मेरा बा ! लघुकथा

मित्र उराठी गौतम,बुटवल २०७८ भदौ २६ गते २१:५४ मा प्रकाशित

जीवनको उत्तरार्ध पुग्नुभएका मेरा बा ! उपचारको लागि शहर आउनु भएको थियो।राम्रो सँग कान नसुने पनि आँखा भने राम्रै देख्नुहुन्थ्यो।समय बिताउन दिनभर टिभी हेरेर बस्नुहुन्थ्यो।आफ्नो किशोरावस्थामा गाउँमा कुस्ती, कबड्डी खेलेकोले टिभीमा पनि कुस्ती हेर्न खुब रुचाउनुहुन्थ्यो।

म साँझ कामबाट फर्केपछि बा सँग रिमोट मागेर समचार हेर्न लागेँ।समाचार हेर्दै गर्दा संसद बैठकको दृष्य देखायो।संसदमा व्यापक होहल्ला र हंगामा भएको रहेछ।

राम्रो सँग कान नसुन्ने बाले समाचार बुझ्ने कुरा भएन तर आँखाले चाहिँ दृष्य ठहर्याउनु भएछ र भन्नु भो – “हैन कहाँका मान्छे हुन् यस्ता ? कबड्डी खेल्दा पनि दौरा, सुरवाल,कोट लगाएका छन् त ? कस्तो ढङ्ग नभएका मान्छे ? त्यस्तो भेषमा के कबड्डी खेल्नु ? हाम्रो पालामा त हामी कुस्ती,कबड्डी खेल्दा बाहिरी लुगा फुकाल्थ्यौं ।छरीतो लुगामा खेल्थ्यौं।कबड्डी, कुस्तीमा विपक्षीलाई पछार्न पाउँदा क्या मजा आउँथ्यो।यिनीहरुलाई त राम्रो सँग खेल्नै नआउँदो रहेछ।”

बाले समाचार नवुझी बोलेको देखेर सँगै बसेको मेरो छोरो खित्का छोडेर हाँस्यो।

नाति हाँसेको देखेर बाले अनौठो मान्दै मेरो मुखमा हेर्नु भो।

“यो त कबड्डी खेलेको हैन बा।तपाई हामीले चुनावमा भोट हालेर जिताएका सांसद तिनै हुन्।संसदमा बैठक गर्दै छन्।देश र जनताको विकासका लागि चिन्तित हाम्रा प्रतिनिधि छलफलमा जुटेका छन्” –बालाई सम्झाउँदै भने मैले।

बाले कत्ति बुझ्नु भो कुन्नि ? ट्वाल्ल परेर हेरी मात्र रहनु भो।

-मित्र उराठी गौतम,बुटवल

प्रतिक्रिया