छोडिदिने त होला।

कुरा महिला सशक्तिकरण, लैंगिक समानता बिपरित हुन गयो भन्ने आदी ईत्यादी हैन । यो त बैंकहरूले तेसरी लेख्न सक्ने सोच र अझै समाजको नारीप्रति हेरिने दृष्टिकोण कस्तो रहेछ भनेर देखाई दिएको ज्वलन्त उदाहरण हो।

बैंक मात्र हैन। केही महिना अगाडी नेपाल सरकारले महिनावारी हुंदा लगाउने स्यानिटरी प्याडमा बिलासिताको बस्तुमा लाग्ने जस्तै महंगो कर लगायो। किन लगाईयो भन्दा बिदेशबाट आउंछ रे। अब स्वदेशमा प्रयाप्त उत्पादन गर्न नसक्ने, उल्टैमाग पुरा गर्न बिदेशबाट ल्याउॅंदा बढी कर तिर्नु पर्ने। खै यस्तो निर्णय गर्नेहरूको घरमा महिलाहरू नै छैनन् वा तिनीहरूकोहीपनि महिनावारी नै हुंदैनन् ?

खासमा नेपालमा अहिलेको समस्या भनेको “सुतेकोलाई उठाउन सकिन्छ तर सुते जस्तो नाटक गर्नेलाई के गर्नु !” भन्ने हो।

नेपालमा बर्षौंदेखि एक समुह महिनावारी हुंदा गरिने बिभेद अन्त्य गर्न लागि परेका छन् । नेपालका सुदुरपश्चिमका गाउॅं गाउॅंपुगेर महिनावारी हुंदा बस्नु पर्छ भनेर बनाईएका छाउघरहरू भत्काउन लागिपरेकाछन्। स्कुल, कलेजहरूमा बिभिन्नकार्यक्रम गरे महिनावारीको बारेमा बुझाईरहेछन्। महिनावारी वा छाउ हुनु पाप होईन भनि सम्झाउॅंदैछन्। अनि यता शहरकानाम चलेका बैंकहरू यस्ता शुभकामना दिन्छन्। अब त शिक्षा गाउॅंकाहरूलाई होईन की पढे लेखेका शहरियाहरूलाई पोदिन पर्ने भयो।

त्यस्तै नेपालमा धर्म र संस्कृतिको कुरा गर्नेहरूको अर्को समुह छ।ओहो उंहाहरूको कुरा सुन्दा लाग्छ कुन संसारमा हुनुहुन्छ।एकोहोरो उही पौराणिक कथामा यस्तो लेखेको छ। हाम्रो हिन्दु संस्कार अनुसार नारीहरूले पुरूषले भनेको मान्नै पर्छ।नारीलाई स्वतन्त्रता दिन हुन्न, एकल महिला र ज्येष्ठ नागरिक भन्ने शब्द नै गलत छसम्म भन्नु हुन्छ। उॅंहाहरूलाई बुझाउन तझनै गार्र्हो छ।

तर समय एकनास छैन र हुनुपनि हुंदैन। समयसंगसंगै अहिलेका नॅंया पुस्ता हुर्कदैंछन्। उनीहरूलाई जे कुरा पनि बुझाउॅंदा तथ्य र प्रमाण दिएर बुझाउनु पर्छ।

एक पौराणिक कथा अनुसार “ एक ब्राम्हण कन्या महिनावारी भएर सुतिरहेको ठाउॅंमा किरा परेको उनको आमाले देखिछन्र पण्डित बुबालाई के भएको सोध्दा, बुबाले अघिल्लो जन्ममा महिनावारी हुंदा उसले यता उता छोएकोले पाप लागेर किरापरेको हो । तर यो जन्ममा पंचमीको पूजा गरे पाप नाश हुन्छ भनेछन् रे।” अब यो कथा अहिलेका नानीहरूलाई भन्नु होभने, के हावा कुरा गरेको, महिनावारी भएको बेला किन स्यानिटरी प्याड वा कपडा नलगाएको वा सफा नबसेकोभनिहाल्छन्। किरा त फोहोर भएर परेको हो भन्ने उत्तर आउॅंछ।

त्यस्तै गुगलमा खोज्दा अर्को कथा भेटें । जसमा ईन्द्र भगवानलाई ब्राह्मण हत्याको पाप लागेछ। उनको पाप चारतिरबांडिदा नारीको महिनावारीको रज (रगत) मा पनि बांडिएछ। तेसैले महिनावारी हुनु पाप रे। ओहो तेसो हो भनेत पाप तभगवान ईन्द्रले गर्नु भएको रहेछ । अनि उॅंहाको पापलाई नारीले पंचमीको पूजा गरेर पखालिदिनु पर्ने?
यसरी खोज्दै जांदा अनेक किंवदन्ती भेटिन्छन्। तर समय अनुसार के ठिक/ के बेठिक सोचेर कतिसम्म गर्न सकिन्छ, त्यति नियम पालना गर्नु पर्छ।

खै कहिले अन्त्य हुन्छ यो बिषयको बहस । तर म हामी भन्दा पछिका पुस्ताले पनि महिनावारी हुंदा हामीले सानो उमेर देखि भोग्नु परेको त्यो “मानसिक पिडा” नभोग्नु परोस भनेर बारम्बार यस बिषयमा लेखिरहन्छु। जसले भोगेको छ उसले बुझ्छपीडा! महिनावारी भएकोबेला यताउता नछुनु, पाप लाग्छ, पाप पखाल्न पंचमीको पुजा गर्नु पर्छ आदी ईत्यादी कुरा “बालमस्तिष्कमा” यस्तोसॅंग घर समाजले घुसाईदियो की, कतै केही बिग्रिहाले लौ मैले बिराएर पो भएको हो की जस्तो लाग्छ।म जस्तै अरूले पनि पक्कै त्यस्तै सोच्लान्।

अन्त्यमा सबैलाई अनुरोध ! घरमा हुर्कॅंदै गरेका नानीहरूको दिमागमा जसरी हुन्छ यी कुरा नथोपारिदिनु, उनीहरूले पनि जिन्दगी भर हामीले जस्तो “मानसिक तनावमा” बांच्नु नपरोस्। महिनावारी हुनु कुनै पाप होईन र नारी पापी हुंदै हैनन्।

श्रोत: गुगल सर्च

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया