पहिलो कमाइ पाँच सय बुझेँ – शिव पलाँस

इनेप्लिज २०७८ भदौ २६ गते १५:२८ मा प्रकाशित

धेरै बर्षदेखि शिव पलाँस साहित्य र संगीतको खेतिपातीमा रमाईरहेका छन् । कस्तो चल्दैछ त खेतिपाती भन्ने प्रश्नको जवाफमा उनले हाँस्दै भने ” हेर्नुस् यो खेतिपातीले पेट भरिन्न । मन भरिन्छ । मन अघाएर बाँच्नुको पनि अलग आनन्द हुन्छ ।”

जब कलेज जीवन शुरु भयो तब उनको साहित्यिक लेखन पनि शुरु भयो ।पोखराबाट प्रकाशित हुने जनमत, पोखरापत्र,समाधान ,आदर्श समाज जस्ता पत्रिकामा उनका सयौं लेख,रचना छापिए ।गजल सन्ध्या , मुक्तक मन्च ,अक्षर यात्रा लगायतका बिभिन्न साहित्यिक कार्यक्रममा उनले धेरै बर्ष नियमित हाजिरी जनाए।जसले उनलाई अग्रज , समकालीन र अनुज संग घुलमिल गरायो।

यसका साथसाथै मधुपर्क,नेपाल, हिमाल,युवामन्च ,नवयुवा , नागरिक ,राजधानी जस्ता राष्ट्रिय पत्रपत्रिकामा पनि उनका सृजना छापिएर आउन थाले। कविता लेखेर पाँच सय रुपैयाँ पारिश्रमिक बुझ्दाको क्षण उनि कहिल्यै बिर्सिदैनन्।त्यो पाँच सय मात्रै थिएन ठूलो उर्जा पनि थियो।लेखेर कमाएको पहिलो कमाइ थियो।उनि कान्तिपुर पब्लिकेशनको नेपाल पत्रिकामा संगीतज्ञ अम्बर गुरुङको सेल्फ पोट्रेट नामको कविताको मुन्तिर ‘छिमेकी’ शीर्षकको आफ्नो कविता छापिएको स्मरण गर्छन।उन्नाईस बर्षको काँचो ठिटोलाई त्यति भएपछि के चाहियो र ?

एकदिन पोखरामा सन्तोष रुचालसंग उनको भेट भयो । रुचालले डायरीबाट केही गीत लगे । ति मध्ये उनले एउटा गीतको संगीत गरे अनि गाए । यसरी उनको पहिलो गीत बेहोसीमै छोडी गयौ रेकर्ड भयो।बि बि अनुरागीको संगीतमा शिशिर योगीले गाएको माया गर्नुको अर्थ गीतले उनलाई गीतकारको रुपमा राम्रोसंग स्थापित गराईदियो।दमौलीको राष्ट्रिय साहित्य सम्मेलनमा एउटा गोरो,अग्लो कदको मान्छेले शिव पलाँस भनेको तिमी नै हो ? भनेर च्याप्प पाखुरामा समात्यो र रेकर्डर झिकेर सवालजवाफ गर्यो । पछि रेडियो नेपालको बिम्ब प्रतिबिम्ब कार्यक्रममा आफ्नो आवाज र गीत आफैले सुनेर उनि दङदास भए ।बरिष्ठ सन्चारकर्मी तथा गीतकार रमेश पौडेलसंगको त्यो स्वादिलो भेटघाट उनको स्मृतिमा अहिले पनि ताजा छ।अझै रोचक त के छ भने उनले यो गीत गोठालो जाँदा लेखेका थिए।एक घन्टा जतिमा।त्यतिबेला उनि स्नातक पढ्दै थिए।क्याम्पसको हिउँदे बिदामा गाउँ जादा यो गीत जन्मेको थियो ।

त्यस पछि सुमन के सी , इन्दिरा जोशी , प्रमोद खरेल , मनोजराज , स्वरुपराज आचार्य , कर्णदास , हुँदै वरिष्ठ गायक दीप श्रेष्ठ सम्मले उनका गीतमा प्राण भरे । कर्णदासको आवाजमा रहेको खुकुरीलाई अचानोमा हान्न पाए पुग्छ र दीप श्रेष्ठको स्वरमा रहेको आगो भन्ने जान्दा जान्दै हात हालेँ पिरतीमा बोलका गीत पनि सुगम संगीतका श्रोताले तारिफ गर्ने गीत हुन् ।उनका शब्दहरुमा अर्जुन पोखरेल , सन्जु थापा , तेजेन्द्र गुरुङ, रमेश कडरिया , तीर्थराज पोखरेल ,ठाकुर दुलाल लगायतले धुन सृजना गरेका छन्।

तपाईंका गीत किन प्रेम बियोगको जाँतोमा मात्र घुम्छन् भनेर सोध्दा उनले भने “यो प्रश्न नै गलत छ । यसको मतलब तपाईंले मेरो रचनामा रामकृष्ण ढकाल ,चन्दादेवी , नरेन्द्र प्यासी , ईश्वर पोखरेल , नवीन काफ्ले ,भुवन प्यासीले गाएका धेरै गीतहरु सुन्न भ्याउनुभएको छैन।यो प्रश्नको उत्तर त्यहाँ भेटिन्छ।म चल्तिका गीत लेख्नै नसक्ने पनि हैन तर रेडियो नेपालमा गोपाल योन्जन,नागेन्द्र थापा ,राजेन्द्र रिजाल , कृष्णहरी बराल , सुरेन्द्र रानाका गीतहरु सुनेर हुर्केको मान्छेमा अलिकति गम्भीरताको रङ्ग आयो पनि होला । मलाई कसैले केही सिकाएको हैन ।साहित्यिक पत्रपत्रिका र रेडियो नै मेरा गुरु हुन्। ”

गीत लेखेर के कमाउनुभयो त भन्ने जिज्ञासालाई उनले यसरी मेटाईदिए । “हेर्नुस् पैसाको कुरा नगरम् । उधारोमा पनि गीत लेखियो । उधारो अझै असुल भएको छैन।असुल पनि हुँदैन।आग्रहमा पनि गीत लेखियो । म मित्रतामा पाँच , सात हजारको हिसाब गर्दिन । कम्तीमा स्रष्टालाई न्युनतम इज्जत दिए तृप्त हुन्छु । आजकल थोरै कलाकारमा मात्रै संस्कार छ । अर्जुन पोखरेलले काठमाडौंबाट खाममा केही हात्ती हालेर सन्जु थापा मार्फत मलाई पोखरामा पारिश्रमिक पठाएका थिए । त्यस्तो आर्थिक अनुशासन कमै कलाकारमा छ । तपाइँले मलाई खोज्नुभो यही हो मेरो कमाइ ।गुल्मीको एउटा ठीटोले भन्छ माया गर्नुको अर्थ सर्लक्क सारेर प्रेमीकालाई चिठी पठाएँ । यही हो मेरो कमाइ । हङकङकी ठिटीले भन्छे रेलमा यात्रा गर्दैछु बि एफ बि एस रेडियोमा तपाईको बेहोसी गीत सुन्दैछु । यही हो मेरो कमाइ।आफूभन्दा सिनियर श्रष्टाले सोध्छन् भाइ मेरो गीत कस्तो भयो हेर्दिनुस् त।यही हो मेरो कमाइ । आफू भन्दा राम्रो गीतकारले भन्छ क्या गीत लेखिस् यार।यही हो मेरो कमाइ।यो खुसी मैले अमेरिकाको डलरले पनि किन्न सक्दिन।”

गर्छु भन्ने हुटहुटी छ भने एकसाथ धेरै काम गर्न भ्याईन्छ भन्ने उनलाई लाग्छ । दश बर्ष शिक्षण गरे । पाँच साल त उनले माध्यमिक तहको स्कुलको प्रिन्सिपल नै चलाए । त्यति नै बेला अंग्रेजी साहित्यमा स्नातकोत्तर पास गरे । दुई बर्ष पोखराको माछापुछ्रे एफ एम मा कार्यक्रम चलाए । ‘अभिव्यक्ति’ नामको त्यो कार्यक्रम अहिले छ साल पछि पनि निरन्तर चलिरहेको छ । प्रवास उड्नुपूर्व उनले त्यो कार्यक्रम कवि लक्ष्मी थापालाई जिम्मा लगाएका हुन् ।पत्रकार फडिन्द्र अकिन्चन संग मिलेर सुनाखरी सन्देश नामको पत्रिका सम्पादन पनि गरे।

उनी भन्छन् नयाँ जमानाका साहित्यकार , संगीतकर्मी र कलाकर्मीमा एउटा बिचित्रको हतारो छ । आज साँझ काम गर्यो भोलि बिहान उठ्दा भाइरल हुनुपर्ने । कति मान्छेसंग साधना , धैर्यता , गम्भीरता छ ल भन्नुस् ? त्यसैको परिणति होला पाँच मिलियन भ्यु गएको गीत पाँच महिना नपुग्दै पातालमा पुग्छ । अब भन्नुस् हामीले श्रोतामा के छाप छोड्न सक्यौं त ? समयलाई लगाम लगाउन त म सक्दिन तर सुगम संगीतको नदी एक दिन फेरि सङ्लिएर बग्ने बिश्वास लिन सक्छु । सन्चार माध्यमले पनि आफ्नो भाषा , संस्कृति , संस्कार र स्वाभिमानमाथि प्रहार गर्ने गीतहरुलाई मलजल गर्नु भएन नि ।

स्याङ्जा , हरिनास १ का शिब अधिकारी जो आफूलाई पलाँस भन्न रुचाउछन् उनको प्रिय बिधा भने गीत नै हो। हाल सपरिवार अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका उनलाई तपाईंको अबको योजना के छ त भन्दा उनले यस्तो भने ” हेर्नुस् मेरो कुनै ड्रिम प्रोजेक्ट छैन । मेरो आफ्नै बाटो छ । आफ्नै गति छ । कसैसंग लिनुदिनु छैन।हिसाबकिताब क्लियर छ।मलाई माया गर्ने श्रोता ,पाठक सन्चारकर्मी र अन्य सबै मित्रजनका प्रति भने म संधै

अनुगृहीत छु । हुनेछु । मिना सिंङ,राधिका भण्डारी , राज सिग्देल लगायतले स्वर भरिसकेका केही गीत पेन्डिङमा छन् तिनलाई बाहिर ल्याउनु छ ।साथै एउटा गीतसंग्रह प्रकाशनको काम पनि अन्तिम चरणमा पुगेको छ । चाँडै पढ्न पाउनुहुनेछ।

 

( लक्ष्मण पोखरेल संगको कुराकानीमा आधारित )

 

 

प्रतिक्रिया